नौ वर्षदेखि फरार पक्राउ



लमजुङ, (नेस)
लमजुङमा प्रहरीले विगत नौ बर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी जेल पठाएको छ । मस्र्याङ्दी गाउँपालिका– ४ स्थित जगत गाउँका स्थायी बासिन्दा रहेका २८ वर्षीय बुद्धीबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरी जेल पठाएको हो ।

२०६६ सालमा डाका चोरीको घटनामा संलग्न भएदेखि नै उनी फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी ९ वर्षदेखि फरार अभियुक्त भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक यादव ढकालले बताउनु भयो । उहाँका अनुसार उनीसमेत ९ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय मनाङले दायर गरेको डाँका चोरीको मुद्धामा उनी मनाङ जिल्ला अदालतबाट दोषी किटान भएका व्यक्ति हुन् ।

गुरुङलाई प्रहरीको विशेष सुराकीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका मुुद्धा फाँटका प्रहरी जवान दिपक गिरीले बताउनु भयो । उहाँका अनुसार गुरुङका विरुद्धमा ६ वर्ष कैद र १९ लाख ४५ हजार २ सय रुपैया जरीवाना हुने अदालतको ठहर रहेको जिल्ला अदालत मनाङबाट लेखिएको पत्रका उल्लेख छ । अभियुक्त गुरुङलाई कैद भुक्तानका लागि जिल्ला अदालत लमजुङको आदेशपछि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी, मस्र्याङ्दी गाउँपालिका– ७ बस्ने १८ वर्षीय मिलन खत्रीलाई पनि प्रहरीले पक्राउ गरी जेल चालन गरेको छ । उनी दुई वर्षदेखि फरार अभयुक्त भएको जिल्ला प्रहरीक कार्यालयले जनाएको छ । उनलाई प्रहरीले आफ्नै घरमा सुतिरहेको अवस्थामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको प्रहरी नायव उपरिक्षक ढकालले बताउनु भयो । उहाँका अनुसार अभियुक्त खत्रीका विरुद्धमा ४ दिनका लागि जिल्ला अदालत लमजुङले कारागारको सजाय तोकेको हुँदा उनलाई पनि सो कैद भुक्तानका लागि जेल चलान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्