आर्थिक समृद्धिमा प्रदेश नम्बर ३ अगाडि



रामकृष्ण चापागार्इं, काठमाडौं

१३ वटा जिल्ला समावेश भएको प्रदेश नम्बर ३ को राजधानी कहाँ रहने भन्ने बारेमा निर्णय नभए पनि यही प्रदेशमा केन्द्रीय राजधानी रहने भएको छ। सबैभन्दा बढी ५५ लाख ३० हजार जनसंख्या रहेको यो प्रदेशमा कृषि, उद्योग, कलकारखाना, जलविद्युत् उत्पादन, पर्यटन विकास, स्वास्थ्य क्षेत्रको विकास, वन–जंगल तथा जडीबुटीलगायतका अथाह सम्भावनासमेत रहेको छ।

काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकानपुर, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली जिल्ला रहेको प्रदेश नम्बर ३ मा पर्साको ठोरी गाउँपालिका पनि समायोजन गर्ने निर्णय भएको छ।

कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी करिब ३२ प्रतिशत योगदान दिएको प्रदेश नम्बर ३ को सम्भावनालाई ख्याल गर्दै व्यवस्थित र समृद्ध बनाउनु अहिले चुनिएका जनप्रतिनिधिहरूलाई चुनौती थपिएको छ।
पर्साको ठोरीलाई गाभ्दा भारत र चीनको सीमासम्म फैलिएको प्रदेश नम्बर ३ मा जलविद्युत्को क्षमता १२ हजार ६ सय ३१ मेगावाट रहेको एक अध्ययनले देखाएको छ। यो प्रदेशमा पर्ने सिन्धुपाल्चोक, रामेछाप, दोलखा, रसुवा, नुवाकोट, धादिङ, काभ्रेलगायतका जिल्ला जलविद्युत् उत्पादनका लागि उपयुक्त स्थान हुन्।

यो प्रदेशमा जलविद्युत् जलाशययुक्त आयोजनाबाट ६ हजार ५ सय २८ मेगावाट विद्युत् उत्पादन हुने बताइएको। नेपालमा हाल करिब १ हजार ५ सय मेगावाट विद्युत् आवश्यक छ, जसमध्य करिब ९ सय ५० मेगावाट विद्युत् मात्र उत्पादन भइरहेको छ।

जलविद्युत्मा मात्र हैन कृषि र पशु क्षेत्रको उत्पादनमा पनि प्रदेश नम्बर ३ अथाह सम्भावना भएको क्षेत्रमा पर्छ। एक तथांकअनुसार यो प्रदेशले कृषिमा २६ प्रतिशत र पशुमा २० प्रतिशतको योगदान पुर्याइरहेको छ। नया संरचनाअनुसार बन्ने सरकारले अझ व्यवस्थित तरिकाले यो प्रदेशमा कृषि र पशु क्षेत्रको विकासमा लाग्ने हो भने अहिलेको अवस्थालाई अझै सुधार गर्न सकिने विज्ञहरूले बताएका छन्।

उद्योगको कुरा गर्ने हो भने उद्योग विभागमा दर्ता भएका उद्योगमध्ये आधाभन्दा बढी प्रदेश नम्बर ३ मै रहेको छ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा समेत यो प्रदेश अगाडि रहेको छ। यही प्रदेशमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय जस्ता ठूल्ठूला विश्वविद्यालय मात्र हैन सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित गुणस्तरीय स्कुल तथा कलेजहरू पनि उल्लेख्य मात्रामा रहेका छन्।

ठूला सरकारी अस्पतालहरू वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, मानसिक रोग अस्पताल, केन्द्रीय प्रयोगशाला, क्षयरोग केन्द्रलगायत निजी तवरबाट खुलेका सुविधासम्पन्न र गुणस्तरीय अस्पताल पनि यही प्रदेशमा बढी छन्। उच्च पहाडीदेखि तराईका जिल्लासमेत रहेको यो प्रदेशमा वन–जंगल र जडीबुटी क्षेत्रको पनि प्रचुर सम्भावना रहेको छ।

पर्यटकीय क्षेत्रको हिसाबले पनि धेरै सम्भावना बोकेको प्रदेश नम्बर ३ को चीनको मुख्य नाकासमेत पर्दछ। रसुवा र सिन्धुपाल्चोकबाट छिमेकी मुलुक चीन प्रवेश गर्ने नाका खोलेसँगै चीनसँगको आयात–निर्यातका लागि यही प्रदेश केन्द्र बन्नेछ।

३ नम्बर प्रदेशको समग्र विकासका लागि जलविद्युत्, कृषि उत्पादन, पशु उत्पादन, वन–जंगलको संरक्षण, व्यापारिक केन्द्रको स्थापना, प्राकृतिक स्रोत साधनको न्यायोचित वितरणलगायतका विषयहरूमा नयाँ बन्ने प्रादेशिक तथा केन्द्रीय सरकारले व्यवस्थितरूपमा अघि बढाएमा प्रदेश नम्बर ३ आर्थिक समृद्धिका लागि सबैभन्दा अग्रस्थानमा रहने प्रदेशको रूपमा स्थापित हुनेछ। साथै व्यवस्थित उद्योग, कलकारखाना स्थापना तथा ठूला जलविद्युत् आयोजना निर्माण र पर्यटकीय क्षेत्रको विकासले प्रशस्त रोजगारीसमेत सिर्जना हुनेछ।

केन्द्रीय सरकारसमेत रहने यो प्रदेशमा प्रत्यक्ष र समानुपातिकतर्फ गरी १ सय १० जना प्रदेश सदस्य चुनिएका छन्। यो प्रदेशमा प्रादेशिक सरकार निर्माणका लागि नेकपा एमाले एक्लैको बहुमत छ। प्रदेश सदस्यको कुल संख्याको २० प्रतिशतसम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाअनुसार यो प्रदेशमा मात्र झण्डै दुई दर्जन मन्त्री हुने सम्भावना छ।

निर्वाचित जनप्रतिनिधिहरू केवल सांसदमात्र हुने र मन्त्री बन्न हानथाप गर्ने तथा तलबभत्ता खानेमात्र नभई विकास र आर्थिक समृद्धिका लागि साच्चिकै जनमुखी भएर काम गर्ने हो भने अथाह सम्भावना बोकेको प्रदेश नम्बर ३ साच्चिकै समृद्ध बन्न सक्छ।

प्रतिक्रिया दिनुहोस्