ज्वालामुखी विस्फोटमा २५को मृत्यु

0
Shares

ग्वाटेमाला सिटी, (एजेन्सी)
ग्वाटेमालाको फ्युगो ज्वालामुखी विस्फोटनका कारण सोमबार २५ जनाको ज्यान जानुका साथै अन्य सयौं घाइते भएको सरकारी अधिकारीहरूले बताएका छन्।

राजधानी ग्वाटेमाला सिटीदेखि करिब ४० किमि दक्षिण पश्चिममा पर्ने सो ज्वालामुखी पहाडबाट ढुंगा, कालो धुँवाको मुस्लो र खरानी आकाशतर्फ फैलिइरहेको छ। राष्ट्रिय दैवी प्रकोप व्यवस्थापन निकायले एल राडो गाउँमा बगिरहेको लाभाको नदीले त्यहाँका घरहरूलाई क्षति पार्नुका साथै मानिसहरूलाई पोलेको छ। खरानीको कारण ग्वाटेमाला सिटीस्थित ला अरोरा विमानस्थल बन्द गरिएको छ। राष्ट्रपति जिम्मी मोरालेसले राष्ट्रिय संकटकाल घोषणा गर्दै कम्तीमा तीन स्थानमा ठूलो क्षति पुगेको बताएका छन्।

स्थानीय विशेषज्ञहरूले सन् १९७४ यताकै यो सबैभन्दा ठूलो ज्वालामुखी विस्फोटन भएको दाबी गरेका छन्। मारिनेहरूमा थुपै्र बालबालिका पनि रहेको बताइएको छ। ग्वाटेमालको सरकारले करिब १७ लाख मानिस यस दुर्घटनाबाट प्रभावित भएको जनाएको छ।