साहित्यको “दायित्व” बोक्दै रामप्रसाद पन्त



मोहन दुवाल
नेपाली साहित्यिक क्षेत्रमा गच्छेअनुसारको स्फूर्ति बोकेर आफ्नो दायित्व निभाइरहेका रामप्रसाद पन्तका सिर्जनाका अक्षरहरु र डोबहरु झन्–झन् तेजिला र स्फूर्तिदायक बन्दै छन्। साहित्यिक सिर्जना र साहित्यिक पत्रिकाको सम्पादन गरेर आफूलाई सक्रिय देखाइरहेका साहित्यिक यात्री रामप्रसाद पन्तका यात्राहरु मनोरम देखिन्छन्।

दायित्व वाङ्मय प्रतिष्ठानमार्फत साहित्यिक दायित्व निभाएर आफूलाई समर्पित तुल्याइरहेका यिनी कविता, कथा, उपन्यास, नियात्राका सङ्ग्रहहरू प्रकाशित गराएर सक्रिय साहित्यकारका रूपमा आफूलाई चिनाउन पनि सफल छन्। साहित्यिक संस्था चलाउनु, साहित्यिक पत्रिका प्रकाशन गर्नु, साहित्य लेख्नु भनेको गरिमामय र महत्वपूर्ण कार्य हुँदाहुँदै यो ज्यादै जोखिम र सङ्घर्षपूर्ण बौद्धिक कार्य पनि हो। यस खालका बौद्धिक कार्यहरू गरेर थाक्न नजानेका साहित्यकार पन्तको जन्म वि.सं. २०१० पुस २३ गते लुम्बिनी अञ्चलको गुल्मी जिल्लाको टक्सार दार्सिङ्वासमा भएको हो। शिक्षामा स्नातकोत्तरसम्म उत्तीर्ण गरिसकेका यिनले जागिरको सिलसिलामा विश्वका थुप्रै राष्ट्रहरू घुमिसकेका छन् र त्यहाँको अनुभव नियात्रामा समेटिएका छन्।

दायित्वमार्फत यिनले पुर्याइरहेको साहित्यिक सिर्जना र क्रियाकलापहरू उदाहरणीय र सम्झनलायकका छन्। रामप्रसाद पन्तले आफूलाई साहित्यिक यात्रीका रूपमा मात्र चिनाएनन्, यिनले आफूलाई सफल स्रष्टाका रूपमा चिनाउन पनि सफल छन्। साहित्यिक हैसियत बनाउनु भनेको धेरै गाह्रो विषय हो, यही गाह्रो विषयमा यिनले आफ्नो हैसियत बनाइसकेका छन्। विभिन्न पत्रपत्रिकामा विविध साहित्यिक विधामा कलम चलाउँदै आइरहेका यिनी आफ्नो सिर्जनाहरूलाई पुस्तकाकारका रूपमा सम्प्रेषण गर्न पनि सिपालु छन्। काठमाडौंमा बसेर साहित्यमा आफ्नो परिवेश बनाइसकेका यिनले आफूलेजस्तो आफ्ना मित्रहरूलाई पनि साहित्यिक दायित्व बोकाउन तल्लीन छन्।

दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष। दायित्व साहित्यिक पत्रिकाका प्रधानसम्पादक। एकजना स्रष्टा, एकजना द्रष्टा हुन् रामप्रसाद पन्त। एकजना सफल कथाकार। एकजना नियात्राकार। एकजना निबन्धकार। एकजना उपन्यासकार। विविध साहित्यिक विधामा आफूलाई विभाजित राखी साहित्यकारका रूपमा चिनाउन सफल रामप्रसाद पन्तका लेख–रचनाहरू रोचक र पठनीय मात्र छैनन्, यिनका लेख–रचनाहरू समाजोपयोगी छन्। उनका प्रकाशित कृतिहरूमा उपन्यास, काव्य, स्मृतिग्रन्थ, नियात्रा, कथा, लघुकथा आदि विधा पर्दछन्। उपन्यासतर्फ विरानो बस्तीमा (२०४४), तीन आमाका छोरा (२०५७) अनि खण्डकाव्य÷काव्यतर्फ वेदनाका लहरहरू (२०४७), रामप्रसाद पन्तका कविता (२०७०) प्रकाशित छन्। त्यस्तै स्मृतिग्रन्थमा रामचन्द्र शर्मा (२०५९) प्रकाशित भएको छ भने नियात्रातर्फ जापान भ्रमणका केही सम्झनाहरू (२०५८), यात्रा र अनुभूति (२०६०), पेट्रोनास टावरको सेरोफेरो (२०६३), बाह्रसूर्य ः सोह्रफन्को (२०६४), पर्यन्त देश (२०६६), स्मृति गङ्गाको तिरैतिर (२०६८), आस्थाको सरोवर (२०७०), पारामाटा किनारबाट (२०७१), अविरल यात्रा (२०७२), साहित्यिक यात्रा (२०७३) जस्ता कृतिहरु प्रकाशित भएका छन्। यसै गरी उनका कथामा रुक्मी दिदी (२०६१), सन्झ्याल (२०६२), पुष्पमञ्जरी (२०६९) र दाउ (लघुकथा २०७२) प्रकाशित भएका छन्।
विविध विधाका यी पुस्तकहरूबाट प्रमाणित हुन्छ कि रामप्रसाद पन्त सिर्जनाका हरफहरूमा कमजोर छैनन्। उनी सक्रिय सिर्जनाकर्मी हुन्। साहित्यलाई समाजका लागि बलियो शस्त्रका रूपमा प्रयोग गर्न रूचाउने पन्तले साहित्य जीवन र जगत्को सौन्दर्यपूर्ण अभिव्यक्तिका रूपमा स्वीकार्छन। असल मानिस बन्ने उनको इच्छा र आकाङ्क्षामा उनी बाँचेर मातृभूमिका लागि केही दिन सके मात्र पूर्ण सम्झिन्छन्। केही गर्न नसके जीवन अपूर्ण होला कि भन्ने डर बोकेर साहित्यिक पथमा लागिरहेका यिनी सरल जीवन बाँचेर उच्च मानवीय कार्य गर्न रुचाउँछन्।

