बालुवा चोरीमा संलग्न ट्याक्टर र ट्रिपर पक्राउ

0
Shares

नेपाल समाचारपत्र, पर्वत
कालीगण्डकी नदीमा एक्साभेटर प्रयोग गरेर बालुवा चोरी निकासी गरेको भन्दै प्रहरीले ६ वटा ट्याक्टर र एक वटा ट्रिपर नियन्त्रणमा लिएको छ ।

कालीगण्डकीबाट बालुवा चोरीका लागि नदीमा उत्खनन् गर्दै गरेको अवस्थामा कुस्मा नगरपालिका–१ राजाको बगरमा ट्याक्टर र ट्रिपर नियन्त्रणमा लिएको हो ।

कालिगण्डकी नदीको किनारवाट बिल भरपाई नभई अवैध रुपमा लुकिछिपी नदीजन्य पदार्थ बालुवा उत्खनन् गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारेर नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिएका सवारी साधनमा ध १ त ३०४, ध १ त ५१०९ , ग १ त , ध १ त ३६३, ध १ त ३६६ र ग १ त ४८६४ न का ६ वटा ट्याक्टर तथा ग १ ख ३५८४ नम्बरको ट्रिपर नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएका ट्याक्टर र ट्रिपरलाई आवश्यक कारबाहीको लागि कुश्मा नगरपालिकामा पठाइएको प्रहरीले जनाएको छ ।

कालीगण्डकी नदीको पर्वतको कुस्मादेखि म्याग्दीको सदरमुकाम बेनी बजारसम्म विभिन्न स्थानमा जथाभावी रुपमा एक्साभेटर जस्ता ठँला उपकरण प्रयोग गरेर बालुवा चोरी भैरहेको छ । नदीमा एक्साभेटर प्रयोग गर्न कानुनी रुपमा बन्देज भए पनि कुस्मा नगरपालिका र जलजला गाउँपालिकाको क्षेत्रमा दिनहुँ दर्जनौ एक्साभेटर प्रयोग गरी विभिन्न ठाउँबाट बालुवा निकाल्ने काम भइरहेको छ ।

जथाभावी रुपमा बालुवा निकाल्दा नजिकका बस्ती समेत जोखिममा परेको भन्दै स्थानीयबासीले जनप्रतिनिधि र स्थानीय प्रशासनसंँग यसलाई रोक्न माग गरेका छन् । तर, जनप्रतिनिधि नै जथाभावी बालुवा निकाल्ने काममा संलग्न भएका कारण कतै सुनुवाई नभएको जलजला गाउँपालिका ८ का सोमबहादुर जिसीले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) आफूै क्रसर व्यवसायी हुन भने उनले अन्य क्रसर व्यवसायी र निर्माण व्यवसायीलाई एक्साभेटर प्रयोग गर्न लिखित अनुमति दिएका छन् ।

उच्च अदालत पोखराको बागलुङ इजलासले केही दिनअघि बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङस्थित प्रशासन कार्यालय र स्थानीय तहलाई कानुन विपरीत हेभी इक्वीपमेन्ट प्रयोग गरेर नदीजन्य वस्तुको दोहन गर्ने कार्य रोक्न आदेश गरेको थियो । तर, जलजला गाउँपालिकाको बगरफाँट, लामाखेत, मिलनचोक, लस्ती, नाग्लीवाङस्थित कालीगण्डकी नदी किनारमा केही जनप्रतिनिधि, कर्मचारी, प्रहरी र प्रशासनको मिलेमतोमा नदीजन्य बस्तुको अवैध दोहन तथा चोरी निकासी भइरहेको स्थानीयबासीले गुनासो गरेका छन् ।

जलजला गाउँपालिकाको कार्यबाहक अध्यक्ष समेत रहनुभएका वडा न. ४ का अध्यक्ष भीष्म मल्लले एक्साभेटर प्रयोग गरेर नदीबाट बालुवा निकाल्ने विषयमा गाउँपालिकाले निर्णय नगरेको, अनुमति नदिएको र अवैध कार्य रोक्न प्रहरीले असहयोग गरेको प्रतिक्रिया दिनुभयो ।