टीका बन्धन, काठमाडौं
जमिन भन्दा माथिल्लो तह (वायुमण्डल)को मौसमी सूचना अब बेलुनले बताउने छ । मौसमको यथार्थ सूचना अध्यावधिक गर्दै सरोकारवाला सहित आम नेपालीलाई थाहा दिन नेपाली आकाशमा बेलुन उड्ने भएको हो ।
आज बुधवारदेखि हरेक दिन विहान काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरबाट बेलुन उड्दैछ । वायुको चाप, दिशा र गति, तापक्रम, बादलको अवस्था, जलवाष्पयुक्त हावा जस्ता पक्षको यथार्थ सूचना अद्यावधिक गर्न हरेक दिन विहान ५ बजेर ४५ मिनेट भित्रैमा बेलुन उड्ने छ । बेलुनसँगै जडान गरिने विशेष प्रकारको उपकरण ‘रेडियोसोन्ड’ले यस्तो सूचना संकलनमा सघाउने छ ।
त्रिवि परिसरबाट उडाइने बेलुनमा जडान हुने उपकरणले काठमाडौं उपत्यका सहित आसपासका जिल्लाको अधिकतम ३० किलोमिटर उचाइसम्मको मौसमी सूचना संकलन गर्ने बताइएको छ । करिव ४ करोड रुपियाँको लागतमा यस्तो अभ्यास शुरु भएको हो । वायुमण्डलको मौसमी सूचना अद्यावधिक गर्न बेलुन उडानका लागि विश्व मौसम संगठन (डब्लुएमओ)ले विहान र बेलुका साढे ५ बजेदेखि पौने ६ सम्मको समय सीमा (स्ट्यान्डर्ड टाइम) तोकेको छ ।
डब्लुएमओले तोकेको ‘स्ट्याण्डर्ड टाइम’ भित्रै हरेक दिन विहान बेलुन उडाइने जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्माले जानकारी दिनुभयो । ‘केही खर्चिलो विधी भएकाले अहिलेलाई विहान मात्रै बेलुन उडाइदैछ, उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘हाइड्रोजन ग्यास भरिएको रवर बेलुनका माध्यमबाट ‘रेडियोसोन्ड’ उपकरण जमिनको सतहबाट २५ देखि ३० किलोमिटरको उचाई सम्म पुग्नेछ ।’
बेलुन उडानको एक वर्षको खर्च ८० देखि ९० लाखका हाराहारीमा हुने अनुमान गरिएको उहाँले बताउनुभयो । मौसमविद्हरुका अनुसार हावाको बहावअनुसार जुनसुकै दिशामा पनि पुग्न सक्ने बेलुन १ देखि ३ घन्टासम्म उड्न सक्छ । बेलुनले जति उचाइ पार गर्छ, त्यसको आकार पनि क्रमशः ठूलो हुँदै जान्छ र निश्चित विन्दुमा पुगेपछि फुट्छ । बेलुन उड्ने वित्तिकै हरेक सेकेन्ड–सेकेडन्डमा रेडियोसोन्डले सूचना अद्यावधिक गराउने भएकाले बेलुन फुट्दा प्राविधिक कठिनाई नहुने विज्ञहरु बताउँछन् ।
यो विधीका लागि आवश्यक वेलुन र अन्य उपकरण जर्मनबाट झिकाइएको हो । आगामी २ वर्षसम्मका लागि सम्पूर्ण सामग्री मौज्दात रहेकाले हरेक दिन बेलुन उडाउन समस्या नहुने र सूचना अद्यावधिक गर्न विभागकै जनशक्ति परिचालन गरिने यस विषयकी ‘फोकल पर्सन’ एवं मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।
मौसमी सूचना अद्यावधिक गर्न अहिले मौसम विभाग मातहत मुलुकका विभिन्न भेगमा ४ सय भन्दा बढी सतही स्टेसन सञ्चालनमा छन् । रेडियोसोन्ड मार्फत नियमित सूचना अद्यावधिक हुन थालेपछि मौसमी सूचना थप विश्वसनीय हुने र यस विषयको अध्ययन÷अनुसन्धानको दायरा अझ फराकिलो बन्ने कँडेल बताउनुहुन्छ । ‘सतही स्टेसनले उपलब्ध गराउन नसक्ने सूचना रेडियोसोन्डले उपलब्ध गराउने भएकाले मौसम भविष्यबाणी अझ विश्वसनीय हुनेमा कुनै शंका रहँदैन’–उहाँले भन्नुभयो ।
वेलुन मार्फत मौसमी सूचना संकलन गर्ने अभ्यास मुलुकका लागि नौलो भएपनि पहिलो भने होइन् । सन् १९७८मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट केही महिना परीक्षण अभ्यास भएको त्रिवि जल तथा मौसम विज्ञान विभागका प्रमुख डा. दीपक अर्याल स्मरण गर्नुहुन्छ । उहाँका अनुसार मुलुकको वायुमण्डीय मौसमी सूचनाका लागि नेपालले भारतको लखनऊ, गोरखपुर, पटना, सिलगुढी सहित तिब्बतको ल्हासा र पश्चिम तिब्बतको होटानबाट सहयोग लिने गरेको छ । आगामी एक वर्ष भित्रै विराटनगर र नेपालगञ्ज आसपासमा पनि रेडियोसोन्डको अभ्यासका लागि गृहकार्य अघि बढाइएको मौसम विभागले जनाएको छ ।











प्रतिक्रिया