चिनियाँ लगानी भित्याउँदै खिम्ती–२ को निर्माण इपीसीएफ मोडलमा



नेपाल समाचारपत्र
काठमाडौं
४८ दशमलव ८ मेगावाट उत्पादन क्षमताको खिम्ती–२ जलविद्युत् आयोजना निर्माणका लागि पिपुल्स इनर्जी लिमिटेडले इपीसीएफ मोडलमा ९ अर्ब १४ करोड रुपियाँ चिनियाँ लगानी भित्र्याएको छ।

नेपालमा इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्सट्रक्सन (इपीसी) मोडलमा थुप्रै आयोजना निर्माण गरिएका भए पनि एपीसी–एफ मोडेलमा विदेशी कम्पनीलाई निर्माणको जिम्मा दिइएको यो पहिलो आयोजना बनेको छ। रामेछाप र दोलखा जिल्लाको बीचमा पर्ने खिम्ती खोलामा निर्माण गर्न लागिएको आयोजनामा लगानी ल्याउने जिम्मासमेत चिनियाँ कम्पनी सोङकिङ वाटर टवाइन वर्कस् (सीडब्ल्युटीडब्ल्यु) लाई दिइएको छ।

पिपुल्स इनर्जी लिमिटेडले आयोजना निर्माणका लागि सीडब्ल्युटीडब्ल्यु कम्पनीसँग गत फागुन ३० गते सम्झौता भएको पिपुल्स इनर्जीका अध्यक्ष कृष्ण आचार्यले बताउनुभयो। आयोजना निर्माण शुरू भएको तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। आयोजनाको हाइड्रोलोजी अध्ययन, विस्तृत सर्वेक्षण, भौगोलिक अध्ययनको कार्य सम्पन्न भइसकेको छ। विद्युत् गृह, बाँधस्थलसम्म पुग्ने बाटो निर्माण, तथा खिम्ती खोलामाथि तीन वटा स्थानमा पुल बनाउने काम चलिरहेको छ।

पिपुल्स इनर्जी कम्पनीले आयोजनामा लगानी जुटाउने विषयमा यसअघि सानिमा बैंकको नेतृत्वमा अन्य ९ वटा वाणिज्य बैंकले ऋण लगानी गर्ने सम्झौता गरेको थियो। तर, सीडब्ल्युटीडब्ल्युमा जाँदा आयोजना र बैंक दुवैलाई फाइदा भएको आचार्यले बताउनुभयो। सम्झौताअनुसार शुरूमा ठेकेदारलाई कुल लागतको १० प्रतिशत रकम र आयोजनाबाट विद्युत् उत्पादन भएको ७ सय दिनभित्रमा सम्पूर्ण भुक्तानी गर्नुपर्नेछ। २०७८ साल असारसम्ममा आयोजनाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ। विद्युत् उत्पादन भएको पहिलो वर्ष १ अर्ब ४० करोड रुपियाँ आम्दानी हुनेछ। र वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म बढ्दै जाँदा नवौं वर्षमा आयोजनाको वार्षिक नाफा १ अर्ब ७४ करोड रुपियाँ पुग्ने आयोजना प्रमुख रामहरी शर्माले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्