सन्दर्भः अन्तर्राष्ट्रिय नर्सिङ दिवस, मैले खोजेका भगवान् त डाक्टर र नर्स रहेछन्

0
Shares

आमा पूजाकोठाको ढोकामा ठेस लागी लडेर घाइते हुनुभयो। उहाँको उपचारका लागि काठमाडौंबाट धुलिखेल अस्पताल ल्याइयो। जब आमाले उपचार पाउनुभयो र उहाँले भन्नुभयो– ‘म पूजा गर्न जाँदा लडेर घाइते भएँ, मैले खोजेका भगवान् त यहाँ पो रहेछन्।’ डाक्टर र नर्सलाई औंल्याउँदै उहाँले भन्नुभयो– ‘भगवान् त यही अस्पतालका डाक्टर र नर्स रहेछन्।’ एकैछिन अघिसम्म पीडाले छटपटाइरहनुभएकी आमाको मुखबाट अकस्मात् यो शब्द उच्चारण हुँदा आफूलाई आफ्नो पेसाप्रति निकै गर्व लाग्यो।

भगवती तिमल्सिना

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा रामकण्ठ माकजुले प्रमाणपत्र तहका दीक्षित ३८ जना नर्सलाई प्रमाणपत्र प्रदान गर्दै भन्नुभयो– ‘बिरामीका सबभन्दा नजिकका आफन्त भनेकै नर्स हुन्। उनीहरूले बिरामीका दुःख–सुखका कुरा सुनेर अनन्य मित्र बनी शारीरिक र मानसिक रोगको उपचार गर्नुपर्छ।

नर्सको जिम्मेवारी स्वास्थ्य संस्थामा अत्यन्तै महत्त्वपूर्ण हुन्छ र समयअनुसार आवश्यक तालिम, शिक्षाको ज्ञान दिन व्यवस्थापन पक्ष सदैव चनाखो हुनुपर्छ।’
स्वास्थ्य विज्ञानका दृष्टिकोणले नर्स र बिरामीको सम्बन्ध आमा र बच्चाको जस्तो हुनुपर्छ। बिरामी सानासाना बच्चा हुन् भन्ने सम्झेर डाक्टर र नर्सले हरेक विषयमा पहिला बिरामीलाई बुझाउने र उपचार तथा रेखदेख गर्ने गर्नुपर्दछ। धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश माकजु भन्नुहुन्छ– ‘नर्सको प्रमुख काम भनेकै बिरामीको राम्रोसँग हेरविचार गर्ने हो। दोस्रोमा सिक्ने, अनुसन्धान गर्ने, थप अध्ययन अध्यापन गर्ने पाटो निकै महत्त्वका साथ हेरिनुपर्छ।’

अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा आयोजना गरिएको काठमाडांै विश्वविद्यालय धुलिखेल अस्पतालमा सञ्चालित प्रमाणपत्र तहको १७औं दीक्षान्त समारोहका अवसरमा बोल्दै काठमाडांै विश्वविद्यालय मेडिकल विभागका डीन प्राडा राजेन्द्र कोजुले भन्नुभयो– ‘पहिलो प्राथमिकता बिरामीको उत्कृष्ट सेवा र व्यवस्थापन नै हो। नर्सको प्रमाणपत्रलाई मात्र मूल्यांकन गरिन्न, बिरामीप्रति गरिने व्यवहार परिपक्व हुनुपर्छ।’

त्यस्तै काठमाडौं विश्वविद्यालयका रजिस्टार डा. भोला थापाले ‘बिरामीले नर्सको सेवाबाट सन्तुष्टि पाउँछन् र आधा रोग बिर्सिएर तिनै नर्सलाई भगवान् भनेर पुर्काछन्’, उहाँले भन्नुभयो– ‘संयोगको कुरा यता नर्सिङ शिक्षा प्राप्त गरेका १७औं समूहको दीक्षान्त कार्यक्रमकै दिन आमा पूजाकोठाको ढोकामा ठेस लागी लडेर घाइते हुनुभयो। उहाँको उपचारका लागि काठमाडौंबाट धुलिखेल अस्पताल ल्याइयो। जब आमाले उपचार पाउनुभयो र उहाँले भन्नुभयो– ‘म पूजा गर्न जाँदा लडेर घाइते भएँ, मैले खोजेका भगवान् त यहाँ पो रहेछन्।’ एकैछिन अघिसम्म पीडाले छटपटाइरहनुभएकी आमाको मुखबाट अकस्मात् यो शब्द उच्चारण हुँदा आफूलाई आफ्नो पेसाप्रति निकै गर्व लाग्यो।’

