सरकारको नीति तथा कार्यक्रम सोमबार


नेपाल समाचारपत्र
काठमाडौं
सरकारको नीति तथा कार्यक्रम सोमबार प्रस्तुत हुने भएको छ। प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले शुक्रबारको संसद् बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार ४ बजे संघीय संसद्को दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जानकारी दिनुभयो।

सभामुख महराले सांसदहरूलाई पौने ४ सम्म आसन ग्रहण गरिसक्न पनि अनुरोध गर्नुभएको छ। संविधानको धारा ९५ को उपधारा २ बमोजिम राष्ट्रपतिले संघीय संसद्मा सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्न लाग्नुभएको हो।सरकारले आर्थिक वर्ष २०७५÷०७६ को बजेट सार्वजनिक गर्दै छ। संविधानमा नै जेठ १५ गते बजेट प्रस्तुत गर्ने स्पष्ट लेखिएपछि संविधानअनुसार नै त्यसपछिका सरकारले बजेट प्रस्तुत गर्दै आएका छन्।

संसद्को दोस्रो बैठक शुरू हुनु ४ दिनअघि सभामुख महराले सिंहदरबारमा पत्रकार सम्मेलन गरी जेठ १ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन सक्ने सम्भावित सूची भएको जनाउनुभएको थियो।प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको कार्यविधि र राष्ट्रियसभा नियमावली मस्यौदा समितिको कार्यविधिको नियम ३८ मा ‘सरकारको नीति तथा कार्यक्रमसम्बन्धी कार्यविधिँ उल्लेख गरिएको छ। राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि दुवै सदनको बैठक बसेर धन्यवाद प्रस्ताव पारित गरिने छ। यसका लागि प्रतिनिधिसभाको बैठक सोही साँझ साढे ५ बजे बोलाइएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार ४ बजे संघीय संसद्को दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा खगराज अधिकारी, देवेन्द्रराज कँडेल, यशोदा सुवेदी गुरुङ, प्रमोद साह, प्रदीप यादव, छविलाल विश्वकर्मा, ह्दयेश त्रिपाठी, कमला रोका, सञ्जयकुमार गौतम, उमा रेग्मी, दुर्गा पौडेललगायतका सांसदले विशेष समयमा समसामयिक राजनीतिका बारेमा धारणा राखेका थिए।विपक्षी सांसदहरूले नेकपा एमाले र नेकपा माओवादीबीच भएको एकताका लागि बधाई र शुभकामना दिएका थिए। नेपाली कांग्रेसका तर्फबाट बर्दिया १ बाट निर्वाचित सांसद गौतमले पछिल्लो समयमा सरकारको दम्भ अस्वाभाविक भएको आरोप लगाउनुभयो।

सांसदहरूले नागरिकता पाउनमा देखिएको समस्याका साथै बढ्दै गएको हत्या, हिंसा, बलात्कार र अमानवीय घटनाका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।संसद्मा गृहमन्त्री रामबहादुर थापाले ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस् भनी राख्नुभएको प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ। प्रस्तावमाथि सांसद कृष्णभक्त पोखरेलले राख्नुभएको प्रश्नको मन्त्री थापाले जावाफ दिएपछि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको थियो।त्यस्तै राष्ट्रियसभाको शुक्रबारको बैठकमा पनि सांसदहरूले समसामयिक विषयमा धारणा राखेका थिए।

कार्यसूचीमा राष्ट्रियसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि परेका संशोधन प्रस्तावमाथि छलफल गरी प्रतिवेदन माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने भनिए पनि कार्यसूचीबाट हटाइएको सांसद प्रकाश पन्थले जानकारी दिनुभयो। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५ माथि पनि संसद्मा छलफल भएर पास हुन सकेको छैन। राष्ट्रियसभाको बैठक पनि साँझ साढे ५ बजे बोलाइएको छ।