चमेलियाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणलाइनमा पठाइँदै



नेपाल समाचारपत्र
काठमाडौं
चमेलिया जलविद्युत् आयोजनाले शुक्रबारबाट आयोजनाको पहिलो युनिटमार्फत विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारणलाइनमा पठाउने तयारी गरेको छ।

१ सय ३२ केभी प्रसारणलाइनमा अत्तरिया सबस्टेसनबाट पठाइएको विद्युत्लाई ‘युनिट १’ बाट उत्पादित विद्युत्सँग जोड्न लागिएको चमेलिया जलविद्युत् आयोजना प्रमुख अजयकुमार दाहालले बताउनुभयो। दाहालका अनुसार परीक्षणका लागि शुक्रबारबाट पहिलो युनिटमार्फत् राष्ट्रिय प्रसारणलाइनमा विद्युत् पठाइनेछ। ‘१२ जनवरीबाट हामीले युनिट–१ मार्फतको विद्युत प्रसारणलाइनमा बहने विद्युतसँग ‘सिन्क्रोनाइज’ गर्ने तयारी गरेका छौं।’ दाहालले नेपाल समाचारपत्रसँग भन्नुभयो।

३० मेगावाट उत्पादन क्षमता रहेको आयोजनामा ‘युनिट–२’ को भने हाल वेट टेस्टको काम भइरहेको छ। युनिट–२ को वेट टेस्ट र प्रसारणलाइनको ‘लोड रिडक्सन टेस्ट’ को काम सकिएपछि आयोजनाले व्यापारिक उत्पादन शुरू गर्ने लक्ष्य लिएको छ।

यसअघि पुस महिनाभित्रै विद्युत् उत्पादन शुरू गरी राष्ट्रिय प्रसारणलाइनमा जोड्ने लक्ष्य रहे पनि बाँधमा समस्या देखिएपछि उत्पादन मिति एक महिना पर धकेलिएको हो। चमेलिया जलविद्युत् आयोजना चालू आर्थिक वर्षमा सरकारी क्षेत्रबाट निर्माण सम्पन्न हुन लागेको सबैभन्दा ठूलो आयोजना हो। आर्थिक विकास साझेदारी कोष (इडीसीएफ) मार्फत् नेपाल सरकार र दक्षिण कोरिया सरकारको संयुक्त लगानी रहेको आयोजना २०६३ साल पुसमा निर्माण कार्य थालिएको थियो।
आयोजनासँथै निर्माण भएको बलांच–अत्तरिया १ सय ३२ केभी प्रसारणलाइन भने निर्माण सम्पन्न भइसकेको छ भने विद्युत् प्रवाहका लागि परीक्षण भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्