हेटौंडा अब फुसको छानारहित नगर



हेटौंडा, (नेस)
प्रदेश–३ को राजधानी रहेको हेटौंडा उपमहानगरपालिकाले यहाँ पहिलोपटक आकाशेपुल निर्माणका लागि सम्भाव्यता अध्ययनसहित फुसको छानासहित योजना अघि सारेको छ ।

हेटौंडामा सडक २५ मिटर फराकिलो पार्ने चर्चा कायम रहेको अवस्थामा उपमहानगरपालिकाले सोही सडकमा आकाशेपुल निर्माण गर्ने योजना बनाएको हो ।
आगामी आवदेखि नै ‘घरको छाना सुधार’ कार्यक्रम सञ्चालन गरी आगामी ४ वर्षभित्र उपमहानगरलाई फुसको छानारहित नगर निर्माण गर्न तथ्यांक संकलन गरी कार्यान्वयन गरिनेछ ।

आइतबार प्रस्तुत बजेटमा हेटौंडाका सडकमा सवारी चाप बढेको र यात्रुलाई बाटो काट्न समस्या भएको भन्दै आकाशेपुल निर्माणको योजनासमेत राखिएको हो । मुख्य बजार क्षेत्रको सबभन्दा धेरै सवारी चाप हुने सडक पूर्वपश्चिम राजमार्गमा पर्ने सडक रहेको र ती सडक फराकिलो पार्न सडक डिभिजन कार्यालयले पटकपटक सार्वजनिक सूचना जारी गरेर प्रयास गर्दै आए पनि मुआब्जा विवाद र अदालतमा मुद्धा परेका कारण सडकको आकार ठूलो हुन सकेको छैन ।

उपमहानगरले आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक बजेट तथा नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । उपमहानगर उपमेयर मीनाकुमारी लामाले आइतबार तेस्रो नगरसभामा प्रस्तुत गरेको बजेटमा उपमहानगरको आव २०७५÷०७६ को वार्षिक बजेट १ अर्ब ६३ करोड चार लाख ५७ हजार अनुमान गरिएको छ ।

कुल बजेटको १० दशमलव १८ प्रतिशत प्रशासनिक खर्च हुनेछ, जसको कुल रकम १६ करोड ५९ लाख ६४ हजार रुपियाँ रहने छ । बजेटमा वडास्तरीय आयोजना तथा कार्यक्रमका लागि २० करोड ५० लाख रुपियाँ, सामाजिक विकासअन्तर्गत् ५९ करोड १७ लाख ५६ हजार, पूर्वाधार विकास क्षेत्रतर्फ ३७ करोड ८ लाख ५१ हजार, वातावरण तथा विपद् ब्यवस्थापन क्षेत्रतर्फ ७ करोड ३१ लाख ७० हजार, संस्थागत विकास, सेवाप्रवाह र सुशासन क्षेत्रतर्फ २ करोड १६ लाख ३४ हजार बजेट विनियोजन गरिएको छ ।

चालु आवका लागि कुल आन्तरिक आय १५ करोड ४९ लाख ६९ हजार अनुमान गरिएकोमा वैशाखसम्म १३ करोड ४६ लाख २४ हजार संकलन भएको छ । अर्थात्, कुल लक्ष्यको तुलनामा ८७ प्रतिशत प्रगति हासिल भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्