सवारी ढुवानीका नाममा लाखौंको अनियमितता


प्रशान्त वली, काठमाडौं

सवारी ढुवानीका लागि भन्दै सरकारी निकाय पशु स्वास्थ्य निर्देशनालयले लाखौं रुपियाँको चलखेल गरेको रहस्य खुलेको छ। निर्देशनालयले सवारी साधन ढुवानीका नाममा लाखौं रूपियाँ अनियमितता गरेको भेटिएको छ।

निर्देशनालयले सवारी साधन खरिदका नाममा ६१ लाख ३५ हजार रूपियाँ अनियमितता गरेको देखिएको हो। निर्देशनालयले भ्याक्सिन ढुवानी ट्रक २४ लाख ४० हजार रूपियाँ र डबल डोर रेफ्रिजेरेटर ३६ लाख ९५ हजार रुपियाँमा खरिद गरेको देखिएको हो। डबल डोर रेफ्रिजेरेटर २५ वटा खरिद गरिएको छ।

निर्देशनालय मातहतको केन्द्रीय जैविक उत्पादन प्रयोगशालाले २ वर्ष अगाडिदेखि मौजुदा रहेको भ्याक्सिन ढुवानी गर्ने सवारी साधन प्रयोगविहीन रहेको अवस्थामा थप सवारी साधन खरिद गरेको महालेखा परीक्षणको प्रतिवेदनमा उल्लेख छ। खरिद गरेको रेफ्रिजेरेटर २५ मध्ये ६ वितरण नगरेको बताइएको छ। प्रतिवेदनमा भनिएको छ– ‘मौज्दात रहेको सवारी साधन प्रयोगविहीन रहेको अवस्थामा उक्त साधन उपयोगमा नल्याई थप साधन खरिद गर्नु उचित देखिएन।’ तत्कालीन पशुपंक्षी विकास मन्त्रालय र मातहत निकायको लागि थप ७ अर्ब ५९ करोड ६० लाख ४५ हजार रूपियाँ बजेट विनियोजन गरिएको थियो।