रजिस्टार थापाले दीक्षित विद्यार्थीलाई बधाई दिँदै भन्नुभयो– ‘अब तपाईंहरू अझ बढी जिम्मेवार भएर सेवा दिनुपर्ने अवस्थामा पुग्नुभएको छ। नर्सको पर्यायवाची शब्द बिरामीको आमा हो। विश्वले पहिला नै प्रयोगमा ल्याइसकेका विषय नेपालको स्वास्थ्य क्षेत्रमा बायो इन्जिनियरिङको पाटोबाट पनि हेर्ने बेला आएको छ।’ अमेरिका भ्रमणका अवसरमा आफूले सिकेको पक्षमध्ये घर निर्माणमा दुर्घटना हुनबाट कसरी जोगिने र बिरामीको संख्या न्यून गरेर देश र जनतालाई कसरी खुसी र सुखी बनाउने भन्ने महत्त्वपूर्ण पक्ष रहेको बताउनुभयो।

कार्यक्रममा बीएसी नर्सिङ चौथो वर्षका विद्यार्थीले नर्स के हो भन्नेबारे फ्लोरेन्स नाइटिंगेलको भूमिकाले युद्धमा घाइते भएका व्यक्तिलाई कसरी उद्धार गर्नुभयो भन्ने उदाहरणीय ड्रामा प्रस्तुत गर्दा चिकित्सक, नर्स, अतिथिका समेत आँखा रसाएका थिए। सोही अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका पूर्वमेयर बेलप्रसाद श्रेष्ठले धुलिखेल मेडिकल इन्स्टिच्युट (डीएमआई)ले प्रकाशन गरेको नवौं नर्सिङ बुलेटिन–२०१८ अनावरण गर्नुभएको थियो।
सोही अवसरमा काठामाडांै विश्वविद्यालय धुलिखेल अस्पतालका मेट्रोन विष्णु सिंहले भन्नुभयो– ‘निकै जोसिला र फूर्तिला युवा नर्सहरूको जमातमा आफूले व्यावहारिक पक्षको ज्ञान दिँदै आएकै कारण आज उनीहरू सेवा, मनोरञ्जन, व्यावहारिकता जस्तो अवस्थामा पनि डटेर अघि बढेका छन्।’ दीक्षान्तको खुसीयालीमा सांस्कृतिक कार्यक्रम, नृत्य, ड्रामा, गीतलगायतका मनोरञ्जनात्मक कार्यक्रम गरेर अभिभावक, आगन्तुक पाहुनालाई निकै खुसी तुल्याएका थिए। अभिभावक, विद्यार्थी र धुलिखेल अस्पतालले देखेको मीठो र सुन्दर सपना सबैका माझ बाँड्दाको क्षण निकै आनन्दित थियो।


पुरुषले पनि नर्सिङ पढ्न पाउने कानुनको माग

रोशन पराजुली÷हेटौंडा

मकवानपुरका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूले आफूले जागिरभन्दा पनि सेवामूलक ढंगले बिरामीको उपचार गर्ने गरेको बताएका छन्।
नेपाल नर्सिङ संघ मकवानपुरको आयोजनामा अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा आयोजित कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन्। कार्यक्रम उद्घाटन गर्दै हेटौंडा उप–महानगरपालिकाका मेयर हरिबहादुर महतले अबका दिन हेटौंडामा पुरुषले पनि नर्सिङ पढ्न पाउने व्यवस्था गरिने बताउनुभयो।

उहाँले विश्वका ठूला मुलुक अमेरिका, युरोपमा पुरुष पनि नर्सिङ सेवा दिँदै आएका छन् तर नेपालमा भने यो व्यवस्था नभएकै कारण हालसम्म नर्सिङ पढ्न सरकारले महिलालाई मात्र अवसर दिने गरेको छ। आगामी आर्थिक वर्षमा पुरुषले पनि नर्सिङ पढ्न पाउने कानुनी व्यवस्थाका लागि पहल गर्ने बताउनुभयो।

