दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ढिलाइ नगर्न दबाब



गोकुल घोरसाइने, बारा
बाराको जितपुर सिमरा उपमहानगर र कोल्हबी नगरपालिका क्षेत्रमा निर्माण थालिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा पर्यटनमन्त्री रवीद्र अधिकारीले चासो देखाउनु भएको छ। बाराको सिमरामा सरोकारवाला निकायसँगको अन्तक्र्रिया तथा सिमरा औद्योगिक महोत्सवमा सम्बोधन गर्दै मन्त्री अधिकारीले अन्य विमानस्थलको निर्माणकार्यले गति लिएको भन्दै अबको ध्यान दोस्रो विमानस्थलमा रहेको बताउनुभयो।

सानातिना समस्या र उल्झनका कारण निर्माण कार्य सुस्त बनेको यस आयोजनालाई अब मन्त्रालयले ध्यान केन्द्रित गरेको बताउँदै मन्त्री अधिकारीले दुई वर्षमा पूर्वतयारीको काम र पाँच वर्षभित्र कम्तिमा आधा काम सक्ने प्रतिबद्धता जनाउनुभयो।‘हावादारी कुरा बोलेर हुँदैन, म ५ वर्षमै बन्छ भन्दिन, कम्तिमा २ वर्षमा पूर्वतयारीको काम सकिनुपर्छ।’ उहाँले भन्नुभयो–‘यति ठूलो आयोजना जादु जसरी सम्पन्न हुँदैन, पाँच वर्षभित्र आधा काम सक्न पाए हामीले ठूलै युद्ध जिते समान हुनेछ।’

बारामा बन्न लागेको दु्रतमार्ग र विमानस्थल निर्माणमा आफू शुरूआती चरणदेखि जानकार रहेको भन्दै मन्त्री अधिकारीले स्थानीय सरोकारवाला निकायलाई गम्भीरतापूर्वक आयोजना निर्माणमा लागि पर्न आग्रह गर्नुभयो। मन्त्रालयबाट गर्नुपर्ने कुनै पनि जिम्मवारीमा ढिला गर्दैन, आयोजना निर्माणको प्रमुख मेरुदण्ड भनेको तपाईहरू हो सम्बन्धित जनप्रतिनिधिलाई देखाउँदै उहाँले भन्नुभयो–‘अब काममा कुनै पनि कारणले ढिलासुस्ती हुनु हुँदैन।’

विमानस्थल निर्माणको क्षेत्रमा चार किल्ला छुट्याउने कार्य सम्पन्न भएसंँगै निर्माण क्षेत्रको चार किल्ला डीजीपीएस प्रविधिबाट ‘लोकेट’ गरिसकिएको छ। यसैगरी निर्माण क्षेत्रको पूर्व, पश्चिम र दक्षिण सिमानामा ५०/५० मिटरमा पक्की पिलर गाडने काम सम्पन्न भएको आयोजना इकाई कार्यालय सिमराले जनाएको छ। आयोजना कार्यालय सिमराले सार्वजनिक गरेको प्रतिवेदनअनुसार वातावरणीय प्रभाव, सामाजिक प्रभाव तथा पुनःबाससम्बन्धी अध्ययन कार्यको अन्तिम प्रतिवेदन नेपाल नागरिक उड्डयन कार्यालयमा प्राप्त भई वातावरण मन्त्रालयमा पेस गर्ने चरणमा रहेको समेत आयोजना कार्यालयले बताएको छ।

उता मुआब्जामा असन्तुष्टि देखिएका स्थानीय कोल्हबी नगरपालिका, काँटगाउँका स्थानीय भने अन्ततः मुआब्जा प्राप्तिका लागि सहमत भएका छन्। सो क्षेत्रभित्र पर्ने १ सय १५ बिगाह जमिनमध्ये मुआब्जा प्रक्रियापछि १५ बिगाह जमिनको आयोजनाले भोगाधिकार प्राप्त गरिसकेको सिमरा कार्यालयको प्रतिवेदनमा उल्लेख छ। आयोजनाले काट गाउँमा मेट्रोलोजिकल डाटा मापन अत्याधुनिक यन्त्र समेत समेत जडान गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्