सूर्य नेपाल गल्फ गल्फरलाई मौका र चुनौती


नेपाल समाचारपत्र
काठमाडौं
सूर्य नेपाल प्रालि प्रिमियर गल्फ च्याम्पियनसिप सूर्य नेपाल टुर २०१७–१८ अन्तर्गत अन्तिम र सबैभन्दा ठूलो प्रतियोगिता हो। नेपाली प्रोफेसनल गल्फरहरूले प्रतिक्षा गरिरहेको यसको कुल पुरस्कार राशि १२ लाख रुपियाँ रहेको छ। यसैले यो सिजनकै ठूलो र आकर्षक प्रतियोगितासमेत हो। यही प्रतियोगिताबाट आगामी सिजनको रेन्किङ पनि तय गरिने हुनाले नेपाली प्रोफेसनल गल्फरका लागि यो झनै महŒवपूर्ण छ।

यसैका लागि खेलाडीहरूले तयारी पनि थालिसकेका छन। यो सिजनमा ९ वटा प्रतियोगितामा घरेलु गल्फरबीच प्रतिस्पर्धा चल्यो। तर यो प्रतियोगितामा घरेलु प्रोफेसनल खेलाडीहरूले नयाँ प्रतिद्वन्दीहरूको सामना गर्नुपर्नेछ। ती मध्येका एक हुन् तोरणविक्रम शाही।

नेपाली गल्फर भएर पनि भारतमा तोरणले सन् १९९८ देखि प्रोफेसनल गल्फ खेल्न थालेका छन्। सन् २००७ देखि प्रतिष्ठित प्रोफेसनल गल्फ टुर अफ इन्डिया (पीजीटीआई) मा नेपालको प्रतिनिधित्व गरिरहेका तोरणले पीजीटीआईमा एक दशक खेलिसकेका छन्। सन २००७ मा पाँच प्रतियोगिता खेली पीजीटीआईको यात्रा शुरू गरेका तोरणले त्यसपछि एकै सिजनमा सबैभन्दा बढी १९ प्रतियोगितासम्म खेलेका छन्। निरन्तर ११ सिजन यानि एक दशकमा पीजीटीआईको १ सय ४३ प्रतियोगिता खेलिसके पनि उनले उपाधि हात पार्न सकेका छैनन्।

तोरणको सबैभन्दा उत्कृष्ट प्रदर्शन सन् २००८ को ओएनसी मार्टसमा चौथो स्थान प्राप्त गर्नु नै थियो। भारतमा क्लासिक गल्फ एन्ड कन्ट्री क्लबसँग आवद्ध रहेका उनका लागि आफ्नो देशको गल्फ कोर्स नयाँ भने होइन। गोकर्ण गल्फ क्लबमा उनलाई उपाधि जित्ने अनुभव पनि छ।

नेपालमा निकै थोरै प्रतियोगिता खेले पनि २ वटा प्रतियोगिताको उपाधि जितिसकेका छन् तोरणले। सन २००७ मा उनले करियरकै पहिलो उपाधिको रूपमा कैलाश टी ओपनको उपाधि जितेका थिए। सात वर्षपछि सन २०१४ मा शिवराम श्रेष्ठलाई हराउँदै उनले सूर्य नेपाल गल्फ टुरअन्तर्गत एनपीजीए टुर च्याम्पिएनसिपको उपाधि जितेका थिए।

सधैं राम्रो खेल्ने प्रयास रहने र सक्दो कोशिस गर्ने तोरणको भनाइ छ। उनका अनुसार धेरै गल्फरले राम्रो खेलिरहेका छन्। जसमध्ये नम्बर १ गल्फर शिवराम र भुवन नगरकोटी कडा प्रतिद्वन्द्वी हुने उनको विश्वास छ। उनले पीजीटीआईको नयाँ सिजनको पहिलो प्रतियोगिता दिल्ली एनसिआर गल्फ च्यामपियनसिपमा पाँचौ स्थान प्राप्त गरेका थिए। यो नतिजाको आधारमा पनि तोरणलाई दाबेदार मान्न सकिन्छ। यिनै तोरणलाई यही जेठ ६ गतेदेखि शुरू हुने सूर्य नेपाल प्रिमियर गल्फमा अवसर र चुनौती दुवै रहेको छ।

धनबहादुर थापाका लागि कोर्समा यस वर्षको प्रदर्शन उतारचढावले भरिपूर्ण र≈यो। टुरका नौ प्रतियोगितामध्ये धनले एउटामा उपाधि जित्दै तीन प्रतियोगितामा शीर्ष ६ भित्र परे। धनले करियरको तेस्रो उपाधि पोखराको हिमालयन गल्फ कोर्समा जिते। उनले नेपाल नम्बर १ शिवराम श्रेष्ठलाई प्लेअफमा पराजित गर्दै सूर्य नेपाल वेस्टर्न ओपन हात पारेका थिए।

धनसामु वरियताको शीर्ष ३ मा स्थान बनाउने अवसर पनि छ। उनले टुरको शुरूआती दुई प्रतियोगितामा राम्रो शुरूआत लिन सकेनन्। उनले तेस्रो प्रतियोगितामा पुनरागमन गर्दै सूर्य नेपाल च्यालेन्जको उपविजेता भए। त्यसपछि सूर्य नेपाल इस्टर्न ओपनमा औसत प्रदर्शन गरेका धनले सूर्य नेपाल म्याच प्लेमा भने पहिलो चरणनै पार गर्न सकेनन्।

पाइलट गल्फर एनपीजीए क्लासिकको शीर्ष ५ मा अटाएका धनले आफ्नो लयलाई कायम राख्दै वेस्टर्न ओपनमा सिजनको पहिलो उपाधि हात पारे। उपाधि हात पारेलगत्तै काठमाडौं ओपनमा भने उनले शीर्ष ५ मा स्थान बनाउन सकेनन्। यद्यपि पछिल्लो प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपमा भने उनले पाँचौ स्थान हासिल गरे।

‘धनले टुरको अन्तिम प्रतियोगिताका लागि आफ्नो तयारी थालिसकेका छन्। मैंले जारी सिजन समग्रमा राम्रो प्रदर्शन गरेको छु। अर्को सिजनका लागि शीर्ष ३ वरियतामा स्थान बनाउने अवसर छ। त्यसका लागि सक्दो प्रयास गर्नेछुु’ –उनले भने।

आफ्नो ड्राइभमा परिवर्तन गरेका धनले अन्तिम प्रतियोगिताको अगाडि तयारी राम्रो गरिरहेका छन्।‘सिजनको शुरूआतमा मैले स्विङ परिवर्तन गरेको थिएँ र त्यो सफल भयो। अन्तिम प्रतियोगितामा निकै कडा प्रतिस्पर्धा हुने अनुमान गरेको छु। शिवराम श्रेष्ठ, भुवन नगरकोटी र सञ्जय लामा सबै उपाधि जित्ने लक्ष्य राखेर खेल्दै छन्।’ –उनले टुंग्याए।