नियमावली विवाद अझै टुंगिएन


काठमाडौं, (नेस)
प्रतिनिधिसभाले बैठक सञ्चालनका लागि बनाउनुपर्ने नियमावलीमा विवाद हुँदा अझै टुंगो लगाउन सकेको छैन।

प्रतिनिधिसभामा कृष्णभक्त पोखरेलको अध्यक्षतामा १३ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरिएको थियो। मस्यौदामाथि दफाबार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची मंगलबार नै प्रकाशित भइसकेको थियो तर बुधबारको कार्यसूचीमा राखिएन। बैठक ११ बजे बोलाइए पनि निकै ढिलो गरी शुरू भएको थियो।

दलहरूबीच सहमति नजुटेपछि नियमावली बुधबारको बैठकमा प्रस्तुत भएन। फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विवादले नियमावली अलमलमा परेको छ।

प्रतिवेदनमा एकल र संयुक्त गरी ६ वटा संशोधन परेका छन्। नियमावली मस्यौदा समितिको प्रतिवेदन प्रतिनिधिसभाको दोस्रो बैठक बसेको शुरूको दिन वैशाख २३ गते आइतबार संसद्मा प्रस्तुत भएको थियो।
बुधबारको बैठकमा सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ प्रस्तुत भएको छ। संसद्मा विशेष समयमा सांसदहरूले धारणा राखेका थिए। संसद्को अर्को बैठक शुक्रबार दिनको १ बजे बस्दै छ।