विदेशमा पुरुषले पनि नर्सिङ पढ्न पाउने र काम गर्ने व्यवस्था छ। तर, नेपालमा हाल पुरुषलाई नर्सिङ पढ्न र काम गर्न दिने व्यवस्था नहुँदा यस्तो व्यवस्था गर्न लागिएकोे मेयर महतले बताउनुभयो। ‘नर्सिङ पेसालाई अझ फराकिलो, मर्यादित र गुणस्तरीय बनाउनेतर्फ सबैले सोच्नुपर्छ’, मेयर महतले भन्नुभयो– ‘लिङ्गका आधारमा महिलाको मात्र पेसा हो भन्नुहुन्न। यो पेसाको सम्मानका खातिर महिला र पुरुष दुवैले सँगसँगै सेवा गर्नुपर्छ।’

‘कुनै पेसा महिला वा पुरुषको मात्र हुँदैन। कुनै पेसालाई लैंगिकताका आधारमा छुट्टाइनुहुँदैन भन्ने मान्यता हो।’ भन्दै मेयर महतले यसरी पेसालाई नै महिला वा पुरुषको मात्र भनिन्छ भने त विभेद जारी रहने बताउनुभयो। २१औं शताब्दीमा सबै महिला र पुरुष बराबर हो भन्ने भावना जरुरी रहेको उहाँको भनाइ छ।

हुन पनि नर्स भन्नेबित्तिकै आम नेपालीको दिमागमा एप्रोन लगाएर अस्पतालमा खटिएकी युवती वा महिलाको तस्वीर आउँछ। नेपालमा नर्स महिला नै छन्। त्यही कारण नेपालमा नर्स र महिला पर्यायवाची शब्दझैं लाग्छ। यो अत्यन्तै सम्मानित र मर्यादित पेसा भएकाले समयसँगै मानसिक र व्यावहारिक परिवर्तन हुनुपर्छ।

तर, सरकारको एउटा समितिले नर्सिङ पेसामा पुरुषलाई पनि ल्याउन सुझाव दिएको छ। नर्सिङ क्षेत्रका समस्या समाधानका लागि गठित समितिले स्वास्थ्य मन्त्रालयमा बुझाएको प्रतिवेदनमा नर्सिङ पेसामा पुरुषलाई अवसर दिनुपर्ने सुझाव दिएको छ। प्रतिवेदनमा नर्सिङ क्षेत्रमा पुरुषको उपस्थितिका लागि नर्सिङ शिक्षामा कम्तीमा १० प्रतिशत कोटा निर्धारण गर्नुपर्ने उल्लेख छ।

समितिको यो सुझाव कार्यान्वयनमा आए नर्सिङ कलेजले कुल विद्यार्थी भर्नामध्ये कम्तीमा १० प्रतिशत पुरुषलाई भर्ना गर्न पाउनेछन्। सरकारी तथ्यांकअनुसार हाल नेपालमा वार्षिक १ सय २५ भन्दा बढी नर्सिङ कलेजबाट ७ हजार ७ सय ४० जना नयाँ नर्सिङ जनशक्ति उत्पादन हुँदै आएको छ। समितिको सुझाव कार्यान्वयनमा आएपछि हालको कोटाका आधारमा नेपालमा वार्षिक ७ सय ७ जना पुरुष नर्स उत्पादन हुनेछन्।

नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागार्इंले नर्सिङ पास गरेपछि युरोपियन देश जाने सपना बुन्नुभन्दा पनि स्वदेशका विकट गाउँमा स्वास्थ्य सेवा दिने भावना बढाउनुपर्ने बताउनुभयो। नर्सिङ पेसामा जागिरेभन्दा सेवाभावले काम गर्नुपर्ने अध्यक्ष हुमागाईंको विचार छ। कार्यक्रममा नर्सिङ पेसाबाट सेवानिवृत्त भएकालाई दोसल्ला ओढाएर सम्मानित गरिएको छ। वर्षौं नर्सिङ पेसामा आबद्ध चम्पा कोजु, रत्ना लामा, पूर्ण दराई र धन राईलाई सम्मानित गरिएको हो।

कार्यक्रममा ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका सतिश विष्ट, नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुर अध्यक्ष हरिवंश भेटवाल, हेटौंडा अस्पतालका डाक्टर राजु सेढाईं, नर्सिङ संघ सल्लाहकार रत्ना गुरागार्इं, संघ जिल्ला सचिव निर्मला ब्लोनलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो भने नेपाल नर्सिङ संघ मकवानपुर अध्यक्ष कुन्ता दाहालको सभाध्यक्षतामा कार्यक्रम भएको हो।

