डीएसपी आफैं घरदैलो पुगेपछि…………



चिरञ्जीवी मास्के, दोलखा
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक बासुदेव पाठक आइतवार विहानै हातमा पर्चा सामग्री बोकेर सदरमुकाम चरिकोटको पसल र सडकमा आवत जावत गरिरहेका मानिसलाई अपराधिक घट्ना र चोरी नियन्त्रणमा अपनाउनु पर्ने सजगता बारे जानकारी गराई रहेका थिए ।

प्रहरीको विशेष अभियान ‘टोल टोलमा प्रहरी कार्यक्रम’ अन्तर्गत आईतवार भीमेश्वर नगरपालिका वडा नम्बर ३ र ६ मा पर्ने सदरमुकाम चरिकोटको बजार क्षेत्रमा प्रहरी प्रमुख आफै पर्चा सामग्री बोकेर हरेक मानिसलाई भेट्दा स्थानियले चासोका साथ हेरीरहेका थिए । सदरमुकाम चरिकोटमा विगत केहि समय देखि चोरीका घट्नामा अत्यधिक बृद्धि भएपनि अहिलेसम्म चोर पत्ता लाग्न नसक्दा प्रहरीलाई यो घट्ना टाउको दुखाईको विषय बनेको छ ।

दोलाखमा दुई बर्षको अवधिमा ६३ वटा चोरीका घट्ना दर्ता भएका छन् तर चोर पत्ता लागेको घट्ना भने अत्यन्त न्युन रहेको छ । भखैरै दोलखा सरुवा भएर आएका प्रहरी नायव उपरीक्षक बासुदेव पाठकको लागि चोरी नियन्त्रण मुख्य चुनौती बनेको छ । उनले जिल्लालाई चोर मुक्त बनाउने उद्घोष गरेका छन् ।

चोरी नियन्त्रणको लागि सबैको सहयोग अपरिहार्य रहेकोले त्यहि सन्देश दिन र व्यवसायी तथा स्थानिय आफुले अपनाउनु पर्ने सजगता बारे जानकारी गराउन टोल टोलमा प्रहरी कार्यक्रम अन्र्तगत घरदैलो अभियान गरिएको प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले बताए । उनले आफु दोलखा आएको दिनदेखिनै चोरी नियन्त्रण गर्ने प्रतिवद्धता गरेको र सोहि अनुसार योजना बनाई काम गरिरहेको पनि बताए ।

घरदैलो अभियानको क्रममा प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले टोल टोलमा प्रहरी कार्यक्रमको उदेश्य उल्लेख भएको पर्चा र चोरी बाट बच्ने उपाए, पकेटमारी र लुटपाटबाट बच्ने उपाए, दुव्र्यवहार र हिंसाबाट बच्ने उपाए तथा बिकृति विसंगतिहरुबाट बच्ने उपाए लेखिएको पर्चा हरेक व्यक्ति र व्यवसायीलाई वितरण गरेका थिए । अभियानको क्रममा प्रहरी नायव उपरीक्षक पाठकले सबैलाई भेटेर प्रहरीको अभियानमा सहयोग गर्न आग्रह समेत गरेका थिए । अभियानमा भीमेश्वर सामुदायीक केन्द्र चरिकोट र बजारमा रहेका बिभिन्न टोल सुधार समितिका सदस्यहरुले समेत साथ दिएका थिए ।

चोरी नियन्त्रण र अपराधिक गतिविधि नियन्त्रणमा टोल टोलमा प्रहरी कार्यक्रम प्रभावकारी हुने विश्वास आफुहरुले लिएको बुद्धनगर टोल सुधार समिति चरिकोटका सचिव कृष्ण श्रेष्ठ बताउछन् । अभियानमा दोलखाको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बासुदेव पाठक आफै संलग्न भै प्रत्य व्यवसायी र स्थानियलाई भेटेर सहयोगको आग्रह गरेकोले पनि कार्यक्रम अझ बढी प्रभावकारी देखिएको सचिव श्रेष्ठ बताउछन् ।

प्रतिक्रिया दिनुहोस्