एक सय दिन उपलब्धिपूर्ण: गृहमन्त्री बादल

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
गृहमन्त्री रामबहादुर थापाले आफूले मन्त्रालयमा कार्यभार सम्हालेको एक सय दिनमा उपलब्धिपूर्ण काम गरेको भन्दै यसबाट जनताले राहत महशुस गरेको बताउनुभएको छ।
बुधबार गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले यातायातसम्बद्ध समितिको दर्ता र नवीकरण रोक्ने निर्णय गरी लामो समयदेखि यातायातको क्षेत्रमा रहेको सिन्डिकेट अन्त्य गर्ने, ३३ किलो सुन काण्डमा छानबिन समितिमार्फत तस्करीको जालो तोड्न सफल भएको तथा वैदेशिक रोजगारको ठगीमा संलग्न ठूलो गिरोह पक्राउ परेको जस्ता कार्यहरू यो अवधिमा गरिएको जानकारी दिनुभयो।

निर्माणका कार्यमा ढिलासुस्ती गर्ने तथा कमसल काम गर्ने ठेकेदारलाई भौतिक पूर्वाधार मन्त्रालय, शहरी विकास मन्त्रालयलगायतका नियकासँगको समन्वयमा कारबाही अघि बढाइएको उहाँले बताउनुभयो। जतिसुकै शक्तिशाली ठेकेदार भए पनि उसलाई कारबाहीको दायरामा ल्याएर छोड्ने गृहमन्त्रीको भनाइ छ।

यस्तै सुन तस्करी प्रकरणमा अब ठूला कारोबारी पनि पक्राउ पर्ने संकेत गर्दै उहाँले भन्नुभयो– ‘सुन तस्करीका भुरा माछा र मझौला माछा पक्राउ परेका छन्, अब ठूला माछा पनि पक्राउ पर्दैछन्।’ सरकारले लिएको विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न भ्रष्टाचार, तस्करी, अनियमितताको जरैदेखि अन्त्य गर्ने अभियानमा गृहले सक्रियरुपमा काम गरिरहेको उहाँको भनाइ छ।

उहाँले भन्नुभयो– ‘सुशासन कायम गर्न विद्यमान तस्करी, अपराधिक घटना र गतिविधि निस्तेज गर्ने लक्ष्यसहित ८२ बुँदे गृह प्रशासन सुधार योजना बनाउनुका साथै ३७ बुँदे निर्देशन सबै जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ। सोहीअनुसार कार्य अघि बढिरहेका छन्।’ यस्तै मदिरा नियन्त्रण र लागूऔषध निषेध अभियानलाई पनि मन्त्रालयले अभियनाको रुपमा लैजान लागेको उहाँले जानकारी दिनुभयो।

ट्राफिक व्यवस्थापनको कार्य प्रारम्भ भएको, ७ वटै प्रदेशमा प्रादेशिक सुरक्षा गोष्ठि सम्पन्न गरिएको, लामो समयदेखि रोकिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको सरुवा , बढुवा नियमित गरिएको, विदा कटौती तथा सरकारी सवारी साधनको दुरुपयोग रोक्नेजस्ता कार्यलाई यो सय दिनको आफ्नो उपलब्धिको रुपमा गृहमन्त्री थापाले लिनुभएको छ।

आन्तरिक सुरक्षा ऐन २०७५, नागरिकता ऐनको संशोधन, परिचयपत्र व्यवस्थापन ऐन, सामाजिक सुधार ऐनलगायतका महŒवपूर्ण ऐन सहमतिका लागि कानुन मन्त्रालय पठाइएको तथा संघीय प्रहरी ऐनको मस्यौदा अन्तिम चरणमा रहेको गृहमन्त्रालयले जनाएको छ।

केहीले कम्युनिस्टको नाममा तथा केहीले जातीयता, क्षेत्रीयता र धर्मका नाममा संविधानविरोधी तथा अस्थिरता निम्ताउने गतिविधि गरिरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न गृह मन्त्रालय प्रतिबद्ध रहेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले बताउनुभयो।