मजदूरको तलब वृद्धिप्रति असहमति

0
Shares

विराटनगर, (नेस)
मजदूरको तलब वृद्धिको निर्णय अवैज्ञानिक र आधारहीन रहेको सुनसरी मोरङका उद्योगीले दाबी गरेका छन् । काठमाडौंलाई केन्द्रित गरी गर्न लागिएको पारिश्रमिक वृद्धिको निर्णयले तराई क्षेत्रका उद्योगहरु धराशयी हुने उनीहरुको दाबी छ ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिले मजदूरको तलब १३ हजार ४ सय ५० कायम गर्न सरकारलाई सिफारिस गरेपछि सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगी व्यवसायी सम्बद्ध संस्थाले विरोध जनाएका छन् । उद्योग संगठन मोरङको अगुवाईमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्ने उद्योग संगठन र मोरङ व्यापार संघका पदाधिकारीले अवैज्ञानिक र हचुवाको भरमा पारिश्रमिक निर्धारण गरिएको दाबी गरेका छन् ।

यसअघि ९ हजार ७ सय रहेको पारिश्रमिक एकैपटक १३ हजार ४ सय पु¥याउँदा उद्योग सञ्चालक मारमा पर्ने र उद्योग सञ्चालन गर्न नसक्ने अवस्थाको सिर्जना हुने उद्योगीहरुको दाबी छ । उनीहरुले निर्णय लिने क्रममा सबैभन्दा बढी उद्योग र श्रमिकहरु रहेको सुनसरी–मोरङ र वीरगन्ज पर्सा औद्योगिक करिडोरमा भएका व्यापारिक र औद्योगिक प्रतिनिधिलाई पाखा लगाइएको गुनासो समेत गरेका छन् ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले महँगी वृद्धिको सम्बन्धमा राष्ट्र बैंकले जारी गर्ने तथ्यांकमा समेत दुई वर्षयता साढे ८ प्रतिशत मात्र महँगी वृद्धि भएको अवस्थामा एकैचोटी अप्रत्याशित पारिश्रमिक वृद्धिले उद्योगहरु धराशयी हुने दाबी गर्नुभयो ।

उहाँले १३ हजार ४ सय ५० रुपियाँ पारिश्रमिक वृद्धि गरिए त्यो बिगतको भन्दा ३८ दशमलव ६६ प्रतिशत हुने र त्यसमा सामाजिक सुरक्षा, बोनस, दशैं बिदा र अन्य सुविधासमेत जोडे ६० प्रतिशत बढी पारिश्रमिक वृद्धि हुने बताउनुभयो ।

मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले पारिश्रमिक वृद्धिको निर्णयले महासंघका वर्तमान पदाधिकारी उद्योगीका समस्याका विषयमा जानकार नरहेको पुष्टि भएको दाबी गर्नुभयो । उद्योग संगठनका पूर्वअध्यक्षद्वय शिवशंकर अग्रवाल र मुकेशकुमार उपाध्यायले निर्धारण गर्न लागिएको न्यूनतम पारिश्रमिकमा आफूहरुले असहमति रहेको बताएका छन् ।