सेरेनाले फ्रेन्च ओपन छाडिन्

0
Shares

पेरिस, (एजेन्सी)
तेस्रो चरणसम्म सानदार खेल देखाएर फ्रेन्च ओपन उपाधिको दाबेदारीमा सम्मिलित भएकी सेरेना विलियम्स जारी प्रतियोगिताबाट किनारा लागेकी छन्। मारिया सारापोभाविरुद्ध हुने अन्तिम १६ को खेल खेल्नुअघि नै सेरेनाले चोटको कारण प्रतियोगिता परित्याग गरेकी हुन्। २३ ग्रान्डस्लाम उपाधि विजेता सेरेना पहिलो बच्चा जन्माएर पुनः खेलमा फर्केकी हुन्। तीन खेल जितेर उनले आफू लयमा भएको पनि प्रमाणित गरिन्। तर बहुप्रतिक्षित खेल हेर्नका लागि तयारीमा लागेका दर्शकलाई भने यो समाचारले निरास तुल्याएको पेरिसको मिडियाले जनाएको छ।

३६ वर्षीया अमेरिकी खेलाडीले शनिबारको खेलमै समस्या भएको भन्दै बताइन्– ‘दायाँ मांसपेशीमा समस्या भएको छ। मैले सर्भ गर्न सकिनँ। मैले यसको स्क्यान गर्न लागेकी छु। के भएको थाहा नभएसम्म मैले विम्बल्डनबारे केही निर्णय लिन सकिँदैन।’सेरेनाले आइतबार पनि दिदी भेनसँग डबल्स म्याच खेलेकी थिइन्। उनले सारापोभासँग खेल्ने म्याचअघि नै फिट हुन कोसिस गरेको बताएकी थिइन्। उनले भनिन्– ‘मैले टेप लगाएँ र म्याच खेल्न कोसिस गरें। सर्भ गर्दा शारीरिक रूपमा सकिएन। खेल्न कठिन भएको छ।

यस्तो चोट मलाई जीवनमा कहिल्यै लागेको थिएन। मलाई थाहा भएन कसरी यसको म्यानेज गरूँ।
सेरेनाले पेरिसमा मंगलबार एमआरआई स्क्यान गर्ने पनि बताइन्। उनले चोट ठिक नभएसम्म फ्रान्सको राजधानीमै बस्नेछिन्।

योसँगै रुसकी खेलाडी सारापोभा क्वार्टरफाइनल पुगेकी छिन्। उनले अन्तिम आठमा स्पेनीकी २०१६ की च्याम्पियन गार्बिन मुगुरुजा वा युक्रेनकी लेसिया टिसुरेन्कोसँग खेल्नेछिन्। सेरेनाले प्रतियोगिता छाडेपछि सारापोभा र उनको खेल हेर्ने दर्शकका लागि निरास भएको पनि आयोजकले जनाएको छ। तेस्रो चरणमा सेरेनाले गर्जेसलाई र सारापोभाले चेक खेलाडी कारोलीना पिलीस्कोभालाई हराएपछि दुई पूर्वविजेताले रोलान्ड ग्यारोसमा खेल्ने पक्का गरेका थिए।

सेरेना हालै सेप्टेम्बरमा ओलम्पिया छोरी जन्माएर कोर्टमा फर्केकी हुन्। जबकि सारापोभा १५ महिनाको डोपिङ प्रतिबन्धपछि कोर्टमा पुनरागमन भएकी हुन्। उनीहरूले सन् २००३ मा पहिलो पटक एक अर्कासँग खेलेका थिए। सेरेनाले सारापोभाविरुद्ध २१ भेटमा १९ खेलमा जित हात पारेकी छिन्। ती दुई हार नै सेरेनाले सन् २००४ मा बेहोरेकी थिइन्। जसमा विम्बल्डन फाइनलसमेत थियो।