सीमा क्षेत्रमा सशस्त्र प्रहरीको “फोर्स मार्च”

0
Shares

नरेन्द्र केसी, घोराही, दाङ
सशस्त्र प्रहरी बल नेपालले मंगलबारदेखि भारतीय सिमाना जोडिएको दाङको क्षेत्रमा एक हप्ते फोर्स मार्च शुरू गरेको छ।

सीमा क्षेत्रमा हुनसक्ने अवैध चोरीपैठारी, सीमा क्षेत्र तथा दशगजा क्षेत्रको रेखदेख, सीमा स्तम्भहरूको निरीक्षण र अनुगमन, सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दालाई सुरक्षाको प्रत्याभूति र भारतीय सशस्त्र सीमा बलसँगको समन्वयका लागि फोर्स मार्च शुरू गरिएको हो।

दाङको पूर्वीनाका अर्नादेखि पश्चिम भौवा नाकासम्म फोर्स मार्च गरिने सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट कोइलाबासका प्रमुख सशस्त्र प्रहरी निरीक्षक ईश्वर डीसी र सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय लमहीका सशस्त्र प्रहरी निरीक्षक टेकराज पोखरेलको कमान्डमा २ वटा टोली परिचालन गरिएको छ। फोर्स मार्चका समयमा सीमा क्षेत्रमा बस्ने स्थानीय बासिन्दासँग अन्तरक्रिया गरी त्यहाँको सुरक्षा अवस्थाबारे जानकारी लिने र जिल्लाका विकट स्थानमा सुरक्षा फौजको उपस्थितिमार्फत अवैध क्रियाकलाप नियन्त्रण गरिने सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय लमहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तुलसीराम दाहालले जानकारी दिनुभयो। यसले नाका क्षेत्रको सुरक्षा अवस्थामा सुधार आउने उहाँको विश्वास छ।

दाङमा भारततर्फ ८३ किलो मिटर सीमा क्षेत्र रहेको छ भने जम्मा ३१ वटा सीमा नाका रहेका छ्न। दाङको भारततर्फको सीमाक्षेत्र नेपालकै विकट सीमाक्षेत्रअन्तर्गत पर्दछ। सीमाक्षेत्रमा आवागमनका लागि मोटरबाटो नहुँदा सीमाबासीले निकै सास्ती भोगिरहेका छन् ।जसले गर्दा बेलाबेला भारतीय ज्यादती सहन बाध्य छन्। भारतीय ज्यादती सहन नसकेर २०६३ सालमा नाकाबासीले ठूलो आन्दोलन गरेका थिए। उनीहरू बस्ती छाडेर लमहीको कर्री सामुदायिक वनमा आएर बसेकाले यो आन्दोलनलाई कर्री आन्दोलन पनि भनिन्छ।

यो आन्दोलनपछि दाङको सीमाक्षेत्रमा राज्यको ध्यान गए पनि अहिलेसम्म विकास र शान्ति सुरक्षाको अवस्थामा सुधार आउन नसकेको नाका क्षेत्रका अगुवा श्यामबहादुर झाँक्रीले बताउनुभयो। उहाँका अनुसार खंग्रानामा रहेको एउटा प्रहरी चौकीका भरमा पश्चिम नाकाको सुरक्षा व्यवस्था निर्भर छ। सशस्त्र प्रहरीको सीमासुरक्षा कार्यालय लमहीमा राखिएको छ। पछिल्लो समयमा कोइलाबासमा बोर्डर आउट पोस्ट स्थापना गरेपछि सीमाक्षेत्रको शान्ति सुरक्षाको अवस्थामा सुधार आएको स्थानीय बताउँछन्।

नेपाल–भारत सीमाक्षेत्रमा रहेका पिलरको पुनर्निर्माण पनि अहिले गरिएको छ। भारतीय पक्षबाट पिलर सारिएको स्थानीयले पटकपटक गुनासो गरेपछि गत वर्षदेखि सरकारले दुवै देशका तर्फबाट पिलर बनाउन शुरू गरिएको थियो। अहिले पनि नाकाबासीहरू भारतीय औषधि, सामान, भारतीय नोट र भारतीय सञ्चारमा निर्भर रहेको नाका क्षेत्रका अगुवा झाँक्रीले बताउनुभयो। सीमापारि भारतीय क्षेत्रमा सडक, बजार, सञ्चार, स्वास्थ्य, सुरक्षा सबै व्यवस्था छ भने नेपालमा त्यसको अभाव रहेको छ।