‘विकासका लागि अरूको मुख ताकेर हुँदैन’


नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीव्र विकास गर्न चाहेको बताउनुभएको छ। प्रदेश नं २ का सांसदहरूको सर्वदलीय डेलिगेसनलाई मंगलबार बालुवटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनभुएको हो। प्रम ओलीले देशको विकासका लागि हिमाल पहाड तराईका जनता एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो। ‘विकासका लागि अरूको मुख ताक्ने र दोष अरूलाई दिएर आफू उम्कने होइन’, उहाँले भन्नुभयो– ‘विकासका लागि आफैं अग्रसर हुनुपर्छ। अरूको मुख ताकेर पनि हुँदैन।’

तराईको ठूलो जनसंख्या विदेशमा गएर काम गरिरहेकाले त्यो जनसंख्यालाई स्वदेशमै फर्काएर काममा लगाउनुपर्ने उहाँकोे धारणा छ। सरकार देशमा सुशासन, भ्रष्टाचार नियन्त्रण, शान्ति सुव्यवस्था कायम गर्न लागिपरेको प्रधानमन्त्री ओलीले बताउनुभयो। देशमा प्रशासनिक खर्च धेरै भएर विकासमा केही कठिनाइ भएको उहाँको भनाइ छ।

सांसदहरूले प्रदेश नं २ मा कृषि तथा सिँचाइ, उद्योग, पर्यटन, यातायात, स्वास्थ्य, चुरे संरक्षण तथा नदी नियन्त्रणलगायतका कार्यक्रम सञ्चालन गर्न माग गरेका थिए। यसै गरी शिक्षा तथा खेलकुद, महिला हिंसा, जनता आवास कार्यक्रम, अन्तराष्ट्रियस्तरको सभाहल तथा प्रधानमन्त्रीसँग तराई मधेस विशेष कार्यक्रम सञ्चालन गर्न माग गरेका छन्।