बाँफिकोट गाँउपालिकाले गर्याे शिक्षक दरबन्दी मिलान



वालविकास केन्द्र पनि ४४ वटै बिद्यालयमा दिइने

धनवीर दाहाल, रुकुम ।

शिक्षा क्षेत्रमा सबैको अत्यधिक चासोको बिषय बनेको दरबन्दी मिलानले गति लिन थालेको छ । रुकुम पश्चिमको बाँफिकोट गाँउपालिका दरबन्दी मिलानमा सबै भन्दा पहिलो भएको हो । शिक्षक दरबन्दी मिलान नहुँदा अन्यौल भइरहेको भन्दै चौतर्फी आवाज उठेपछि बाँफिकोट गाँउ शिक्षा समितीले यो बिषय टुंग्याएको हो ।

हाल आधारभुत मानिएको साबिकको प्राथमिक तहको राहत तथा दरबन्दी गरी १२ पहिलेको र गाँउपालिकाले १७ थपेर २९ दरबन्दी पठाउने निर्णय भएको गाँउपालिका शिक्षा संयोजक लालसिंह खड्काले नेपालसमाचारपत्रलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार १२ वटा पहिलै भएको र १७ वटा गाँउपालिकाको अनुदानबाट बिद्यालयमा जाने छन् । यसै गरी साविकको निम्न माध्यामिक तहमा २ वटा राहत र १ वटा दरबन्दी गरी ३ दरबन्दी रहेकोमा गाँउपालिकाबाट जाने अनुदान २० वटा थपेर २३ वटा बनाइएको छ ।

यस्तै माध्यामिक तहमा १८ वटा दरबन्दी गाँउपालिकाको अनुदानबाट बिद्यालयमा जाने भएका छन् । २५ वटा वालविकास केन्द्र रहेको बाँफिकोट गाँउपालिकामा यस पटकको बैठकले १९ वटा कोटा अनुदान दिने निर्णय गरेको छ । अव बाँफिकोट गाँउपालिकामा रहेका ४४ वटै बिद्यालयमा वालविकास केन्द्र रहने शिक्षा संयोजक खड्काले बताउनुभयो ।

शिक्षाको क्षेत्रमा व्यापक सुधार गरी गुणस्तरिय शिक्षामा जोड दिनका लागी गाँउपालिकाले पनि कडा निर्देशन जारी गरेको छ । सबै बिद्यालयहरुमा अव शिक्षकको कमी हुन नदिनका लागी पनि गाँउपालिकाले पहल थालेको छ ।

बिद्यार्थी, शिक्षक तथा अभिभावक पनि जिम्मेवार भएर शिक्षा सुधारमा लाग्नुपर्ने गाँउपालिका अध्यक्ष धर्मबहादुर के.सीले बताउनुभयो । गाँउपालिका स्तरको शैक्षिक अवस्था तथा गुणस्तरियतालाई जोड दिँदै आगामी बर्षमा पनि थप कार्यक्रम ल्याइने गाँउपालिकाले अवधारणा अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्