स्व. गुणाकर र स्व. हरिकलाका छोरा भई जन्मेका रामप्रसाद पन्तले छोरा दुई र छोरी एकलाई जीवनवृत्तमा हुर्काएर लक्ष्मी पन्तसँग जीवन साटासाट गरेर चावहिल, काठमाडौंमा बसोबास गर्छन्। विभिन्न साहित्यकारहरूको कृति पढेर साहित्यकार बनेका यिनी समाज परिवर्तनका लागि साहित्य आवश्यक छ भन्छन्। यस खालको अनुभूतिले नै यिनी साहित्यमा मन दिएर बाँच्न जानेका हुन् र साहित्यिक माहौलमा आफूलाई समर्पित गर्न र गराउन सिकेका हुन्। आफ्नो मान्छे कस्तो हुनुपर्छ पहिलोचोटि कथा लेखेर साहित्यमा देखा परेका यिनी दायित्व साहित्यिक पत्रिकामार्फत साहित्य सम्प्रेषण गर्न पाउँदा खुशी व्यक्त गर्दछन्।
थोरै–थोरै मात्र गरेजस्तो देखाएर सधैँ केही गरिरहने, केही लेखिरहने, केही छापिरहने नम्र मिजास र स्वभावका पन्तका साहित्यिक गतिविधिहरू रोचक र प्रभावकारी छन्। केही गरिरहँदा, केही लेखिरहँदा, केही छापिरहँदा नै पछि एउटा सुन्दर रूप बन्ने हो। त्यही साहित्यिक रूप हुन् रामप्रसाद पन्त। निरन्तर केही गरिरहेकै, निरन्तर केही लेखिरहेकै र केही छापिरहेकै कारणले काठमाडौंको साहित्यिक क्षितिजमा रामप्रसाद एउटा नाम बन्न सफल भइसकेका छन्। जागिरको क्रममा यिनी धेरै ठाउँमा घुमे। भारत, चीन, जापान, मलेसिया, सिङ्गापुर, थाइल्यान्ड, कङ्गो, युगान्डा, केन्या, अमेरिका, हङकङ आदि देश घुमेर आफ्नो यात्राका कथाहरू लेख्न सफल नियात्राकार रामप्रसाद पन्त देवकोटा, बीपी कोइराला, शङ्कर कोइराला, पारिजातबाट विशेष प्रभावित छन्। विदेशी साहित्यकारहरूमा प्रेमचन्द, मोपाँसा, चेखव बनार्ड शा, अर्निष्ट हेमिंग्वेबाट यिनी प्रभावित छन्।

