बलात्कार बढ्यो, हत्यामा कमी



हेटौंडा, (नेस)
हेटौंडा–९ का ४५ वर्षीय कृष्णबहादुर चेपाङको पुस १७ गते अज्ञात समूहले कुटपिटपछि हत्या गरेर फाल्यो । हत्या गर्नेको पहिचान हुन सकेन । ४२ वर्षीया मीना लामाको पुस २२ गते हेटौंडा–४ बस्ने ५८ वर्षीय पति रामबहादुर लामाले गजवारले हिर्काएर हत्या गरे । उनी पक्राउ परे ।

बकैया गाउँपालिका–६, सुकौरामा नवजात शिशुको शव पुस ३१ गते बिना घलानले हत्या गरेर खोल्सीमा फालेको अवस्थामा फेला परेको थियो । घलानलाई नवजात शिशु हत्या आरोपमा पक्राउ गरियो ।

६ महिना अवधिमा बहुविवाहका २ वटा घटना भएका छन् । भीमफेदी कारागारको १ हजार २ सय क्षमतामा हाल पुरुष ८ सय ७६ कैदीबन्दी छन् । जसमध्ये कैद तोकिएका ४ सय ५ र थुनुवा ४ सय ७१ जना छन् ।

६ महिनामा मानवअधिकार उल्लंघनका घटनामध्ये बलात्कार बढी र हत्या कम भएको तथ्यांक सार्वजनिक गरिएको हो । इन्सेक मकवानपुरले ६ महिनामा मकवानपुरमा भएका मानवअधिकार उल्लंघनका घटना सार्वजनिक गर्दै बलात्कारका घटना ७, हत्या ३ र बहुविवाह २ वटा सम्बन्धित कार्यालयमा दर्ता भएको जनाएको हो ।

बलात्कृत हुनेमा ९ वर्षीया बालिकादेखि ६० वर्षीया बृद्धसम्म छन् । इन्सेकले अर्धवार्षिक प्रतिवेदनमा उल्लेख गरेअनुसार ९ वर्षीया बालिकालाई जेठ ५ गते बागमती गाउँपालिका–३ का २७ वर्षीय राजकुमार रानाले बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

६० वर्षीया बृद्धलाई चैत १६ गते मकवानपुरगढीका १८ वर्षीय सुनिल ब्लोनले बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । आरोपित ब्लोनलाई जिल्ला अदालतले वैशाख ११ गते पुर्पक्ष थुनामा राख्ने आदेश दिएको थियो ।

इन्सेक मकवानपुर प्रतिनिधि प्रताप बिष्टले ११, १४, १५, १८ र ३५ वर्षीया किशोरी तथा महिला, सुस्तः मनस्थितिका किशोरी बलात्कृत भएको तथ्यांक प्रस्तुत गरेका छन् । प्रतिवेदनमा उल्लेख भएअनुसार हत्या आरोपमा ३ जना पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्