सेनाले एक्सप्रेस हाइवे निर्माण शुरू गर्दै



गोकुल घोरसाइने, बारा

नेपाली सेनाले मध्य तराईबाट राजधानी जोडने छोटो दूरीको काठमाडौं– निजगढ एक्सप्रेस हाइवे (फास्टट्याक) को निर्माण कार्य शुरू गर्ने तयारी थालेको छ। आयोजना निर्माणको जिम्मा पाएको नेपाली सेनाले ट्याकमा परेका वनका रुख कटान पूरा गरेपछि सडक निर्माण थाल्ने भएको हो।

पहिलो चरणअन्तर्गत निजगढको तामागढीस्थित पूर्व–पश्चिम राजमार्गबाट मकवानपुरको चुरे फेदसम्मको करिब साढे आठ किलोमिटर क्षेत्रमा कन्ट्रक्सन कार्य शुरू गर्न लागिएको नेपाली सेनाका सहायक रथी भरतबहादुर खडकाले जानकारी दिनुभयो। उहाँले केही दिनभित्र रुख कटानको काम पूरा हुने र लगत्तै निर्माण कार्य पनि शुरू हुने बताउनुभयो। निर्माण शुरू गर्ने तयारीमा रहेको सेनाले यतिबेला काठ दाउरा घाटगद्दि र ट्याकको माटो सम्याउने कार्य तीव्र पारेको छ।

मार्गधिकारभित्र परेका रुख नहटाएसम्म निर्माण काम अघि बढाउन नसिकिने भएपछि सेनाले रुख कटानको कामलाई प्राथमिकताका साथ अघि बढाएको थियो। मंसिर महिनाको २७ गतेबाट रुख कटान शुरू गरेको सेनाले यस क्षेत्रमा पर्ने ३ सामुदायिक र राष्ट्रिय वन क्षेत्रबाट ४ हजार रुख कटान गरिसकेको छ। सडक निर्माणको लागि १ मिटर चौडाईको भोगाधिकार पाएको सेनाले केन्द्र विन्दूबाट दायाँ बायाँ २५⁄२५ गरी ५० मिटर क्षेत्रमा परेका रुख काटेको छ। निजगढ क्षेत्रको रुख कटान कार्यमा सेनाले १ सय ५० जनाको टोली खटाएको छ।

कटानबाट निस्केको काठ दाउरा स्थानीय उपभोक्ता समूहको जिम्मा छाडिएको निजगढ–८ स्थित बकैया नागमणि सामुदायिक वन समूहका अध्यक्ष एवम् फास्टट्याक र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिका संयोजक रवि दंगालले बताउनुभयो। नेपाली सेनाले जिम्मा लिएर निर्माणको तयारी शुरू गरेपछि तोकिएको समयमा नै आयोजना पूरा हुने विश्वास स्थानीयमा बढेको पनि उहाँले बताउनुभयो ।

सडक निर्माणमा आवश्यक उपकरण र सामग्रीको प्रबन्ध भइसकेको सेनाले जानाएको छ। निर्माणमा प्रयोग हुने ४५ टिपर, २ लोडर, १ डोजर, ३ एक्साभेटर र पानी ट्याङ्कर विकास निर्माण महानिर्देशनालयको निजगढ पोष्टमा आइपुगेको सहायक रथी खड्काले जानकारी दिनुभयो। १० स्थानमा पोष्ट खडा गरेर काम शुरू गर्ने बताएको सेनाले पहिलो चरणमा निजगढ क्षेत्रबाट काम शुरू गर्न लागेको हो।

सेनाले ललितपुरको खोकना र मकवानपुरको बुधने क्षेत्रमा पनि निर्माण कार्य सञ्चालन गरिरहेको छ। सरकारले दुई वर्षभित्र निर्माण पूरा गर्ने गरी चालू आर्थिक वर्षको बजेटमार्फत् आयोजनाको लागि १० अर्ब बजेट विनियोजन गरेको छ। ७६ दशमलव २ किलोमिटर लम्बाईको सो मार्गको बाराको निजगढस्थित पूर्व–पश्चिम राजमार्गबाट उत्तरतर्फ मकवानपुर, ललितपुर जिल्ला र काठमामाडौंको प्रस्तावित बाहिरी चक्रपथमा जोडिने छ। सडक निर्माणपछि निजगढबाट काठमाडौं डेढ घण्टामा आवतजावत गर्न गर्न सकिने र सवारी साधानमा प्रयोग हुने इन्धन, पार्टपूर्जा र समयको समेत बचत भई राष्ट्रको अर्थतन्त्रमा समेत महŒवपूर्ण टेवा पुग्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्