शेयर ब्रोकरको पनि वर्गीकरण हुने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बोर्डले सोमबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा एक नेपाली एक डिम्याट खाता, बजार नियमनलाई प्रभावकारी बनाउन धितोपत्रसम्बन्धी नयाँ ऐनको व्यवस्था, गैरआवासीय नेपालीको पुँजी बजारमा लगानी भित्र्याउन वैकल्पिक लगानी कोष नियमावलीको तर्जुमा, धितोपत्र व्यवसायीको वर्गीकरण, सबै प्रदेशमा बोर्डको प्रादेशिक कार्यालय स्थापना गर्नेलगायत महत्वपूर्ण विषय समेटिएका छन् ।

बोर्डले एक नेपाली एक डिम्याट खाताको अवधारणा लागू गर्न उक्त विषयलाई राष्ट्रिय अभियानको रुपमा संचालन गरी देशैभर धितोपत्र बजारमा व्यापक जनसहभागिता बढाउने योजना समेटेको छ । धितोपत्र बजारको नियमन व्यवस्थालाई थप प्रभावकारी बनाउन धितोपत्र सम्बन्धी नयाँ ऐन तथा ट्रष्ट ऐन बनाउने नीति ल्याएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कम्पनीको भित्री सूचनाका आधारमा हुने कारोबारलाई निरुत्साहित गरी धितोपत्रको दोस्रो बजार कारोबारलाई विश्वसनीय बनाउन भित्री कारोबार बन्देज नियमावली बनाउने कुरासमेत उल्लेख गरिएको छ ।

त्यसैगरी, सूचीकृत कम्पनी तथा धितोपत्र व्यवसायी एक आपसमा गाभ्ने–गाभिनेसम्बन्धी नियमावली बनाउने विषय पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

पुँजी बजारमा वैदेशीक लगानी तथा गैरआवासीय नेपालीको लगानी भित्र्याउनका लागि पनि बोर्डले पहल गर्ने भएको छ । वैकल्पिक लगानी कोष नियमावली बनाई स्वदेशी तथा गैरआवासीय नेपालीलगायत वैदेशिक पुँजीसमेत परिचालन हुनसक्ने नयाँ व्यवस्था गर्न लागिएको बोर्डले जनाएको छ ।

संघीय संरचनाअनुसार धितोपत्र बजारलाई पनि देशव्यापी बनाउन सबै प्रदेशमा बोर्डको प्रादेशिक कार्यालय स्थापना गर्दै जाने नीति लिइएको छ । बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले धितोपत्रको दोस्रो बजार कारोबार सुविधा देशव्यापीरुपमा विस्तार गर्न धितोपत्र बजारमा अन्तर्राष्ट्रिय स्तरको कारोबार प्रणाली भित्र्याउने, ऋणपत्र बजारलाई प्रभावकारी रुपमा विकास गर्न तथा धितोपत्र बजारलाई प्रतिस्पर्धी एवं गुणात्मकरुपमा अगाडि बढाउन कर्पोरेट मोडलमा नयाँ स्टक एक्स्चेन्जलाई अनुमतिपत्र प्रदान गर्ने प्रक्रिया आगामी आर्थिक वर्षभित्रै अगाडि बढाउने बताउनुभयो ।

पुँजी बजारमा लगानी बढाउन आवश्यक पर्ने नीति तथा कार्यक्रम र संरचना बनाउने योजना पनि तय गरिएको कार्कीले जानकारी दिनुभयो ।

‘पुँजी बजारको दायरा बढाउन सबै प्रदेशमा बोर्डका कार्यालय खोल्ने तथा लगानीकर्ताको सहभागिता बढाउन आधुनिक प्रविधिको अधिकतम उपयोग, नयाँ लगानीकर्ताहरुलाई उपलब्धि हुने गरी महिनामा २ पटक उपत्यकामा धितोपत्र बजारसम्बन्धी निरन्तर प्रशिक्षण तथा जनचेतना अभिबृद्धि कार्यक्रम सञ्चालन गरिनेछ ।’

अध्यक्ष कार्कीले भन्नुभयो । उपत्यका बाहिरका लागि भने धितोपत्र कारोबार सेवाको अवस्थाअनुसार कुनै एक प्रदेशमा प्रादेशिक पुँजी बजार प्रर्दशनी आयोजना गरिने उहाँको भनाइ छ । त्यसैगरी विश्वविद्यालय तथा उच्च माध्यमिक तहका पाठ्यक्रममा धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी विषयवस्तुहरु समावेश गरी प्राज्ञिक क्षेत्रलाई पनि विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रम अनुसार धितोपत्र व्यवसायीहरुको वर्गीकरण गरिने भएको छ । धितोपत्र व्यवसायीहरुको स्तर अभिवृद्धि गर्नका लागि पुँजीगत आधार, व्यावसायिकता, ऐन नियमको परिपालना तथा प्रतिस्पर्धी सेवा लगायत विभिन्न सूचकलाई आधार मानि ब्रोकर कम्पनी, मर्चेन्ट बैंकरलगायतका व्यवसायीहरुको वर्गीकरण गरिने कुरा नीति तथा कार्यक्रममा उल्लेख छ ।

पुँजी बजारलाई थप व्यावसायिक बनाउन नेपाल राष्ट्र बैंक, राष्ट्रिय बीमा समिति, अर्थ मन्त्रालय, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था तथा पुँजी बजार विज्ञको सहभागितामा पुँजी बजार सुधार तथा विकास सल्लाहकार समिति गठन गर्नेसमेत बोर्डको योजना रहेको छ ।