नियात्रा लेखनमा एउटा नाम बनाइसकेका यिनी जापान र मलेसिया भ्रमण र अन्य ठाउँको भ्रमणमा बटुलेका रोचक संस्मरणहरू लेखेर आफूलाई चिनाउन सफल छन्। जापान भ्रमणका केही सम्झनाहरूमा र यात्रा र अनुभूतिलगायत पेट्रोनास टावरको सेरोफेरोमा यिनले आफ्नो यात्राका संस्मरणहरूमार्फत आफूलाई सफल नियात्राकारका रुपमा देखाउन सफल छन्। सार्थक ढङ्गले ठाउँको परिचय दिएर दृष्टि–विम्बमा मान्छेलाई राखेर नियाल्न सफल हुनाकै कारणले यिनीद्वारा लिखित नियात्राका हरफहरू कमजोर देखिँदैनन्। यात्राका प्रसङ्गहरूलाई यात्रा–निबन्धका रुपमा प्रस्तुत गर्न सिपालु भएकै कारणले यिनका नियात्राहरू पढिरहूँजस्तै लाग्छ। जापान, मलेसियालगायत धेरै ठाउँको यात्रा अनुभवहरू लेख्दालेख्दै यिनले आफ्नो देशभित्रका बेथितिहरूसँग विदेशसँग तुलना गरेर थुपै्र ठाउँमा आफ्नो देशको स्थिति वर्णन गर्दा चित्त दुखाएका छन्। सर्सती यात्राको वर्णन मात्र नभई अनुभूतिमार्फत विचार प्रसङ्ग र ठाउँको परिचय दिन सिपालु भएकै कारणले यिनका रचनाहरू स्वादिला छन्। बाह्रसूर्य ः सोह्र फन्को (२०६४) देश भ्रमणबारे लेखिएको रामप्रसाद पन्तका नियात्रामा अर्को डोब हो भन्न सकिन्छ।
कथासङ्ग्रहमा रुक्मी दिदी (२०६१) पछि यिनले सन्झ्याल (२०६२) प्रकाशित गराएका छन््। यथार्थवादलाई कथा, उपन्यासमा देखाउन रुचाउने यिनका कथाहरू समसामयिक विषयका हुनाका साथै प्रगतिशील कथा सिर्जना गर्ने कथाकारका रुपमा चर्चा गर्न सकिन्छ। त्यस्तै उपन्यासमा पनि यिनले विरानो बस्तीको मात्र चर्चा गरेनन् तीन आमाका छोरालाई आफ्नै ढङ्गले नियालेका छन्। थोरै मात्र कविता लेखे पनि खण्डकाव्य वेदनाका लहरहरूमार्फत काव्यानुभूति पोख्न भ्याएका यिनले रामचन्द्र शर्माको स्मृतिग्रन्थ लेखेर आफूलाई व्यक्तिवृत्त लेख्न सिपालु लेखकका रुपमा पनि उभ्याएका छन्।

थुप्रै गरेर पनि केही नगरेजस्तो गरी आफ्नो यात्रामा खुरुखुरु लाग्न सिपालु अनि दायित्व बोकेर हिँड्न जानेका साहित्यकार रामप्रसाद पन्त पछिल्लो पुस्ताका एकजना सफल साहित्यिक क्षेत्रका परिश्रमी योद्धा हुन्। साहित्यिक पत्रकारितामा पनि दायित्वका साहित्यिक हरफहरू बिसौं वर्षअगाडिदेखि आफूलाई सम्पादकका रूपमा देखाइरहेका यिनी राज्यले साहित्यिक पत्रकारिताका लागि केही सहयोग नभएकोमा दुखेसो पोख्नुका साथै आक्रोश व्यक्त गर्छन्। राष्ट्रको लागि अत्यन्त आवश्यक मानिएको साहित्यिक पत्रकारितामा मन दिनु भनेको आजको नेपालमा पनि सम्मानित जस्तो देखिएर अपमानित हुनु हो। तर पनि राष्ट्रमा यी अपमानित चेहराहरू बोकेर थुपै्र रामप्रसादहरू साहित्यिक पत्रकारितामा सेवारत छन्। रोचक घिमिरे रचनामा दुख्दै गरेका छन्, भानुसँगसँगै भवानी घिमिरेपछि शिवानी घिमिरे कष्टसाध्य यात्रा गर्दै छन्, अभिव्यक्ति पोखेर नगेन्द्रराज शर्मा कुद्दै छन्। थुप्रै–थुपै्रहरू यस यात्रामा राज्यले मूल्याङ्कन नगरे पनि हिँडिरहेका छन्। यस्तै यात्रामा कुदिरहेका छन् रामप्रसाद पन्त।

दायित्व र रामप्रसाद पन्त एक–अर्काका पूरक नामजस्तै बनेका छन्। दायित्व नबोके रामप्रसादको अर्थ कस्तो हुन्छ, त्यस्तै रामप्रसाद नभएको भए दायित्वको रुपरङ्ग कस्तो हुन्छ ? त्यो भन्न सक्ने विषय होइन। उनैका शब्दमा यी रोचक प्रसङ्गहरूलाई यहाँ प्रस्तुत गरिएको छ– दायित्व र रामप्रसाद पन्त अब एक–अर्काका पूरक भइसकेका छन्। रामप्रसाद नरहे दायित्व रहन्छ कि रहँदैन भन्न सकिँदैन। तर, दायित्व नरहे रामप्रसाद पन्त रहन्न। अर्थात् रामप्रसादको मृत्यु हुन्छ। तसर्थ रामप्रसादका लागि दायित्व प्राण भएर रहेको छ। जहाँसम्म लेखकको कुरा छ, त्यो भावना र संवेदनाको कुरा हो। जब अन्तरसंवेदनाले दबाब दिन थाल्छ, तब मैले नलेखी हुँदैन र लेख्छु। धेरै रोचक छन् घटना र कुराहरू। एकजना जागिरे जो निजामती सेवामा संलग्न रहेर पनि साहित्यको दायित्व बोकेर लेखक बन्ने दुस्साहस गरेर यात्रामा संलग्न भएका हुन्।

