तीन विभाग र प्रदेश ५ सेमिफाइनलमा

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेसनलको व्यवस्थापनमा जारी प्रतियोगितामा तीन विभागीय टोलीहरू त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिससहित प्रदेश नम्बर ५ ले सेमिफाइनलमा स्थान बनाए ।

टीयू क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा प्रदेश ५ लाई ७ विकेटले हराउँदै नेपाल पुलिस समूह ‘बी’को विजेताका रूपमा सेमिफाइनलमा पुग्यो । पराजयका बाबजुद प्रदेश ५ पनि सेमिफाइनलमा पुगेको छ । समूह ‘ए’बाट आर्मी र एपीएफ क्रमशः समूह विजेता र उपविजेता हुँदै सेमिफाइनलमा पुगिसकेका छन् ।

शुक्रबारदेखि शुरू हुने सेमिफाइनल खेलमा समूह ‘ए’को विजेता आर्मीले समूह ‘बी’को उपविजेता प्रदेश नम्बर ५ सँग तथा समूह ‘ए’को उपविजेता एपीएफले समूह ‘बी’को विजेता नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ ।

बुधबार टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नम्बर ५ ले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २ सय रनको मध्यम योगफल बनाएको थियो । उसका लागि शंकर रानाले ४४, सौरभ खनालले ४२, राजवीर सिंहले २१ र सन्दीप सुनारले २० रन बनाए । त्यस्तै कृष्ण कार्कीले २६ रन बनाए । बलिङतर्फ पुलिसका ललित राजवंशीले २ बिकेट लिए ।

२ सय १ रनको लक्ष्य पुलिसले दीपेन्द्र सिंह ऐरीको अविजित अर्धशतकको सहयोगमा ४४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । सुस्त शुरुआत गरेको पुलिसका ऐरी र आरिफ शेखले चौथो विकेटका लागि १ सय ४ रनको अविजित शतकीय साझेदारी गरेपछि सहज जित हासिल गरेको हो । ऐरीले ५३ बलमा ३ छक्का र २ चौकाको सहयोगमा ५८ रन बनाउँदा शेखले ५१ बलमा ३ छक्का र २ चौकाको सहयोगमा अविजित ४५ रन जोडे ।

यसअघि ओपनरहरू सुनील धमला र अमित श्रेष्ठले क्रमशः ३६ र ३० रन जोडेर आउट भएका थिए । त्यस्तै दिलिप नाथले पनि २४ रनको पारी खेले । बलिङतर्फ प्रदेश ५ का सन्दीप सुनारले २ तथा लाल अधिकारीले १ विकेट लिए । दीपेन्द्र सिंह ऐरी खेलको म्याच अफ द म्याच चुनिए ।