सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान



गणेश घिमिरे, इलाम

इलाम नगरपालिकास्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नागरिक उड्डयन प्राधिकरणले सोमबार तारा एयरको विमानबाट उडान परीक्षण गरेको छ। १८ सिट क्षमताको विमान अवतरण गरेपश्चात तारा एयरका मुख्य पाइलट प्रभाकर घिमिरेले धावनमार्ग उडानका लागि योग्य रहेको र परीक्षण उडान सफल भएको प्रतिक्रिया दिनुभयो।

‘रनवे कम्प्याक्सनको काम र रनवे टेक अफको काम बाँकी छ,’ घिमिरेले भन्नुभयो–‘ल्यान्डिङ हुन सक्ने अप्ठयारो काम क्लियर गर्न बाँकी छ।’ ‘वरपर ल्यान्ड गर्न नसकेको अवस्थामा सिधा स्ट्याब्रोच पनि गर्न सकिने अवस्था छ,’ पाइटल घिमिरे भन्नुभयो– ‘त्यसको पनि परीक्षण हामीले गरेका छौं।’ घिमिरेका अनुसार ल्यान्ड गर्दा रनवे अफ स्लोप भएकाले पानी पर्दा माटो बगाएर लाने समस्या छ। जसले गर्दा टेकअफ र ल्यान्डिङमा समस्या आउन सक्ने भएकाले यो समस्या चाँडो समाधान गर्नुपर्छ। काठमाडौंबाट उडान गरेको एक घन्टा २ मिनेटमा अवतरण गरेको विमानका सहचालक सञ्जिव श्रेष्ठले बताउनुभयो।

उहाँका अनुसार विमान अवतरणमा कुनै समस्या भएन। विमानस्थलमा धावनमार्गको सबग्रेड कार्य र लेभल परीक्षणको काम सकिएसंँगै तारा एयरको विमानले परीक्षण उडान गरेको हो। सातसय मिटर लम्बाई र ६० मिटर चौडाइ रहेको धावनमार्गसहितको विमानस्थलको शिलान्यास २०६८ सालमा गरिएको थियो।

यो विमानस्थलमा साना जहाज उड्न भर्न सक्नेछन्। विमानस्थलको धावनमार्ग अस्थाई रूपमा तयार भएकाले समस्या थपिने गरेको छ। विमानस्थल भिरालो र माटो मात्र भएकाले पानीले निर्माण प्रभावित हुने गरेको छ। स्थानीयस्तरमा रकम जुटाएर खरिद गरिएको तीनसय २६ रोपनी जमिनमा विमानस्थल निर्माणको काम तिव्र गतिमा भइरहेको छ। छ वर्षअघि निर्माण थालिएको विमानस्थलका लागि पर्याप्त बजेट नहँुदा कामले गति लिन सकेको छैन। विमानस्थलको निर्माणका लागि अझै ३५ करोड रुपियाँ बजेट आवश्यक पर्ने र हालसम्म १८ करोड रुपियाँ खर्च भइसकेको प्राधिकरणका इन्जिनियर पुष्प न्यौपानेले बताउनुभयो।

‘परीक्षण उडान सफल भएको छ,’ इन्जिनियर न्यौपानेले भन्नुभयो–‘अब ग्राबेलिङ तथा कालेपत्रे गरेर आउँदो वर्षसम्ममा नियमित उडान गर्न सकिनेछ।’

प्रतिक्रिया दिनुहोस्