काष्ठमण्डप पुनर्निर्माण शुरू, धरहरा र रानीपोखरी पनि बन्ने


ईश्वरराज ढकाल, काठमाडौं

काठमाडौं महानगरपालिकाले स्थानीयको जनसहभागितामा काष्ठमण्डप पुनर्निर्माण आरम्भ गरेको छ। स्थानीय जनताले सोमबार काष्ठमण्डपको जग र परिसरमा क्षमापूजा गरी सो कार्यको शुरुआत गरेका हुन्।

कामपाको सहयोगमा स्थानीयले आइतबारै पुनर्निर्माण शुरू गरेको काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक राजेश शाक्यले जानकारी दिनुभयो। उहाँका अनुसार पहिलो चरणमा काठ छनोट गरी अन्य काम अघि बढाइनेछ।

काष्ठमण्डपको पुनर्निर्माणको लागतबारे अहिले नै निक्र्योल भइनसकेको बताउँदै शाक्यले आवश्यक पर्ने सम्पूर्ण रकम महानगरले बेहोर्ने जानकारी दिनुभयो। स्मरणीय छ, यसअघिको स्टिमेटमा काष्ठमण्डप पुनर्निर्माण गर्न करिब १९ करोड रुपियाँ लाग्ने उल्लेख गरिएको थियो।

स्थानीय समितिले काष्ठमण्डप क्षेत्रमा पर्ने सबै वडा अध्यक्ष, विभिन्न दलका प्रतिनिधि, स्थानीय क्लब, संघसंस्थालगायतलाई सहभागी गराएर पुनर्निर्माण शुरू गर्न लागेको हो। २०७२ साल वैशाख १२ गते गएको शक्तिशाली भूकम्पले ध्वस्त भएको काष्ठमण्डप ३ वर्षपछि बल्ल पुनर्निर्माण हुन लागेको छ। यसअघि काष्ठमष्डपको इतिहासको विषयमा उत्खनन भइसकेको थियो।

निरन्तर काम भए करिब साढे ३ वर्षभित्र निर्माण सम्पन्न भइसक्ने बताइएको छ। कामपाका उपमेयर हरिप्रभा खड्गीले भने पुनर्निर्माण निरन्तर हुने बताउनुभयो।

पुरातत्त्व विभागको ड्रइङ र डिजाइनको आधारमा काष्ठमष्डप पुनर्निर्माण गरिने पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले बताउनुभयो। विभागले काष्ठमण्डप पुनर्निर्माणका लागि करिब ९ हजार क्युफिट काठ लाग्ने अनुमान गरेको छ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले तोकिएकै समयमा काष्ठमण्डप पुनर्निर्माण हुने बताउनुभयो। उक्त कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले काण्ठमण्डपको ऐतिहासिक महत्त्वबारे चर्चा गर्नुभयो।
यसैबीच राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माण गर्न सोमबारै २१ दिनको म्याद राखी टेन्डर आह्वान गरेको छ। प्राधिकरणले मुलुक र मुलुकबाहिरको ठेकेदारले समेत प्रतिस्पर्धा गर्न सक्ने गरी टेन्डर आह्वान गरेको बताइएको छ।। उक्त टेन्डर आह्वान भएसँगै अबको करिब तीन वर्षभित्र भूकम्पले ध्वस्त भएका देशका मुख्य तीन सम्पदा पुनर्निर्माणले गति लिने भएको छ।

यस्तै यही जेठ १५ गतेदेखि रानीपोखरीको पनि पुनर्निर्माण शुरू हुँदै छ। करिब एक वर्षअघि पुनर्निर्माण शुरू भएको रानीपोखरी विवादका कारण रोकिएको थियो। ‘विवाद समाधान भइसकेको छ, अब १५ गतेदेखि पुनर्निर्माण शुरू हुन्छ।’ –उपमेयर खड्गीले भन्नुभयो।

रानीपोखरी वरपर लगाइएको कंक्रिट वाल भत्काएर मल्लकालीन शैलीमै बनाउने गरी तयारी भइरहेको कामपा शहरी विकास विभागका प्रमुख रामबहादुर थापाले बताउनुभयो। करिब २ करोड ३० लाख रुपियाँ खर्च गरी रिटेनिङ वाल लगाएको सम्पूर्ण संरचना भत्काउन कामपाले टेन्डर गर्ने भएको छ। भत्काएलगत्तै जेठ १५ गतेबाट पुनर्निर्माणको काम सुचारु हुने उहाँको भनाइ छ।

कामनपाका मेयर विद्यारत्न शाक्यले पनि पुरातत्त्व विभागबाट नक्सा प्राप्त भइसकेको जानकारी गराउँदै अब वाल भत्काएलगत्तै निर्माण कार्य थालिने बताउनुभयो।