उत्तरगयाबाट बिजुली ननिकाल्न आग्रह



नुवाकोट, (नेस)
उत्तरगया धामका रूपमा परिचित नुवाकोट र रसुवाको संगमस्थलको रुपमा परिचित बेत्रावती तटमा रहेको त्रिशूली नदीको पानी सुकाई विद्युत् उत्पादनका लागि स्वीकृति नदिन स्थानीयबासीले सरकारसँग माग गरेका छन्।

जनसंख्या तथा वातावरण मन्त्रालयले आयोजना गरेको ‘वातावरणीय असर र न्यूनीकरणका लागि उपाय’ विषयक अन्तत्र्रिmया कार्यक्रममा स्थानीयबासीले उक्त माग गरेका हुन्। सबै शास्त्रले प्रमाणित गरेको उत्तरगया धामको गंगाजल अन्यत्र लगेर विद्युत् उत्पादन गर्ने प्रस्तावको वातावरणीय प्रभाव (ईआईए) स्वीकृत नगर्न वातावरणविद्समक्ष दुवै जिल्लाका स्थानीयहबासीले माग गरेको रसुवाको कालिका गाउँपालिकाकी अध्यक्ष सीता अधिकारीले बताउनुभयो।

स्थानीय जनताको सहमति बेगर मध्यत्रिशूली गंगाको नामबाट गोसाईकुण्डबाट प्रवाह पानी नुवाकोटको भू–भागमा लगेर १९ दशमलव ४१ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न प्रस्ताव अगाडि बढेपछि रसुवा र नुवाकोटका दुवै स्थानीयबासीले विरोध गरेका हुन्।

किम्बदन्तीअनुसार भगवान शंकरले बेदको लठ्ठी गाडेर जलसमेत उत्पन्न गराएको स्थल र हरेक पर्वमा हजारौं हजार मानिस स्नान र पितृतर्पण गर्न आउने धामको जल एक इन्च पनि घटाउन नपाइने बेत्राबतीका स्थानीयबासी तथा शिक्षक लेखनाथ प्याकुरेलले बताउनुभयो।

लामोसमयदेखि हामीले यही स्थानमा आएर दाहासंकार गर्दै आएका छौं यहाँ जलविद्युत् उत्पादन भएमा हाम्रो दाहासंस्कार गर्ने ठाउँमा पानीको नै अभाव देखिन्छ अर्काे स्थानीय रमेश थापाले भन्नुभयो।

नुवाकोट र रसुवाको आधार इलाका मानिने उत्तरगया धाममा देशभरबाट मानिस पितृतर्पण गर्न आउने गर्दछन्।

प्रतिक्रिया दिनुहोस्