हुम्लामा मकालुको जहाज दुर्घटना चालक दलका दुवैको मृत्यु


अर्जुन बोहरा, हुम्ला
सुर्खेतबाट हुम्लाको सिमकोटका लागि बुधबार बिहान ६ बजेर १२ मिनेटमा उडेको मकालु एयरको नाइन एनएजेयूको जहाज खार्पुनाथको एक्लोखर्कमा दुर्घटना भएको छ।

दुर्घटनामा परी चालक दलका सदस्य किरण भट्टराई र सहचालक आदित्यनाथ नेपालीको घटनास्थलमै मृत्यु भएको छ। खराब मौसमका कारण सिमकोट विमानस्थलको धावन मार्गमा नपुग्दै दुर्घटना भएको सिमकोट विमानस्थल प्रमुख गौरीसिंह शाहले बताउनुभयो।

जहाज १२ हजार ८ सय फिटभन्दा अग्लो पहाडमा गएर ठोक्किँदा चालक दलका दुवै सदस्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन श्रेष्ठले बताउनुभयो। हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली र राया गाउँको बीचमा पर्ने बाहुन खर्कको पहाडमा ठोक्किएर दुर्घटना भएको सिमकोट विमानस्थलका प्रमुख शाहले बताउनुभयो।


खार्पुनाथ थाली गाउँका भेडा गोठाला लामा रावले आफ्नो भेडा ल्याउने क्रममा एक्लोखर्क भन्ने ठाउँमा जहाज अवतरण गर्न खोज्दा एक्कासि दुर्घटना भएको बताउनुभयो। रावले घटनापछि बचाउन जाऊँ भन्दा आफैं बेहोस भएको र पछि साथीहरू आएपछि आफ्नै नातेदारलाई फोन गरेको बताउनुभयो।
सुर्खेतबाट सिमिकोटका लागि कार्गोको सामान ढुवानी गर्न उडान भरेको जहाज बिहान खराब मौसमकै कारणले दुर्घटना भएको हो। मृतक दुवै जनाको शव सुर्खेतमा ल्याइएकोे छ। सिमकोटदेखि दुर्घटना स्थलसम्म १०.७ माइल टाढा पर्छ।

जहाज पहाडमा ठोक्किएर ४ टुक्रा परेको उद्धारमा खटिएका सिमिकोट विमानस्थलका सुरक्षाकर्मी यमबहादुर घर्तीले बताउनुभयो। मृतक दुवै जनाको शव हेलिकोप्टरबाट काठमाडौं सिमिकोट विमानस्थल स्रोतले बताएको छ।