नेपाल–चीनबीच विभिन्न परियोजनामा सम्झौता

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
छिमेकी मुलुक चीन र नेपाल वीच मुलुकको उर्जा, सिँचाई, सिमेन्ट र फलफूल उद्योगसहित पस्मिना खरिद लगायतका विभिन्न ८ परियोजनाबारे महत्वर्पूण सम्झौता भएको छ ।

करिव ९ सय मेगावाटका विभिन्न ४ विद्युतिय आयोजना निर्माणबारे चिनियाँ पक्षसँग सम्झौता भएको हो । ६ सय मेगावाटको माथिल्लो मस्याङ्दी–२, १ सय ६४ मेगावाटको कालीगण्डकी गर्ज, ७५ मेगावाटको त्रिशुली गल्छी र ४० दशमलव २७ मेगावाटको सुपर न्यादी विद्युतिय परियोजना चिनियाँ सहयोगमा बन्ने निधो भएको हो ।

बेजिङस्थित नेपाली दूतावासमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा दुवै मुलुकका निजी क्षेत्रबीच यस्तो सम्झौता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैगरी दुवै मुलुक जोड्ने गल्छी–रसुवागढी–केरुङ ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्नेबारे पनि समझदारी भएको छ ।

सो समझदारीपत्रमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र स्टेट ग्रीड कर्पोरेशन अफ चाइनाका प्रतिनिधिबीच हस्ताक्षर भएको बताइएको छ ।

करिब १ सय ६० किलोमिटर लामो प्रसारण लाइन गल्छी (रातमाटे) देखि चीनको केरुङसम्म निर्माण हुनेछ । धादिङमा दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने हुवासिन सिमेन्ट उद्योग स्थापना गर्न लगानी बोर्ड र सो सिमेन्ट उद्योग वीच हस्ताक्षर भएको छ । १४ अर्ब ४० करोड लगानीमा स्थापना हुने सिमेन्ट उद्योगमा १ हजार नेपालीले रोजगारको अवसर पाउने र आगामी ६ महिना भित्रैमा उद्योग सञ्चालनमा आउने दावी गरिएको छ ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिनका तर्फबाट उपाध्यक्ष सू गाङले यसबारेको समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । यसअघि चिनियाँ र नेपाली लगानीकर्ताको सयुक्त लगानीमा नवलपरासीमा होङ्सी शिवम् सिमेन्ट उद्योग सञ्चालनको तयारीमा छ । सो उद्योग सञ्चालनका लागि ३६ अर्ब चिनियाँ लगानी भित्रिसकेको छ ।

न्यूनतम २ लाखदेखि ५ लाख थान नेपाली पस्मिना खरिद गर्नेबारे पनि बुधवार नेपालले चिनियाँ पक्षसँग सम्झौता गरेको छ । नेपाल पस्मिना उद्योग संघ र चिनियाँ बेल्ट एण्ड रोड (बीआरआई) परियोजनाअन्तर्गत अन्तर्राष्ट्रिय व्यापार प्लेटफर्मबीच यस्तो सम्झौता भएको हो ।

पूर्वी तराईका विभिन्न भेगमा सिँचाई सुविधा विस्तार र व्यवस्थित गर्न बिरिङ, कमला, कन्काई नदी सिँचाईको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्नेबारे दुवै मुलुकका सरकारी अधिकारीबीच हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सह–सचिव दिनेशकुमार घिमिरे र चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनीका डेपुटी जनरल म्यानेजर लिऊ दोङग्युआनले यस विषयको समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

यसैगरी नेपालमा उत्पादित फलफूल भण्डारण र फलफूल उद्योग स्थापना गर्नेबारे दुवै मुलुकको नीजि क्षेत्रबीच सम्झौता भएको छ । सो अवसरमा गृहमन्त्री रामबहादुर थापा, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठसहित अन्य सरकारी अधिकारी उपस्थित हुनुहुन्थ्यो । सो जमघटलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले द्धिपक्षिय लगानी र सहकार्यबाट मुलुकले छिट्टै आर्थिक समृद्धि हासिल गर्ने बताउनुभयो ।