हुण्डी कारोबारी एक करोड सहित पक्राउ



कृष्णउदास खनाल, वीरगन्ज ।

पर्सा प्रहरीले एक करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको रकमसहित एकजना ब्यवसायीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

प्रहरीले वीरगन्ज–१२, रानीघाटबाट राहुल केशरीलाई सार्वजनिक गरेको हो । विशेष सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक रेवती ढकालले बताए । उनी लामो सयमदेखि हुन्डी कारोबारमा संलग्न रहेको सूचनाका आधारमा उनीमाथि निगरानी राखिएको प्रहरीले जनाएको छ। राहुल केशरीलाई वीरगन्ज १२ रानीघाट स्थित उनकै निवासबाट पक्राउ गरेको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए।

उनको साथबाट एक करोड १५ लाख रुपैयाँ भन्दा बढी नेपाली रुपैयाँ र विभिन्न कागजात बरामद भएको उनले जानकारी दिए। उनीबाट बरामद गरिएका कागजातका आधारमा थप अनुसन्धानका लागि राजश्व अनुसंधान बिभाग हरिहर भवन पठाइएको उनले जानकारी दिए ।

यसैबीच जिल्ला प्रहरी कार्यालय, पर्साले मोटरसाइकलको पेट्रोलको ट्याङ्कीमा लुकाएर ल्याउँदै गरेको अवस्थामा अवैध भारू ८ लाख १ हजार दुई सयसहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतिहारी, ग्राम सुगौली ११ का २८ वर्षीय अभिजितकुमार सर्राफ छन् ।

रक्सौलतर्फबाट वीरगन्ज आउँदै गर्दा उनलाई विशेष सूचनाको आधारमा बीआर०५के ६४४४ नम्बरको पल्सर मोटरसाइकलमा हिँड्दै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।उनले मोटरसाइलको तेलको ट्याङ्कीको आधा भागमा पेट्रोल र अर्को भागमा अवैध भारतीय रुपैयाँ लुकाएर ल्याउँदै गरेको अवस्थामा बरामद गरिएको बताइएको छ ।

पक्राउ परेका सर्राफलाई थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, पुल्चोक पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्