तालु खुइले र केश, फुल्नेलाई मुटुमा खतरा !

0
Shares

नयाँदिल्ली,(एजेन्सी)
चालिस वर्ष उमेरमुनिका पुरुषहरूमा हुने मुटु रोगको खतरा तिनीहरूको अधिक शारीरिक वजनभन्दा तालु खुइलिनु र उमेर नपुग्दै केश फुल्नुसँग बढी सरोकार रहेको कुरा हालै गरिएको स्वास्थसम्बन्धी नयाँ अनुसन्धानले पत्ता लगाएको छ।

भारतमा दुई हजार जनाभन्दा बढी युवामा गरिएको अध्ययनबाट पूरा केश हुनेहरूलाई भन्दा तालु खुइले र समय नपुग्दै केश फुलेकाहरूलाई बढी मात्रामा कोरोनरी धमनी रोग लाग्ने गरेको पत्ता लागेको छ।

भारतस्थित मुटु रोग समाजको वार्षिक सम्मलेनमा युरोपेली मुटुरोग समाजको अध्ययन प्रतिवेदन सार्वजनिक गरिने भएको छ। तेर बेलायती हृदय प्रतिष्ठान (बीएचएफ)ले भने मुटु रोगका लागि अन्य कारणहरू प्रमुख हुने बताएको छ।

बीएचएफका सहायक चिकित्सा निर्देशक डा. मायक न्याप्टनले बीबीसीलाई भनेका छन्– ‘यस अध्ययनले केश झर्ने र फुल्ने पुरुषहरूको पहिचान गरी तिनीहरूलाई मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी रहने पत्ता लगाउन सकिन्छ। तर योबाहेक रक्तचाप र उच्च कोलेस्टेरालबाट पनि बच्नका लागि जीवनशैली परिवर्तन गर्नु जरुरी हुन्छ।’

केशको स्वरुपभन्दा जीवनशैली बढी महत्त्वपूर्ण हुन्छ। कोरोनरी धमनी रोग भएका ४० वर्षभन्दा कम उमेरका पुरुष र सोही उमेर समूहका स्वस्थ पुरुषहरूमाथि गरिएको यससम्बन्धी अनुसन्धानको प्रतिवेदन कोलकातामा आयोजना हुने मुटु समस्या अध्ययनबोरको ६९औं सम्मेलनमा प्रस्तुत गरिने भएको छ। तर अझैपनि मोटोपनालाई यसको तुलनामा मुटु रोग निम्त्याउने चार गुणा बढी खतराका रूपमा लिइने गरिएको छ।

स्वस्थ मुटुका लागि प्रशस्त मात्रामा फलफूल र सागपात खाने, धूम्रपान त्याग्ने , सक्रिय रहने, शारीरिक वजनलाई सनतुलित राख्ने, रेशादार खानाको अधिक सेवन गर्ने, संतृप्त चिल्लो कम खाने, नुनको मात्रा कटौति गर्ने, माछा खाने र कम रक्सी सेवन गर्ने तथा खाद्यान्न र पेय पदार्थको प्याकेजिङमा राम्ररी ध्यान दिने गर्नुपर्दछ।

अस्वथ जीवनशैली र प्रदूषण तथा मिसावटयुक्त खानाका कारण अचेल मुटुको समस्याबाट विश्वमा अकाल मृत्यु वरण गर्ने युवाहरूको संख्या बढिरहेकोमा संयुक्त राष्ट्र संघको विश्व स्वास्थ्य संगठन चिन्तित रहेको छ।