अफिम नष्ट गर्ने अभियानमा प्रहरी



धनवीर दाहाल, रुकुम । रुकुम पश्चिमको अधिकांश ग्रामिण क्षेत्रमा अफिम खेती भइरहेको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी परिचालित भएको छ ।

प्रहरीलाई आएको सुचनाको आधारमा अफिम फाड्ने अभियान थालेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । पछिल्लो दुई महिनामा जिल्लाका विभिन्न ठाउँमा गरी २६ विगाहा तीन रोपनी क्षेत्रफलमा लगाईएको अफिम नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक ऋषिकुमार ढुंगानाले जानकारी दिए ।

उनका अनुसार आठबीसकोट नगरपालिकाका १, २, ३, ५, ६, १०, सानीभेरी गाउँपालिकाका वडा नं ५ र ६ तथा बाँफिकोट गाउँपालिकाका ६ र ७ नम्बर वडाका विभिन्न ठाउँमा लगाईएको अफिम नष्ट गरिएको हो ।

सबैभन्दा बढी आठबीसकोट नगरपालिका १ र २ स्यालाखदीमा नष्ट गरिएको उनले बताए । अभियान जारी रहेको उनको भनाई छ । ‘हामीले दुई महिना देखि जिल्लामा अफिम फाँड्ने अभियान थालेका हौं, उनले भने, ‘यो अभियान अझै जारी छ, जिल्लामा लगाईएको अफिम खोजि खोजि फाँड्छौं ।’ अफिम नष्ट गर्नुका साथै प्रहरीले सचेतना समेत फैलाइरहेको छ ।

प्रहरीको अफिम नष्ट गर्ने अभियान र सचेतना कार्यक्रमको कारण पछिल्लो पटक अफिम खेति घट्दै गएको छ । दुई, तीन वर्ष अगाडि सम्म अत्याधिक अफिम खेति हुने भएकामा पछिल्ला वर्षहरुमा अफिम खेति गर्ने क्रम घट्दै गएको भेटिएको प्रहरीले जनाएको छ ।

‘दुई, तीन वर्ष अगाडिसम्म खेतिपाती गर्न छाडेर मान्छेहरुले अफिम लगाएका हुन्थे’ प्रहरी निरिक्षक ढुंगानाले भने, ‘तर पछिल्लो समय अफिम खेतिमा व्यापक कमि आएको छ ।’ तर खेति नहुने लेक तथा खोल्साहरुमा अझै अफिम खेति हुने गरेको र त्यसलाई रोक्न लागि रहेको उनले बताए । तीन वर्ष अगाडिसम्म वर्षेनी करिब ८०/९० विगाहा क्षेत्रफलमा लगाईएको अफिम फाँड्ने गरिएकामा पछिल्ला वर्षहरुमा यसमा कमि आईरहेको प्रहरीले बताएको छ ।

सचेतनाको कमिका कारण अफिम खेति गर्ने गरेको भन्दै प्रहरीले हालसम्म सम्झाई बुझाई गरी अफिम मास्ने गरेको थियो । तर अब भने अफिम खेति गर्नेलाई कानुन अनुसार कारवाही गर्ने जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले बताए ।

कारवाही प्रक्रिया सुरु नगरेसम्म खेती गर्नेहरुमा डर पैदा नहुँने उनको भनाई छ । प्रहरीको सचेतना अभियान तथा लगाइएको अफिम नष्ट गर्ने अभियान गर्दा समेत अटेर गरेमा कानुनी कार्वाही हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्