हाइड्रोपावर कम्पनीहरूको शेयर आउँदै



नेपाल समाचारपत्र
काठमाडौं
जलविद्युत् कम्पनीहरूले धमाधम बोनस, हकप्रद तथा आईपीओ जारी गर्न लागेका छन्। यसै क्रममा केही कम्पनीले वार्षिक साधारणसभा गरी प्रस्तावसमेत पारित गरेको अवस्था छ।

पछिल्लोपटक अपि पावर कम्पनीले आर्थिक वर्ष २०७३⁄७४ को खुद मुनाफाबाट ८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

कम्पनीको १४ औं वार्षिक साधारणसभाले ८ प्रतिशत बोनस शेयर जारी गर्न लागेको छ। कम्पनीले विद्यमान १ शेयर बराबर २ शेयरका दरले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गरेको छ । हकप्रद शेयरबाट २ अर्ब २६ करोड ८० लाख प्राप्त हुनेछ । शेयर जारीपश्चात् कम्पनीको शेयर संख्या ११ करोड ३४ लाख कित्ता कायम हुनेछ । सो रकममध्ये १ अर्ब रुपियाँ सिद्धकाली पावरले निर्माण गर्ने त्रिशूली–गल्छी जलविद्युत् आयोजनामा लगानी गर्ने तयारी गरिएको छ। यस्तै बाँकी रहने १ अर्ब २६ करोड ८० लाख रुपियाँ अपि पावरले निर्माण गर्नेस ौर्य ऊर्जा प्रणालीमा लगानी गर्ने तयारी गरेको हो।

यस्तै अपि पावरले माथिल्लो चमेलिया जलविद्युत् आयोजना निर्माणको प्रक्रियासमेत शुरू गरेको छ । दार्चुलामा आयोजनास्थल रहेको माथिल्लो चमेलिया ४० मेगावाट क्षमताको रहेको छ । सो आयोजनाको लागत ७ अर्ब २० करोड रहेको छ ।

उता लिवर्टी इनर्जी कम्पनीको पनि साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले आम सर्वसाधरणमा शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले ३ वटा जलविद्युत् आयोजना निर्माण अगाडि बढाएको छ । लमजुङमा निर्माणाधीन २५ मेगावाट क्षमताको दोर्दी ‘ए’ जलविद्युत् आयोजना आगामी असोजमा सम्पन्न गर्ने तयारी गरिएको छ । आयोजनाको शुक्रबार मात्रै मुख्य सुरुङ निर्माण सम्पन्न भएको थियो । त्यस्तै कम्पनीले प्रर्वद्धन गरेको बागलुङमा आयोजनास्थल रहेको बडीगाड खोलामा २१ मेगावाट जलविद्युत् आयोजना निर्माण शुरू गर्ने तयारी गरेको हो। यसैगरी सानिमा माई हाइड्रोपावर लिमिटेडको पनि साधारणसभा सम्पन्न भएको छ। कम्पनीले १ सय १५ मेगावाट क्षमताका तीन जलविद्युत् आयोजना निर्माण गर्ने घोषणा गरेको छ । त्यसका लागि १ अर्ब ८ करोड रकम लगानी गर्ने प्रस्ताव पारित गरेको छ ।

यस्तै चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनीको रूपमा रहेको मध्यभोटेकोशी जलविद्युत् कम्पनीले २ अर्ब ९४ करोड रुपियाँ बराबरको साधारण शेयर जारी गर्ने तयारी गरेको छ। कम्पनीले पनि आगामी दुई महिनाभित्र सीमित साधारण शेयर जारी गर्ने तयारी गरेको हो।
यस्तै इलाममा रहेको अपरमाई जलविद्युत् आयोजनाले ११ लाख कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ। युनिभर्सल पावर कम्पनीले पनि साधारण शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले ९६ करोड ६१ लाख रुपियाँ बराबरको ९६ लाख ६१ हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो। साधारण सभाका लागि कम्पनीले पुस २७ गते बिहीबारदेखि शेयरधनी किताब बन्द गरेको छ।

यसैबीच आज मंगलबारदेखि दुई महत्वपूर्ण कम्पनीको म्युचुअल फन्डको बिक्री शुरू हुँदै छ। पुँजी बजारमा अवसर तथा लगानीका स्रोतको खुल्दै गरेको सन्दर्भमा ती कम्पनीको २ अर्ब रुपियाँ बराबरको म्युचुअल फन्डको बिक्री शुरू हुने लागेको हो।

अहिले नेपाल स्टक एक्सचेन्जमा कूल ११ कम्पनीका त्यस्ता फन्डको कारोबार भइरहेको छ। पछिल्लोपटक सिटिजन्स बैंकको सहायक कम्पनी सीबीआइएल क्यापिटल र एनआईसी एसिया क्यापिटलले १⁄१ अर्ब रुपियाँ बराबरका फन्ड बिक्री गर्न लागेका हुन्। सीबीआइएल क्यापिटलले १ अर्ब रुपियाँ बराबरको सामूहिक लगानी कोषको इकाई बिक्री गर्ने लोको हो भने एनआईसी एसिया क्यापिटलले व्यवस्थापन गरेको एनआईसी एसिया ग्रोथ फन्डको बिक्री गर्न लागेको हो।

सीबीआईएल क्यापिटलले १० रुपियाँ प्रतिइकाईका दरले १० करोड इकाई म्युचुअल फन्ड बिक्री गर्न लागेको हो। जसमध्ये १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेसनल र बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्कासन खुल्ला गरेको हो।

एनआईसी एसिया क्यापिटल म्युचुअल फन्डको १ अर्ब रुपियाँमध्ये १५ प्रतिशत कोष प्रवद्र्धक एनआईसी एसिया बैंकलाई सुरक्षित गरेको छ। बाँकी रहेको ८ करोड ५० लाख इकाई विभिन्न संघसंस्था तथा व्यक्तिका लागि बिक्री गरिने भएको हो।

प्रतिक्रिया दिनुहोस्