‘लेडी विथ द ल्याम्प’ अर्थात् हातमा टुकी बोकेकी महिलाका नामबाट परिचित फ्लोरेन्स नाइटिंगेलको जन्मदिनका अवसरमा मे १२ मा विश्वभर अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाउने गरिएको छ। चिकित्सा पद्धतिमा अभूतपूर्व योगदान गर्ने नर्स अर्थात् स्वास्थ्य परिचारिका पेसाको शुरुआत उनले नै गरेको पाइन्छ।
राणाशासनका समयमा सम्भ्रान्त परिवारमा स्वास्थ्योपचार गर्न नेपालमा नर्सिङको शुरुआत भएको पाइन्छ। राणाहरूको उपचार र प्रसूति सेवाको राम्रो व्यवस्था नभएका कारण धेरै महिलाले प्रजनन स्वास्थ्य सेवा नपाएर ज्यान गुमाउनुपरेको थियो। त्यस अवस्थामा विद्यावती कंशाकार, राधादेवी मालाकार, धर्मदेवी कंशाकार र विष्णुदेवी राईलाई १८ महिने तालिमका लागि भारत पठाइयो।

त्यसपछि २००९ सालमा स्टाफ नर्स पढ्न उमादेवी दास र रुक्मिणीचरण श्रेष्ठलाई पनि भारतमै पठाइएको थियो। अध्ययन पूरा गरेर उनीहरू नेपाल फर्किएपछि २०१३ सालमा विश्व स्वास्थ्य संगठनको सहयोगमा सुरेन्द्र भवन सानेपामा पहिलो नर्सिङ स्कुल सञ्चालनमा आएको पाइन्छ।

लाखौं खर्च गरी पढेका नर्सले अस्पतालमा वर्षौंसम्म स्वयंसेविकाका रूपमा रात–दिन ड्युटी गर्नुपर्ने अवस्था छ। जाडो, गर्मी, घरपरिवार, चाडपर्व नभनी चौबीसै घन्टा खटिएका नर्सहरूको पारिश्रमिक ज्यादै कम हुनु, रातको ड्युटीमा जान–आउन सवारीसाधनको व्यवस्था नहुनु, नर्सहरूले पेसागत सुरक्षाको अनुभूति गर्न नपाउनु र कार्यबोझ बढी, कम सुविधा प्राप्त गर्नेजस्ता पीडा पनि उनीहरूका छन्।
देशमा प्रभावकारी नीतिनियम अभावमा योग्यता, क्षमता वृद्धि गरेर पनि एउटै तहमा वर्षांै रहिरहनुपर्ने र पदोन्नतिको अवसर प्राप्त गर्न नसक्ने अर्काे पीडाले नर्सहरू आफ्नो पेसाप्रति उदासीन छन्। यसका साथै क्षमतावान् व्यक्ति विदेश पलायन हुनु र नेपाली स्वास्थ्य क्षेत्रमा नर्सको एक किसिमको अभाव सधंै खड्कनु पनि अर्काे समस्याका रूपमा देखिएको छ।

नर्सलाई कार्यक्षेत्रमा यथोचितरूपमा व्यवस्थापन नगरिनु, जथाभावी दिइएका सम्बन्धनप्राप्त क्याम्पसबाट उत्पादित जनशक्तिमा गुणात्मक कमजोरी देखिनु, अस्पतालमा काम गर्ने स्टाफ नर्सहरूका लागि तालिम र उच्च शिक्षाको अवसर सीमित व्यक्तिले मात्र प्राप्त गर्नुले पनि नर्सिङ पेसाप्रति वितृष्णा बढेको छ।
नर्सका लागि सेवा प्रवेश गर्दाको तालिम, कार्यक्षेत्रमा दिइने तालिमको उचित व्यवस्था हुन सकेको देखिँदैन। नर्सिङ पेसामा संलग्नहरू पेसागतरूपमा नै हिंसामा परेका, बिरामीको स्याहारसुसार गर्दा विभिन्न प्राणघातक रोगको शिकार हुनु बिडम्वना मानिएको छ। यसका साथै गम्भीर प्रकृतिका बिरामीको सेवामा बढी समय खर्चिने पनि नर्स र बिरामीका आफन्तको तारो बन्ने पनि तिनै नर्स हुनुपर्दाका पीडा निकै कारुणिक छन्। नर्सप्रति बिरामी र बिरामीका आफन्तले गर्ने व्यवहार सम्मानजनक नहुने र महिला भनेर बिरामी कुरुवाले अपमान गर्नेसम्मका परिस्थिति आइरहेको वर्तमान अवस्थालाई समेत नीति नियममै सुधार गरी सुरक्षाको प्रत्याभूत गराउनु सरकारको दायित्व हुन आउँछ।