नेपाल नयाँ मोडमा अघि बढ्यो : प्रधानमन्त्री ओली


नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री एवं नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल नयाँ मोडमा अघि बढेको बताउनुभएको छ।

२५औं मदन आश्रित स्मृति दिवसका अवसरमा बिहीबार बल्खुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो।

मदन भण्डारी २०औं शताब्दीलाई सबभन्दा बढी प्रभावित पार्न सक्ने राजनीतिज्ञ भएको प्रधानमन्त्रीको भनाइ छ। ‘ तर मदनका विचारले २१औं शताब्दीलाई झन् बढी प्रभावित गर्नेछन्’, प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘२५ वर्षअघि मदनले कम्युनिस्ट एकताका नाममा खनेको गोरेटो आजैबाट छ लेनको सडक बन्दैछ।’ प्रधानमन्त्री ओलीले आज अपरान्हसम्ममा नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र) एक भएर निर्वाचन आयोगमा दर्ता हुने बताउनुभएको छ।

प्रधानमन्त्री ओलीले एमाले माओवादी एकता कबल दुई पार्टीको मिलनमात्र नभएको बताउनुभएको छ। यसले नेपालमा एउटा राजनीतिक, सामाजिक, आर्थिकरुपमा ठूलो उपलब्धि हाँसिल गर्ने बताउनुभयो। ‘हाम्रो एकतालाई केबल दुई पार्टीको मिलनका रुपमा मात्र हेरिनु हुँदैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘यो एकता जसरी दुईवटा साना अणुको मिश्रण हुँदा शक्तिशाली बिस्फोटक पदार्थ बन्दछ। त्यस्तै हो यो एकता।’

पार्टी एकता भएपछि नेपालमा इतिहासमै सबभन्दा बढी जनमत भएको पार्टी र सरकार हुने प्रधानमन्त्री ओलीको भनाइ छ। प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस अब प्रतिस्पर्धी पार्टी नभएर सहयोगी पार्टीमात्र भएको बताउनुभयो। ‘नेपाली कांग्रेस अब प्रतिस्पर्धी हालतमा रहेन। यो त केबल सहयोगी पार्टीको रुपमा र≈यो। देश विकासमा यसलाई हामी सँगै लिएर अगाडि बढ्छौं ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो।

समृद्ध नेपाल सुखी नेपालीको चाहना पूरा गर्न पार्टी एकताले थप बल पुग्ने प्रधानमन्त्री ओलीको भनाइ छ। कम्युनिस्टहरू जुट्न हैन फूट्नमात्र जान्दछन् भन्ने भ्रम आजैबाट हटेको प्रधानमन्त्री ओलीको भनाइ छ। ‘इतिहासले हामीलाई दिएको गहन अभिभारा शालिनतापूर्वक पूरा गर्छौं’, प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘मदन–आश्रितले देख्नु भएको सपना हामीले साकार पारेर छोड्छौं।’

कार्यक्रममा प्रधानमन्त्री ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाललगायत दुवै पार्टीका नेता कार्यकर्ताहरूले मदन–आश्रितको तस्वीरमा माल्यार्पण गर्नुभएको थियो।