भाइरल ज्वरो र झाडापखालाका बिरामी बढे



नुवाकोट, (नेस)
गर्मीयाम शुरु भएसँगै नुवाकोटमा भाइरल ज्वरो र झाडापखालाका बिरामी उच्च दरमा बढेका छन् । बदलिँदो मौसम अत्याधिक गर्मीका कारण भाइरलका बिरामी बढेको जिल्ला अस्पताल त्रिशूलीले जनाएको छ ।

जिल्ला अस्पतालसँगै नुवाकोटका गाउँगाउँमा रहेका स्वास्थ्य संस्था र जिल्ला भित्र सञ्चालित निजि तथा सरकारी अस्पतालहरुमा समेत बिरामीको चाप बढेको छ । अहिले जिल्ला भित्र सञ्चालनमा रहेका अस्पतालहरुमा दैनिकजसो भाइरल ज्वरोका बिरामी नै आउने गरेको अस्पतालमा कार्यरत चिकित्सकहरुले बताएका छन् । अन्य समयमा केही मात्रामा भाईरल ज्वरो र झाडापखालाका बिरामी आउने अस्पतालमा विगत एक सातादेखि भाईरल ज्वरो आउने बिरामीहरुको संख्यामा वृद्धि भएको छ ।

सञ्चालित अस्पतालहरुको जानकारी अनुसार केही समय अघिको तुलनामा यस समयमा दोब्बर संख्यामा भाइरलका बिरामी बढेको बताइएको छ । भाइरलको प्रकोप बढी मात्रामा बालबालिकामा र बृद्धाबृद्धीहरुमा देखिएको छ ।

गर्मी बढेसँगै र बर्खालागेसँगै दुषित पानीको सेवन गर्नाले र हावामा अत्याधिक तापक्रम बृद्धि भएकोले मानिसमा अहिले पिसाब पोल्ने, ज्वरो आउने, रुघाखोकी झाडापखाला लाग्ने, जण्डिस हुने, शरीर गल्ने, टाउको दुख्ने, आँखा पोल्ने जस्ता समस्या सर्बसाधारणमा देखिएको जिल्ला अस्पताल त्रिशूलीका चिकित्सक डाक्टर मधुकर दाहालले बताउनुभएको छ ।

दूषित पानी र प्रदूषित हावाहुरीका कारण भाइरलको प्रकोप बढेको बताउदै डाक्टर दाहालले यस्ता समस्याबाट बच्न दूषित खाना र खानेपानी प्रयोग नगर्ने , स्बच्छ हावामा हिडडुल गन, चिसो खानेकुरा खाने र कारणवस संक्रमण देखिएमा तत्काल उपचारको विधि अपनाउन सुझाव दिनुभएको छ । उहाँले लामो समयको खडेरी र गर्मीका कारण छिटो बिरामी परिने भएकाले गर्मीको समयमा स्बच्छ र सफा पानी, ताजा खानेकुरा, फलफुलको सेवन गर्ने र शितल ठाउमा बस्न नागरिकहरुलाँई सल्लाह दिनुभएको छ ।

शुरुमा टाउको दुख्ने, जीउ दुख्ने, रुघा खोकी लाग्ने, छाती घ्यारघ्यार हुने, हाच्छिउ आउने र उच्च ज्वरो आएर परिक्षण गर्न आउने बिरामीको संख्या अस्पतालहरुमा बृद्धि भएको छ । यस्ता समस्या देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा पुगेर उपचार गर्न चिकित्सकहरुले सुझाव दिनुभएका छन्। भाईरल ज्वराकोे संक्रमण एकजना मानिसबाट अर्काे मानिसमा सजिलै सर्ने हँुदा बेलैमा सचेत हुनुपर्ने चिकित्सकहरुको सुझाब रहेको छ ।

प्रतिक्रिया दिनुहोस्