स्वचालित हतियारसहित भारतीय नागरिक पक्राउ


वीरगन्ज, (नेस)
पर्सा प्रहरीले स्वचालित पेस्तोलसहित एक भारतीय नागरिकलाई वीरगन्जबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको मोतिहारी पोडिहार ग्राम–१९ रक्सौल बस्ने २३ वर्षीय अविरञ्जन साह रहेका छन्। उनलाई वीरगन्ज महानगरपालिकाको वडा नम्बर १६ भन्सार रोडबाट पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।

प्रहरीले उनको साथबाट पेस्तोलमा लाग्ने म्यागेजिन एक थान, ९ एमएम गोली एक थान, ७.६५ एमएमको मिस राउन्ड गोली एक थानसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजन लिम्बुले बताए। भारतबाट नेपाल आउँदै गर्दा उनी पक्राउ परेका हुन्।

‘बीआर ०५ एम ९२५४ नम्बरको पहेंलो रंगको हिरो मोटरसाइकलमा चढेर साह नेपाल आउँदै रहेछन्ँ, पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने– ‘चेकजाँचको क्रममा मोटरसाइकलको सिटमुनि पेस्तोल र गोली लुकाएर ल्याउँदै गरेको भेटियो, त्यसैले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरू गरेका छौं।ँ उनलाई शुक्रबार जिल्ला अदालतमा पेस गरिएको र हातहतियार तथा खरखजाना मुद्दा उनीविरुद्ध चलेको ढकालले बताए।