काँडा बिझेका बिरामी ६ वर्ष अस्पतालमा



नुवाकोट, (नेस)
नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ घ्याङफेदी सिसिपुकी ५४ वर्षीया कामिनी तामाङ खुट्टाको उपचारका लागि पछिल्लो ६ वर्षदेखि जिल्ला अस्पताल त्रिशूलीमा नै बस्न बाध्य भएकी छिन् ।

खुट्टामा काँडा बिझेर बल्झिएपछि विदेशी नागरिकले अस्पतालसम्म ल्याए पनि जिल्ला अस्पताल त्रिशूलीमा उपचार हुन नसकेपछि त्यो समयमा काठमाडांैमा लगेर उपचार गराए पनि राम्रोसँग हेरचाह नहँुदा बल्झिएको घाउ बढ्दै गएर अहिले पनि जिल्ला अस्पताल त्रिशूलीमा नै उपचार गराउँदै आएकी छिन् ।

०७० जेठमा जिल्ला अस्पताल त्रिशूलीमा आएकी तामाङको घरको आर्थिक अवस्था कमजोर भएकाले धेरै लगानी गर्न नसक्दा उनी अस्पतालमा नै बसेर दैनिक खुट्टाको घाउ सफा गरेर बस्दै आएकी छिन् । बल्झिएको घाउको उपचारका लागि करिब दुई लाख रुपैयाँ खर्च लाग्ने र त्यसका लागि काठमाडौंमा नै जानुपर्ने चिकित्सकले बताए पनि आर्थिक अभावमा उनी जिल्ला अस्पताल त्रिशूलीमा नै उपचार गराइरहेकी छिन् । खट्टाको बिरामी भएर अस्पतालमा भर्ना भएपश्चात् उनी दुईपटक जन्मस्थान घ्याङफेदी पुगे पनि घाउ बल्झेर नियमित सरसफाइको अभावले थप पीडा भएपछि अहिले घर नै नगई अस्पतालमा नै उपचार गराउँदै आएकी छिन् ।

उनको अहिलेसम्म विवाहसमेत नभएको र जन्मघरको परिवारका सदस्य पनि अस्पताल भर्ना भएको समयतिर केही पटक आए पनि पछिल्लो समयमा भने कोही पनि भेट्न नआएको गुनासो गरेकी छिन् । उनको उपचारका लागी अस्पतालमा नै भर्ना भएको समयमा बुबाको मृत्यु भए पनि त्यो खबर उनले एक सातापछि मात्र थाहा पाएर जन्मघर सिसिपु पुगेकी थिइन् ।

एकल महिला भए पनि उनले राज्यबाट पाउने सुविधा तथा अन्य केही पनि सहयोगसमेत पाएकी छैनन् । दाता तथा सामाजिक व्यक्तित्वहरूबाट उपचारमा सहयोग भएमा उपचार गराएर स्वस्थ हँुदै जन्मस्थल घ्याङफेदी नै फर्कने आफ्नो चाहना रहेको कामिनी तामाङले बताइन् ।

प्रतिक्रिया दिनुहोस्