गुणस्तरहिन काम गर्ने ठेकेदार पक्राउ



नेपाल समाचारपत्र
विराटनगर
गुणस्तरहिन काम गरेको भन्दै विराटनगरबाट सडक निर्माणका ठेकेदार पक्षका प्रोजेक्ट म्यानेजरसहित सडक विभागका सुपरभाइजर पक्राउ परेका छन्। मापदण्डविपरीत नाला जोडाईको काम गरेको भन्दै विराटनगरको जनआन्दोलनचोकबाट टुण्डीरमण निर्माण सेवाका प्रोजेक्ट म्यानेजर रवि पन्तसहित ३ जनालाई पक्राउ गरिएको हो।

पन्तसंँगै कन्ट्रयाक्टरका सुपरभाइजर विनय शाह र सडक विभागका सुपरभाइजर देवराज बराललाई पक्राउ गरिएको हो। निर्धारित मापदण्ड उल्लंघन गर्दै नाला जोडाईको काम गरिरहेको भनेर सर्वसाधारणले सुचना दिएपछि अनुगमनमा पुग्नुभएका विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको निर्देशनमा तीनैजनालाई पक्राउ गरिएको हो। पटकपटक चेतावनी दिंँदा समेत गुणस्तरहिन काम नरोकिएपछि संलग्न व्यक्तिलाई पक्राउ गर्न थालिएको प्रमुख पराजुलीले जानकारी दिनुभयो।


आवश्यक सिमेन्ट नमिसाई बालुवाकै भरमा जोडाई गरिरहेको पाइपछि महानगरप्रमुख पराजुलीले जनआन्दोलनचोकमा ६ लेन सडकको पश्चिमतर्फ निर्माण हँुंदै गरेको नाला भत्काउन लगाउनुभएको छ। विकासको काममा चरम लापरवाही भएको देखिएपछि प्रमुख पराजुलीले त्यसमा संलग्नलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पत्र लेख्नुभएको थियो। सो साइटका ठेकेदार भने कृष्ण बोहोरा हुन्, उनी भने पक्राउ परेका छैनन्। महानगरले टुण्डीरमण निर्माण सेवाका ठेकेदार कृष्ण बोहरा, सोही कम्पनीका मेनेजर रवि पन्त, सुपरभाइजरद्वय सञ्जय रजक, विनय साह र सडक कार्यालयका सुपरभाइजर देवराज बराललाई कारबाहीको सिफारिस गरेको छ।

पत्रको बोधार्थ व्यापारिक मार्ग विस्तार आयोजना सिक्सलेन सडक विभाग इटहरी सुनसरीलाई समेत पठाइएको छ। सम्बन्धित व्यक्ति पक्राउ गरिएपछि सो क्षेत्रको निर्माण कार्य रोकिएको छ। व्यापारिक विस्तार परियोजना (६ लेन) अन्तर्गत विराटनगरदेखि धरानसम्म खण्डखण्डमा विभिन्न ठेकेदारमार्फत सडक विस्तार कार्य भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्