गौरिकाले जितिन् ८ स्वर्ण

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
गौरिका सिंह २२औं खुला राष्ट्रिय पौडी प्रतियोगितामा ८ स्वर्ण हात पार्न सफल भएकी छन्। उनले महिला २ सय मिटर फ्रिस्टाइल, १ सय मिटर बटरफ्लाई, १ सय मिटर ब्याकस्ट्रोक, ५० मिटर फ्रिस्टाइल, २ सय मिटर आईएम, १ सय मिटर फ्रिस्टाइल, ५० मिटर बटरफ्लाई र ५० मिटर ब्याकस्ट्रोकमा पदक हात पारेकी हुन्। लिंकन स्कुलको छोटो दूरी (सर्ट कोर्स २५ मिटरको पुल) मा भएको प्रतियोगिताको २ सय मिटर फ्रिस्टायमा सेनाकी गौरिकाले २ मिनेट ०९ दशमलव १९ सेकेन्डमा दूरी पूरा गरिन्। दोस्रो स्थानमा लिङ्कनकी टिशा शाक्य र तेस्रो स्थानमा इज्जी मर्फी रहिन्।

यस्तै १ सय मिटर बटरफ्लाईमा गौरिकाले १ मिनेट ८ दशमलव ६३ सेकेन्डका साथ स्वर्ण पाइन्। सेनाकै डुवाना लामाले रजत र इज्जी मर्फीले कांस्य प्राप्त गरे। १ सय मिटर ब्याकस्ट्रोकतर्फ उनले १ मिनेट ९ दशमलव ३० सेकेन्डका साथ लिङ्कनकी इज्जी मर्फीलाई पछि पारिन्। तेस्रो स्थानमा इज्जी पावेल रहिन्। गौरिकाले ५० मिटर फ्रिस्टाइलमा २७ दशमलव ९५ सेकेन्डमा स्वर्ण हात पारिन्। टिशा शाक्य र इज्जी मर्फीले रजत र कांस्य पाए।

२ सय मिटर आईएममा २ मिनेट ३२ दशमलव ५१ सेकेन्डका साथ गौरिकाले स्वर्ण प्राप्त गर्दा सेनाकै डुवाना लामाले रजत र लिङ्कनकी टिशा शाक्ले कांस्य हासिल गरे। १ सय मिटर फ्रिस्टाइलमा पनि उनले ५९ दशमलव ९१ सेकेन्डका साथ स्वर्ण प्राप्त गर्दा लिङ्कनका टिशा शाक्य रजत र इज्जी मर्फी कांस्यमै सीमित भए। ५० मिटर बटरप्mलाईमा गौरिकाले २९ दशमलव ६२ सेकेन्डका साथ स्वर्ण पाइन्। उक्त दूरीमा लिंकनका इज्जी मर्फी र इज्जी पावेलले रजत र कांस्य पाए। यस्तै गौरिकाले ५० मिटर ब्याकमा ३१ दशमलव ३१ सेकेन्डका साथ स्वर्ण हात पार्दा लिङ्कनका इज्जी मर्फी र निआम पावेलले रजत र कांस्य पाए।

२० स्वर्ण पदकका लागि भएको प्रतियोगिताको अन्य खेलमा १ सय मिटरमा सेनाकी डुवाना लामाले १ मिनेट २० दशमलव ५८ सेकेन्डमा स्वर्ण पाइन्। उक्त विधामा टिशा शाक्यले रजत र निमाह पावेलले कांस्य पाए। यस्तै डुवानाले ५० मिटर ब्रेस्टमा पनि स्वण पाइन्। उक्त विधामा लिङ्कनका टिशा शाक्य र निमाह पावेलले रजत र कांस्य पाए। पुरुषको २ सय मिटर आईएममा सेनाका ओलम्पियन शिरीष गुरुङले स्वर्ण प्राप्त गरे। यस्तै शिरीषले ५०, १ सय र २ सय मिटर फ्रिस्टाइलमा पनि स्वर्ण हासिल गरे। उनले आईएममा २ मिनेट २६ दशमलव १७ सेकेन्डमा दूरी पूरा गरे। यस्तै ५० मिटर फ्रिमा २५ दशमलव ९५ सेकेन्ड, १ सय मिटर फ्रिस्टाइलमा ५७ दशमलव ०३ सेकेन्ड र २ सय मिटरमा २ मिनेट १४ दशमलव ६८ सेकेन्डका साथ दूरी पूरा गरेका थिए।

यस्तै युलेन्सका अनुभव सुब्बाले १ सय मिटर बटरप्mलाईमा स्वर्ण पाए। उनले उक्त दूरी १ मिनेट १ दशमलव ७६ सेकेन्डमा पूरा गरे। अनुभवले ५० मिटर बटरप्mलाईमा पनि २७ दशमलव ९७ सेकेन्डका साथ स्वर्ण हात पारे। जेम्स स्कुलका शुभमले १०० मिटर ब्रेस्ट स्टोकमा १ मिनेट ८ दशमलव ९४ सेकेन्डमा साथ स्वर्ण हात पारे। यस्तै शुभमले ५० मिटरमा पनि स्वर्ण प्राप्त गरे। उनले उक्त दूरी ३२ दशमलव ०१ सेकेन्डका साथ पूरा गरेका थिए। ५० मिटर ब्याकमा लिंकनका जराह बड्ले ३३ दशमलव ५६ सेकेन्डमा साथ र प्रशान्त राज जोशीले १ सय मिटर ब्याकस्ट्रोकमा १ मिनेट ११ दशमलव ५३ सेकेन्डका साथ स्वर्ण आफ्नो बनाए।

इन्डोनेसियामा आयोजना हुने १८औं एयिसन प्रतियोगिताका लागि छनोट प्रतियोगितासमेत रहेको प्रतियोगिताबाट फिना अंकका आधारमा महिलातर्फ गौरिका सिंह, टिशा शाक्य तथा पुरुषतर्फ शुभम श्रेष्ठ र शिरीष गुरुङ छनोट हुन सफल भए। वैकल्पिक खेलाडीका रूपमा महिलातर्फ डुवाना लामा र पुरुषतर्फ अनुभव सुब्बा छनोट भए। गौरिकाले ६ सय ३० र टिशाले ५ सय ७ अंक पाए। यस्तै शुभमले ५ सय २४ र शिरीषले ४ सय ८९ अंक जोडेका छन्। वैकल्पिक खेलाडीमा रहेका डुवानाले ४ सय ६५ र अनुभवले ४ सय ८६ अंक प्राप्त गरे।