संस्कार संक्रमण



भरत पौडेल

एकाबिहान डाँडाघरे काका चिच्याएर सुत्न पनि दिएको होइन। छोरीलाई कचकच गरी कराएर हैरान। अबचाहिँ बूढालाई हल्का थेरापी नगरी भएन भनेर उतैतिर लागेँ। हैन, सुझो न बुझो के छोरीलाई थर्काइरहेको नि ? (मेरो कसैलाई केही भन्दा लेग्रो तानीतानी भूमिका बाँध्ने चलन छैन। निद्रा बिच्केकाले हल्का रिस पनि उठिराखेको थियो।

बूढाको पारोले थर्मामिटर नाघ्यो। झन्डै सिध्याइहाले मलाई !यस्तो गाली गरे कि कुरा गरी साध्य छैन। मेरो पनि पारो उम्लियो। अब रिसाऊँ भने बूढाले कुट्ने नै भए। त्यसैले तातिएको फलाम पानीमा झ्वाइँय पारेझैँ रिस थामेर बसेँ।

बूढा गनगनाउन थाले– ‘पछि थाहा पाइहाल्छस् नि ⁄ सुझो हो कि बुझो हो, एकचोटि छोरीको बाउ बनेर त हेर्। म पनि हेरौँला त्यति बेला।’ ‘केको पछि होउ काका, मलाई अहिले नै सबै कुरा थाहा छ। ल तपाईं आफैं भन्नुस त ⁄ छोरीका पछि केटाहरु लागे त छोरीको के दोष ? फेरि छोरीको बाबुलाई त केटाहरु पछि लागिदिएनन् भने पो चिन्ता हुनुपर्ने। केटाहरु पछि लाग्दा खुशी हुने गर्नुहोस् खुशी, बुझ्नुभो ⁄ आफ्नो छोरीमा केटा पछि लाउने गुण छ भनेर गर्व गर्नुहोस्। आफ्नी छोरी कसैले नहेरिदिँदा पीरमा परेका बाबुहरुलाई हेर्नुहोस्। बुझ्नुभो ?’ मैले पनि रिसकै झोकमा आँखा चिम्लेर दिएँ बूढालाई दनक। अलि शान्त भएर बूढालाई हेरेको त हल्का मुस्काउँदै रहेछन्।

‘नकरा ⁄ तँसँग कुरा गरेर कसले सक्छ कुरौटे ? बरु अलि बिस्तारै बोल्। भित्र छोरीले सुन्ली। चुरोट खान्छस् ?’ चुरोटको बट्टा मतिर तेस्र्याउँदै बूढा बोले। बूढाले कुरा बुझेकोमा म पनि दंग परेँ।अहिले डाँडाघरे काका मलाई देख्यो कि भोको बाघले हरिण हेरेजस्तो हेर्छन्। मेरै कुराले गर्दा काकाले छोरीलाई स्वतन्त्रता दिए। उनको बिहे पनि भयो। तर उनी आफ्नो पतिसँग मात्र सन्तुष्ट रहन सकिनन्। हुँदाहुँदा बानी बिग्रियो। ‘दुनियाँ थरी टिभी सिरियल, सामाजिक सञ्जालहरुको कमी थियो र तँपनि थपिइस् ?’ काकाले जहिल्यै डाँट्छन् मलाई।

उनले छोरी जन्माइन्। पतिको सात पुस्तासम्म खोजी गर्दा कसैको अनुहारसँग मेल खाँदैन। छोरो जन्माइन्, त्यो पनि उस्तै। नाना थरी कुरा हुने गर्छ गाउँघरमा। उनको चरित्रलाई लिएर। कोही देख्नेहरु निस्कन्छन्। कोही सुन्नेहरु निस्कन्छन्। छोरो को जस्तो ? छोरी को जस्ती ? काकाको कानमा जब यस्तो कुरा पर्छ, सीधै मपट्टि धारेहात लाएर सराप्न थाल्छन्।

वर्षभरि पुस महिना मात्र पारे पनि घाम तातो नै हुन्छ। वर्षैभरि भदौको घाम लागे पनि पानी चिसो नै हुन्छ। बाँझै राख्छु भने पनि माटोमा झारपात उम्रिन्छन्। जति प्रयास गरे पनि हावा रोक्न सकिँदैन। डाँडाघरे काकालाई कसरी बुझाउनु खै। सम्झाएर हुन्थ्यो भने उनलाई मैले पनि नसम्झाको हैन। ‘गाउँभरि हल्ला छ, आफूलाई सम्हाल साइँली’ भनेको त मलाई ठाडै खाई– ‘मेरो पतिलाई कुनै आपत्ति छैन तपाईं को हो मलाई सम्झाउने ? मेरो जिन्दगी हो, म जसरी बाँचौं मेरो खुशी।’

‘छोरीको बाउले चिन्ता गर्ने जमाना गएछ काका। अब धारेहात लाएर मलाई सराप्न छोड। काकालाई संस्कारको चिन्ता। मलाई संस्कार संक्रमणको मार। तल्लो पुस्ताले संस्कार त्यागे काका। पानीमा रंग मिसिइसक्यो।’ मुख खोलेर भन्न त सक्दिनँ काकासँग तर मनमनमा यस्तै सोचिरहन्छु।

प्रतिक्रिया दिनुहोस्