‘हतारमा साम्यवाद ल्याउन खोजे समाजवाद ढल्न सक्छ’



चितवन, (नेस)
नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले हतारमा साम्यवादमा पुग्न हतार गर्न नहुने बताएका छन् । सोमबार पुष्पलाल स्मृति प्रतिष्ठानले चितवनको नारायणगढमा आयोजना गरेको नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको अर्धकद शालिक अनावरण कार्यक्रममा बोल्दै नेता नेपालले हतारमा हाम फालेर साम्यवाद ल्याउन खोजे अहिले भएको समाजवाद पनि ढल्न सक्ने खतरा रहेको औल्याए ।

नेपालमा जनताको मन जित्नका लागि कम्युनिष्टहरुले ठूलो अवसर पाएको भन्दै नेता नेपालले अवसरको सही सदुपयोग गर्नुपर्ने बेला आएको बताए । पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले दोश्रो विश्वयुद्ध पछि फ्रान्स र १९८६ मा फिलिपिन्सका कम्युनिष्टहरुले पाएको अवसरको सदुपयोग गर्न नसक्दा कम्युनिष्टहरु सधै पछाडी परेको उदाहरण दिँदै नेपालमा कम्युनिष्टहरुले पाएको अवसर खेर जान दिन नहुने तर्क गरे ।

कार्यक्रममा पूर्व अर्थमन्त्री एवम नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले नेपालमा कुन खालको समाजवाद लागु गर्ने विषय प्रष्ट नभएको बताए । समाजवादमा पनि कुन नीति लिएर अगाडी बढ्ने विषय गम्भिर हुने भन्दै नेता पाण्डेले समाजवादको नीति प्रष्ट हुनुपर्ने बताए । यस अघि समाजवादको बाटोमा अगाडी बढेको सोभिय संघ लगायतका मुलुकहरुले कुन नीति लिने विषयमा स्ष्ट नभएकै कारण असफल बनेको उदाहरण दिँदै नेता पाण्डेले नेपालमा लागु हुने समाजवादको खाका प्रष्ट हुनुपर्ने तर्क गरे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य एवम् भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेल लगायतका नेताहरुले पुष्पलाल श्रेष्ठको योगदानको विषयमा बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्