काठमाडौंका ८० रोपनी जग्गा संरक्षण गरिँदै


ईश्वरराज ढकाल, काठमाडौं
काठमाडौं महानगरपालिकाले करिब ८० रोपनी खुला क्षेत्र संरक्षण गर्ने योजना बनाएको छ। संरक्षण गर्ने तयारी गरिएका ती क्षेत्रमा पहिलो चरणमा वृक्षरोपण गरिने भएको छ।

वडा कार्यालयद्वारा पहिचान गरिएका खुला क्षेत्रमा व्यवस्थित पार्क निर्माण गर्न कामपा वातावरण विभागले वृक्षरोपणको तयारी गरेको हो।

कामपा, स्थानीय जनता, गुठी संस्थान र विभिन्न निकायले अतिक्रमण गरेका खुलाक्षेत्र पहिचान गरी ती क्षेत्रमा तत्काल पार्क व्यवस्थापन गर्न सबै वडाध्यक्षलाई निर्देशन दिइनेछ।

कामपाका मेयर विद्यासुन्दर शाक्यले ती जग्गामा कुनै संरचना नबनाई पार्कका विस्तार गरिने जानकारी दिनुभयो। विभागका प्रमुख हरि कुँवरले चालू आवदेखि नै खाली क्षेत्रमा वृक्षरोपण गरी पार्क बनाइने स्विकार्नुभयो।

कामपाले सबैभन्दा बढी ६ वडामा अतिक्रमण गरिएका जग्गा आफ्नो नाममा लिएको छ। तीमध्ये विभागले पहिलोचरणमा महांकाल, लाखेचौर, सिमलटार, पहेंलो पुल, धोवी खोला, स्वयम्भूको भगवानपाउस्थित तरकारी बजार, भुइँखेल, पलेस्वाःपुखु, छोनी चोक, विजेश्वरी, पाटीटार, १७ नम्बर वडा कार्यालय, सिद्धेश्वर, महांकाल खानेपानी, रामनगर, जनकल्याण स्कुल, वुवाल डाँडा, खाइवाटोल र नागकुण्ड मन्दिर चारघरे नजिकका ठाउँमा वृक्षरोपण गर्ने भएको छ।

यस्तै कैलाश बोधी स्कुल, ३२ वडास्थित करुण केशव युवा क्लब, काठमाडौं उपत्यका विकास प्राधिकरण अगाडि, वडा नम्बर १० सँगै भुरुङखेल, कुलेश्वर शिव मन्दिरमा रहेको खाली जग्गामा पनि वृक्षरोपण गरिनेछ।

वडा नम्बर ६ स्थित चारघरेमा सबैभन्दा बढी १२ रोपनी जग्गा खाली रहेको छ। यस्तै सोही वडाको सिद्धेश्वरमा ९ रोपनी र पाटीटारमा ६ रोपनी जग्गा खाली रहेको छ। पहिचान भएका सबै जग्गाको करिब २० प्रतिशत क्षेत्रफलमा वृक्षरोपण गरिने विभागका इन्जिनियर प्रमिला पराजुली र प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो।

विभागले पहिचान गरेको खाली जग्गामा ३ हजार ६ सय २१ बिरुवा रोप्ने योजना रहेको इन्जिनियर पराजुलीले बताउनुभयो।