भगवती तिमिल्सिना
काठमाडौ । बरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार सांझ उपचारको क्रममा न्युरो अस्पताल बासबारीमा निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित डा. देवकोटाको सांझ ५ः ३५ बजे निधन भएको अस्पतालले घोषणा गरेको थियो ।
दक्षिण एसियामा प्रख्याती कमाएका डा.देवकोटालाई पित्त थैलीको क्यान्सर भएपछि लामो समयसम्म त्यहां उपचार गरेको भएपनि उपचार सम्भव नभएपछि नेपाल ल्याएर उहांद्धारा नै प्रवर्दित बाँसबारीस्थित नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल तथा एलाइड साइन्स (न्युरो अस्पताल)मा उपचारकालागि भर्ना गरिएको थियो ।
बेलायतको किङस कलेज अस्पतालमा गत नोभेम्वरमा भर्ना हुनु भएका डा देवकोटाको ६ महिना सम्म उपचार हुदापनि निको नभएपछि नेपाल ल्याइएको थियो । गत बैशाख १५ गते काठमाडौ ल्याइएका डा. देवकोटालाई उक्त अस्पतालमा भर्ना गरिएको थियो ।
२०१० बैशाख ४ गते गोरखाको पण्डितगाउं लिगलिगमा जन्मनु भएका डा. देवकोटालाई दुर्लभ क्यान्सर भएको थाहा पाएपछि उहांले स्वदेशमा नै देहत्याग गर्ने इच्छा ब्यक्त गर्नुभएको थियो । उहांको इच्छा अनुसार नेपाल ल्याएर उपचार शुरु गरिएको अस्पतालले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
६५ बर्षिय डा. देवकोटाले गतहप्ता आफु जन्मेको पण्डित गाउंमा रहेको सिस्नेधाराको पानी खाने इच्छा गरेपछि हेलिकोप्टरबाट उहांलाई जन्मस्थान पु¥याई स्निेधाराको पानी खुवाएर सोही दिन काठमाडौ ल्याइएको थियो ।
डा.देवकोटाको पार्थिव शरिरलाई अन्तिम श्रद्धान्जलीकालागि आज मंगलबार बिहान ८ बजेखि दिउसो १ बजे सम्म अस्पताल परिसरमा राख्ने पनि अस्पतालले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
डा. देवकोटाको दाहसंस्कारकालागि नारायण गोपाल चोक, चक्रपथ हुदै आर्यघाटमा लगेर दाहसंस्कार गरिने पनि अस्पतालले जनाएको छ । उहांको बिद्युतीय माध्यमबाट शवदाह गरिने भएको छ ।
अस्पतालका अनुसार उहांको काजक्रिया श्रीमती डा. मधु देवकोटा, तीन छोरीहरु मेघा, बसुधा र मन्जरी देवकोटाले गर्ने पनि अस्पतालले जनाएको छ । उहांको काजकृया पनि ७ दिनमा नै सम्पन्न गर्ने अस्पताले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
लामो समय नेपालकै सबैभन्दा पुरानो बीर अस्पतालमा सेवा गर्नुभएका देवकोटाले नेपालमा न्युरो सर्जरी सेवा भित्र्याउनु भएको थियो । नेपालको पहिलो अस्पताल बीर अस्पतालमा डा. देवकोटाको पहलमा न्युरो सर्जरी सेवाको शुरुवात गर्नु भएको थियो ।
उहांले पहिलो पटक बीर अस्पतालमा न्युरो सर्जरी सेवा स्थापना गरी सेवा शुभारम्भ गर्नुभएको थियो । उहां तत्कालिन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा स्वास्थ्य मन्त्री भएको बेला बीर अस्पताललाई चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान (नेम्स)को स्थापना गर्नुभएको थियो ।
चिकित्सा सेवामा झण्डै साढे तीन दशक बिताउनु भएका डा. देवकोटाले २५ हजार भन्दा बढी स्वदेशी तथा बिदेशीको सल्यक्रिया गर्नुभएको थियो भने १० लाख भन्दा बढीको उपचार गर्नुभएको थियो । आफ्नो जीवनभर चिकित्सा पेशामा रहनु भएका डा. देवकोटालाई बिश्वमा नै दुर्लभ मानिएको क्यान्सरले सताएको थियो।
उहाँको पित्तवाहिनी नलीको क्यान्सरले शरीरमा फैलिएको टक्सिनका कारण मिर्गौला समेत फेल भएको थियो । उहाँलाई भएको बाइल डक्ट क्यान्सर (कोलान्जिओकार्सिनोमा) दुर्लभ खालको क्यान्सर मानिन्छ । उहाँले दुनियालाई बचाउन औषधि र उपचार विधि पत्ता लगाउनु भएपनि ाफ्नै लागि भने सम्भावना भएन भन्दै आफन्तहरुले भावविवहल हुँदै स्मरण गरिरहेका छन् ।











प्रतिक्रिया