लुट फिल्मका निर्माता नै नक्कली नोटका कारोबारी


नेपाल समाचारपत्र
काठमाडौं
प्रहरीले २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपियाँसहित ६ जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ। नक्कली नोट बनाउने मुख्य योजनाकार चलचित्र निर्माता तथा वितरक माधव वाग्लेसहित ६ जनालाई पक्राउ गरेको छ।

पक्राउ परेका वाग्लेसहित ६ जनाले राजधानीका बजारमा उक्त नक्कली नोट सप्लाई गर्ने गरेको प्रहरीले जानकारी दिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले नक्कली नोटको अवैध कारोबार भइरहेको सूचना आएपछि छापा मार्दा उक्त ¥याकेट फेला परेको जानकारी दिनुभयो।

प्रहरीले लुट, लुट–२, छड्के, रेशम फिलिलीलगायतका चलचित्रका निर्माता तथा वितरक वाग्लेसहित महेन्द्र बोगटी, सुजित तामाङ, साजन तामाङ, प्रकाश सुवेदी र विकेश नापितलाई पक्राउ गरेको छ।
उनीहरूलाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको छ। प्रहरीले एउटा खाजाघरका सञ्चालकले दिएको बयानका आधारमा उक्त रकमसहित ६ जनालाई पक्राउ गरेको हो। गोंगबुमा रहेको सुमधुर खाजाघरमा खाजा खाएका महेन्द्र बोगटीले नक्कली नोट दिएर हिँड्न खोजेपछि खाजाघरका सञ्चालकले बोगटीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। प्रहरीले पक्राउ परेका बोगटीको कोठाबाट १ लाख २० हजार बरामद गरेपछि सोधपुछ गर्दै जाँदा प्रिन्सेस मुभिज प्रालिका सञ्चालक वाग्लेको चारढुंगे नक्सालस्थित कोठामा छापा मार्दा १ हजार दरका २ करोड ५२ लाख रुपियाँ बरामद गरेको थियो।


प्रहरीले वाग्लेको कोठाबाट उक्त रकम बरामद गरेपछि प्रहरीले ललितपुर लुभुका सुजित तामाङ र साजन तामाङलाई ७ लाख ४३ हजार नक्कली नेपाली नोटसहित पक्राउ गरेको उहाँले जानकारी दिनुभयो। प्रहरीले नक्कली नोट छाप्ने २ प्रिन्टिङ प्रेसका सञ्चालकको प्रेसमा समेत छापा मारेको थियो। बागबजारस्थित नवज्योति प्रिन्टिङ प्रेसका सञ्चालक प्रकाश सुवेदी र भोलेबाबा प्रिन्टिङ प्रेसका सञ्चालक विकेश नापितलाई समेत नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो।

चलचित्र निर्माता वाग्लेको डिजाइनमा सुवेदीले नापितलाई उक्त रकम छाप्न दिएका थिए। प्रहरीले बरामद गरेको नक्कली नेपाली रुपियाँ नापितको भोलेबाबा प्रेसमा छापिएको थियो। उनीहरूले छापिएको उक्त रकम विभिन्न होटलमा तिर्ने, राजधानीका यौनकर्मीलाई दिने, लागूऔषध कारोबारीलाई समेत सक्कलीमा नक्कली नोट मिसाएर दिने गरेको एसएसपी पोखरेलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

निर्माता वाग्लेले काठमाडौंका केही छापाखानालाई ‘फिल्म निर्माणका लागि’ नक्कली नोट चाहिएको भन्दै १ हजार दरका नोट छाप्ने अर्डर दिने गरेको र उक्त नक्कली रूपियाँ आफ्नै स्टाफमार्फत बजारमा पठाउने गरेको अनुसन्धानको क्रममा पत्ता लागेको पनि एसएसपी पोखरेलले जानकारी दिनुभयो।
यसैबीच नक्कली नोटको कसुरमा प्रहरी नियन्त्रणमा लिएको सम्बन्धमा नेपाल चलचित्र निर्माता संघले विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

वाग्लेलाई कानुन सम्मत अविलम्ब रिहा गर्न संघले माग गर्दै चलचित्र छायांकनका लागि सिनेमाको कथावस्तुअनुसार आवश्यक पर्ने नेपाली नक्कली रुपियाँ छपाइ गर्ने प्रचलन रहेको जनाएको छ। यसअघि समेत यस्तो चलन रहिआएको संघका महासचिव रोज राणाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।