अर्थात् लेखक र सम्पादकको कठिन यात्रामा उनी सङ्घर्षरत छन्। सङ्कल्प गर्नु मात्र पर्छ, मान्छेका यात्राहरू खुल्दै जान्छन्। यही यात्रा त हुन्– रामप्रसादले गरेका दायित्वका यात्राहरू अर्थात् एकजना लेखकका यात्रा प्रसङ्गहरू।

साहित्यको बाटो सुन्दर लागेर यिनी यस यात्रामा लागेका हुन्। राष्ट्रवाणी २०६२ भदौ १ गते प्रकाशित अन्तर्वार्तामा यिनले ‘साहित्यमा नयाँ सोच आवश्यक छ’ मा उल्लेख गरेका वाणी–अंशहरू यहाँ उद्धृत गर्न चाहन्छु– राजनीति एउटा कुरा हो, साहित्य अर्को। साहित्य प्रगतिको सूचक हो, यसले राजनीतिलाई निर्देश गर्छ र अगाडि डोर्याउँछ। तर अहिले गलत संस्कारको थालनी भएको छ। साहित्यमाथि राजनीतिले अतिक्रमण गरेको छ। केही साहित्यकारहरू पनि विशुद्ध साहित्यिक वादलाई छाडेर नाराबाजी र पर्चाबाजीमा लागेका छन्। त्यसले क्षणिक प्रभाव पार्ला तर टिकाउ हुन सक्दैन। समग्रमा हेर्दा साहित्यको मार्ग उज्यालो छ।
उज्यालो मार्गमा लाग्न पाउँदा गौरव गर्न रुचाइरहेका, साहित्यमा दायित्व बोकेर लागिरहेका र निरन्तर लेखनमा आफूलाई लगाएर हिँडिरहेका एकजना स्रष्टा भएकै कारणले रामप्रसाद पन्त जनमतमा सम्प्रेषित भएका छन्। रामप्रसाद पन्तले लेखेजस्तै म पनि साथ दिएर उहाँका लागि यी हरफहरू सापट लिएर भनिरहेछु– साहित्यिक संस्था चलाउनु, साहित्यिक पत्रिका प्रकाशित गर्नु वा साहित्य लेख्नु भनेको अत्यन्त गरिमामय र महत्वपूर्ण कार्य हो। यस्तो विशुद्ध साहित्य सेवा गर्नेले छट्याइँ, फट्याइँ र धुत्र्याइँ गर्नुहुँदैन। तर यहाँ भइरहेछ, हुन खोजिरहेछ तर पनि हामीले दायित्वलाई नभुलौं।

एउटै यात्रामा हामी सँगसँगै कुदिरहेकाले ‘दायित्व’ र ‘जनमत’ को सम्बन्ध नङ र मासुकै रुपमा चलायमान छन्। दायित्वले मोहन दुवालको यात्रालाई प्रशंसा गरेर सम्मान गर्न भ्याएका छन्, यसै गरी जनमतले रामप्रसाद पन्त विशेष प्रकाशन गरेर यिनको सिर्जनात्मक यात्राको प्रशंसा गरी जनमत प्रकाशन गर्न पाएका छन्। साहित्यिक सिर्जना, साहित्यिक अभियान र साहित्यिक पत्रकारिताको प्रकाशन गर्ने कार्यमा हामी सँगसँगै जनमतलाई कदर गर्दै दायित्व बोकेर साहित्यिक यात्रा गर्न पाएका छौं। ‘जीवन र जगत्को सौन्दर्यपूर्ण अभिव्यक्ति’ साहित्य हो भनी परिभाषामा अथ्र्याएर साहित्यमा लागिरहेका यिनी असल मानिस बन्ने अभियानमा छन्। यस देशमा असल र इमानदार मान्छेहरु कष्टमा, दुःखमा बाँच्न जान्नुपर्छ। मलाई लाग्छ, रामप्रसाद पन्त कष्ट र दुःखसँग अवश्य हार मान्नेछैनन्। साहित्यको दायित्व बोक्दै हिँडिरहन सकून्, शुभकामना छ।

प्रतिक्रिया दिनुहोस्