अपर तामाकोशीको शेयरमा पुनर्विचार गर्न दबाब



चिरञ्जीवी मास्के, दोलखा
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा जिल्लाबासीको लागि छुट्टाइएको शेयर निष्कासन हुँदा पनि दोलखालीको मुहारमा खुशी देखिएको छैन।

शेयर दलालहरूको डिजाइनमा आयोजनाले सबै दोलखालीले शेयर हाल्न नसक्ने समय रोजेर शेयर निष्कासन गरेको स्थानीयको आरोप छ। यतिबेला असारको चटारो रहेको, बंैक तथा वित्तीय संस्थाहरूको क्लोजिङको समय रहेकाले ऋण लगानी नहुने, बर्षाको समय समेत भएको हुँदा शेयरको लागि दरखास्त हाल्न सदरमुकामसम्म आउने अवस्था नरहेको हुँदा पुनर्विचार हुनुपर्ने जनहित नागरिक समाज दोलखाका अध्यक्ष लक्ष्मण खड्काले बताउनुभयो।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले मंगलबार सार्वजनिक सूचना प्रकाशीत गर्दै दोलखाबासीको लागि शेयर आह्वान गरेको थियो। कम्पनीले जिल्लाबासीको लागि छुट्टाइएको १० प्रतिशत अर्थात १ अर्ब ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता शेयर निष्कासन गरेको सार्वजनिक सूचना मार्फत जानकारी गराएको थियो। सार्वजनिक सूचनाअनुसार जिल्लाबासीले आवश्यक कागजातसहित आगामी असार २४ गतेदेखि साउन ९ गतेसम्म कम्तिमा ३० कित्तादेखि ३ सय कित्तासम्मको शेयरका लागि दरखास्त दिन पाउने छन्।
दोलखामा सक्रिय नागरिक समाज तथा अधिकारकर्मीहरूले पनि माथिल्लो तामाकोसी आयोजनाले कसैको डिजाइनमा अनुपयुक्त समयमा शेयर निष्कासन गरेको आरोप लगाएको छ। नागरिक समाज दोलखा, नेपाल नागरिक समाज, जनहित नागरिक समाज, हुराडेक दोलखा, इन्सेक दोलखा र नेपाल पत्रकार महासंघ दोलखाले जिल्ला समन्वय समिति दोलखा र जिल्ला प्रशासन कार्यालय दोलखामा ज्ञापनपत्र बुझाउँदै शेयर निष्कासनको मिति पुनर्विचारको लागि सरोकारवाला निकायलाई दबाब दिन आग्रह गरेका छन्।

माथिल्लो तामाकोशी शेयर सरोकार संयुक्त संघर्ष समिति दोलखाका संयोजक बर्मा लामा अपर तामाकोसी हाइड्रो पावर लिमिटेडले मिचाह प्रवृत्ति देखाउँदै सेयर दलाललाई फाइदा पुग्ने गरी वर्गीकरणको आधारमा अनुपयुक्त समयमा शेयर निष्कासन गरेको बताउँछन्। दोलखालीको अधिकार खोस्ने नियतले गरिएको शेयर निष्कासन प्रक्रिया र समय आफूहरूलाई मान्य नरहेको र यसलाई नसच्चाइए संघर्ष निरन्तर जारी रहने लामाको भनाइ छ। हामीले विगतदेखि नै शेयरको न्यायोचित वितरणको लागि आन्दोलन गर्दै आएका छौ लामाले भन्नुभयो– ‘अहिले हाम्रो मागको वेवास्ता गर्दै जसरी मिचाह प्रवृत्ति देखाइएको छ यसलाई कुनै हालतमा सफल हुन दिँदैनौ।’

जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे दोलखालीको अधिकार रहेको जिल्लाबासीको लागि आह्वान भएको शेयर सम्पूर्ण जिल्लाबासीले पाउने वातावरण बनाउन आफूहरूले प्रयत्न गर्ने बताउँछन्।
प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक धितोपत्र बोर्डको अनुमतिपछि अपर तामाकोसी हाइड्रो पावर लिमिटेडले असारको पहिलो हप्ताबाटै शेयर आवेद खुलाउन चाहेकोमा आफूले त्यसलाई असारको अन्तिममा सार्न लगाएको उल्लेख गर्दै अहिलेको समयमा १५ दिन थप हुनसक्ने बताउँछन्। समय अझ पछि सार्ने विषयमा आफूले सक्ने प्रयत्न गर्ने पनि प्रमुख जिल्ला अधिकारी पाठकले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्