मुसिकोटमा मात्र १ हजार ४ सय आर्थिक प्रतिष्ठान



धनवीर दाहाल, रुकुम पश्चिम ।

पहिलो पटक गरिएको आर्थिक गणनाले रुकुम पश्चिमको मुसिकोटमा मात्र एक हजार चार सय १५ वटा आर्थिक प्रतिष्ठान रहेको पाइएको छ । अािर्थक गणनाको क्रममा चार हजार एक वटा आर्थिक प्रतिष्ठानले कारोबार गरिरहेको पाइएको हो । गत बैशाख १ गतेदेखि जेठ अन्तिमसम्म गरिएको आर्थिक गणनाको क्रममा जिल्लाका छ वटै स्थानीय तहमा रहेका आर्थिक प्रतिष्ठानहरुको गणना गरिएको थियो ।

जिल्ला आर्थिक गणना कार्यालयले दिएको जानकारी अनुसार जिल्लाका ६ स्थानीय तहमध्य सबैभन्दा बढी मुसीकोट नगरपालिकामा एक हजार चार सय १५ वटा आर्थिक प्रतिष्ठान रहेका छन् । यस्तै गरी चौरजहारी नगरपालिकामा ६ सय ८३, आठबीसकोट नगरपालिकामा ६ सय चार वटा आर्थिक प्रतिष्ठान रहेको पाइएको जिल्ला आर्थिक गणना कार्यालयका प्रमुख तथा जिल्ला आर्थिक गणना अधिकृत मेघराज पौडेलले बताए ।

उनका अनुसार जिल्लाका तीन गाउँपालिकामध्ये त्रिवेणि गाउँपालिकामा सबैभन्दा बढी चार सय ९७, सानीभेरी गाउ“पालिकामा चार सय १९ र बा“फिकोट गाउ“पालिकामा तीन सय ६० वटा आर्थिक प्रतिष्ठान पाइएको पौडेलले जानकारी दिए ।

जिल्लाका सबै ठाउँमा रहेका सबै पसल, अस्पताल, विद्यालय, तालिम केन्द्र, होटल, दर्ता भएका कृषि व्यवसाय, उद्योग, सहकारी तथा आर्थिक कारोबार हुने सबै प्रतिष्ठानको आर्थिक गणना गरिएको थियो । वस्तु र सेवाको लागि आर्थिक क्रियाकलाप हुने सबै प्रतिष्ठान यस गणनामा समावेश गरिएको छ ।

‘हामीले गणकबाट फाराम संकलन गरेर मोटामोटी आर्थिक प्रतिष्ठानको हिसाव निकालेका छौं,’ जिल्ला आर्थिक गणना अधिकृत पौडेलले भने ‘यसको विस्तृत विवरण भने विभागबाट पछि नै आउछ ।’ उनले चार हजार एक आर्थिक प्रतिष्ठानमा कुन प्रतिष्ठानले कस्तो सेवा वा वस्तु उत्पादन गरेर आर्थिक कारोबार गरिरहेको छ भन्ने कुरो विवरण आउन समय लाग्ने बताए ।

आर्थिक गणनाको लागि १५ जना गणक र २ जना सुपरीवेक्षक खटाइएको थियो । जिल्लालाई २ क्षेत्रमा विभाजन गरेर गणकहरुको सुपरीवेक्षण तथा अफ्ठ्यारो परेको अवस्थामा सहजिकरण गर्न सुपरीवेक्षक खटाइएको थियो । जिल्ला आर्थिक गणना कार्यालयले नगरपालिकामा ३/३ र गाउँपालिकामा २/२ जना गणक खटाएर आर्थिक गणना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्