मध्यमस्र्याङ्दी विद्युत् केन्द्रको मर्मत छिट्टो पूरा गर्न निर्देशन



काठमाडौं, (नेस)
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार मध्यमस्र्याङुदी जलविद्युत् केन्द्रको स्थलगत निरीक्षण गरी तोकिएकै समयमा मर्मतको काम पूरा गर्न निर्देशन दिनु भएको छ।

लमजुङस्थित ७० मेगावाट जडित क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको बाँधको बायाँ भाग र विद्युत्गृहको मर्मत भइरहेकाले फागुन १० गतेबाट केन्द्रबाट विद्युत् उत्पादन बन्द छ। केन्द्रले मर्मतको काम फागुन १७ गतेसम्म सक्ने गरी भार प्रेषण केन्द्र (एलडीसी) बाट सट डाउन पाएको छ। केन्द्रको बाँधको देब्रेतर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिएको संरचनाको मर्मत शुक्रबारबाट शुरू भएको हो।

अहिले बाँध र पर्खाल निर्माणको काम २४सैं घण्टा भइरहेको छ। पानीले हिर्काएर क्षति पुगेको ठाउँमा थप क्षति हुनबाट रोक्न ‘प्रोटेक्सन वाल’ लगाउने काम भइरहेका र यसका लागि दैनिक चार सय जना मजदूर परिचालित रहेको केन्द्रले जनाएको छ।

कार्यकारी निर्देशक घिसिङले विद्युत्को माग बढी हुने साँझ र बिहान (पिक आवर) मा ७० मेगावाट विद्युत् उत्पादन हुने मध्यमस्र्याङ्दी बन्द हुँदासमेत उपभोक्तालाई लोडसेडिङ गर्नु नपरेको बताउनुभयो। ‘वैकल्पिक व्यवस्थाका रूपमा कुलेखानी चलाएर विद्युत् आपूर्ति गरिरहेका छौं। मर्मतको काममा ढिलाई गर्नु भयो भने कुलेखानीको जलाशयको पानी घट्ने हुँदा विद्युत् व्यवस्थापनका लागि चाप पर्छ।’ घिसिङले केन्द्र व्यवस्थापन र ठेकेदारलाई निर्देशन दिँंदै भन्नुभयो।

विद्युत् गृहमा ३५⁄३५ मेगावाटका दुई युनिट छन् भने विद्युत् गृहमा रहेको एउटा युनिटको फागुन ६ गतेबाट निर्माणको काम भइरहेको छ। केन्द्रका प्रमुख पशुपतिराज गौतमका अनुसार फागुन २३ गतेभित्र दूईवटै युनिट सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। अहिले सबै काम तय गरिएको तालिकाअनुसार नै भइरहेकाले तोकिएकै समयमा काम सकिने गौतमले बताउनुभयो। युनिटको मर्मतका लागि दैनिक ५० जना कर्मचारी खटिएका छन्।

अहिले केन्द्रको जलाशयमा थुप्रिएको बालुवा निकाल्ने काम पनि धमाधम भइरहेको छ। जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र बेंशीसहर नगरपालिकासँग समन्वय गरी केन्द्रले बोलकबोलमार्फत् बालुवा निकाल्ने ठेक्का दिएको छ। गौतमले बाालुवाको बिक्रीबाट करिव १८ लाख रुपियाँ आम्दानी हुने जानकारी दिनुभयो। केही रकम जिल्ला समन्वय समिति र नगरपालिकाले समेत पाउने छन्।

प्रतिक्रिया दिनुहोस्