हत्या गरिएकी वडा सदस्यको अन्त्येष्टि, घटना छानविनको माग गर्दै अधिकारकर्मीद्वारा ज्ञापनपत्र

0
Shares

कालीबहादुर मल्ल, कालिकोट
धारो छोएको आरोपमा गैरदलित महिलाद्वारा कुटपिट गरी हत्या गरिएकी नरहरिनाथ गाउँपालिका–९ निवासी सोही वडाका दलित महिलाका तर्फबाट निर्वाचित वडा सदस्य ४२ वर्षीया मना सार्की आइतीको बुधबार अन्त्येष्टि गरिएको छ।

शनिबार साँझ धारामा पानी लिन गएकी सार्कीलाई उनकै छिमेकी २२ वर्षीया राजीन्दा शाही, १९ वर्र्षीया सृजन शाहीले कुटपिट गर्दा सोही राति उनको ज्यान गएको थियो। कुटाइबाट मृत्यु भएकी वडा सदस्य मृतक सार्कीको कर्णाली नदीमा आफन्तले अन्त्येष्टि गरेका हुन्। मृतकको लाश जिल्ला अस्पतालमा पोस्टमार्टमपछि उनका आफन्तहरूले कर्णाली नदीमा अन्त्येष्टि गरेको मृतका छोरा पदम सार्कीले बताएका छन्।

मृतका छोरा सार्कीले कर्तव्य ज्यान तथा जातीय छुवाछुत कसुर ऐनअन्र्तगत जाहेरी दिएपछि घटनामा संलग्न भएको आरोपमा अनुसन्धानका लागि राजिन्दा र सृजना शाहीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ।

घटनाका विषयमा जिल्ला स्थित स्थानीय जनप्रतिनीधि दलित अधिकार तथा मानव अधिकारवादी संस्था, पत्रकार नागरिक समाजले प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमलाई घटनाको सत्यतथ्य छानबिन र घटनाको दोषीलाई कानुनी कारबाहीको मागसमेत गरेका छन्।

तिलागुफा नगरपालिका उपप्रमुख दन्ता नेपाली, नरहरिनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर विष्ट नेपाल राष्ट्रिय दलित कल्याण समाजका जया विक, नेपाल पत्रकार महासंघका तुलाराम पाण्डे, इन्सेक जिल्ला प्रतिनिधिलगायतका व्यक्तिहरूले हस्ताक्षर गरेको ज्ञापनपत्रमा मना सार्की हत्याकाण्डको उच्च स्तरीय छानबिन समिति गठन गरि स्थलगत अध्यायन सहितको छानबिन समिति गठन गर्न माग गरेका छन्।

यस्तै दोषीलाई सर्वस्व सहित जन्म कैद, जातीय विभेदका कारण दलित महिला जनप्रतिनिधिको हत्या गरिएकोले सहिद घोषणा गर्नु पर्ने, पीडित पक्षलाई उचित न्यायसहित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ।